लकडाउनमा थुनिएको छु। थुनिएपछि थाहा हुँदोरहेछ स्वतन्त्रताको मूल्य।
साथीहरू सामाजिक सञ्जालमा लेख्छन्, ‘लकडाउनमा सुत्ने, उठ्ने र फेरि सुत्नेबाहेक काम भएन।’ तर, मेरो भने लकडाउनपछि व्यस्तता बढेको छ। किनकि म एउटा डिजिटल अखबारमा काम गर्छु।
क्यान्सरका कारण पटक–पटक शल्यक्रिया गरिएको आँखाले कम्प्युटरका स्क्रिन मन पराउँदैनन्, तर कहिलेकाहीं त दैनिक १६ घण्टा यसैसँग ठोक्किनुपर्छ। आँखाको पीडा उम्लिएर टाउको फुट्ला जस्तै हुन्छ। यसरी नै बाँचिरहनुलाई मेरो जीवनशैली भएको छ।
अन्तरविरोध यस्तो छ कि म निशाचर होइन तर पनि उज्यालोले बिझाउँछन् आँखाहरू।
साँझ छिप्पिंदै थियो। एक्लो कोठा। कामले थाकेको शरीर। सधैं झैं टाउकोदुखाइले सताइरहेको थियो। चकमन्न वातावरणले भावनाका गहिरा खाडल बनाइदिंदोरहेछ। खाडलमा खसेपछि कहिले विगत ब्युँझन्छ कहिले आगतले अत्याउँछ। यसलाई भन्न सकिन्छ पूरै एउटा सन्नाटाको रात।
****
‘आबूई, कति भयङ्कर प्रकाश ! मलाई उज्यालो मनपर्छ तर मेरो आँखाले यसलाई रुचाउँदैन’ म रंगमञ्चमा नेपथ्यबाट आउने आवाज जस्तै छुट्टै लयमा कराउन थालें ‘बन्द गर यो उज्यालो !’
साँच्चै, यसरी म कहिल्यै पनि मेरी जीवनसंगिनीसँग गफिन्न। यसरी म मेरा नेताहरूलाई गाली गर्दिनँ। हो, कहिलेकाहीं म आफैंले आफूलाई गाली गर्न यस्तै शैली पछ्याउँछु।
‘कमरेड ज्योति !’
कहिलेकाहीं मन नपर्ने कुराबाट मन पर्ने कुरा निस्कन्छ, प्रतिकूलताभित्र अनुकूलता खोज्ने द्वन्द्ववाद सिकेको भएर होला कुनै बेला।
‘कहाँबाट आइपुग्यौ ज्योति ? मलाई मन पर्ने ज्योति! अनि मलाई मनपराउने ज्योति !’
***
ज्योति पनि काठमाडौंमै राजनीति गर्दिरहिछिन्। म अस्कल पढुञ्जेल उनलाई कहिल्यै भेटिनँ। २०५७ सालतिर काठमाडौंमा राजनीतिमा बरालिने क्रममा पोस्टर टाँस्दा, मसाल बाल्दा, केके–केके गर्दा उनी कहिल्यै भेटिइनन्।
तर, संकटकाल सुरु हुनुभन्दा अगाडि हामीले उपत्यका छाड्नेबेला उनी मेरो बाटोको साथी बनिन्। २०५९ सालको अन्तिमतिर उनी जेलबाट रिहा भएकी रहिछिन्। जेलमा यातनाले जीर्ण बनेको शरीरको पीडालाई वाक मेनमा क्रान्तिकारी गीत सुनेर सहने प्रयास गर्थिन् उनी। आफू पनि गुन्गुनाउँथिन्। भन्थिन्, ‘संगीतमा शक्ति हुन्छ!’
उमेरमा मभन्दा ३/४ वर्ष जेठी थिइन्। म फुच्चे छापामार। सबैले माया गर्थे। उनले अझ बढी।
धादिङ र गोरखाको सिमाना मान्बु पुगेपछि ज्योतिले जुत्ता साटिन् मसँग। केटा कमरेडहरूले जिस्क्याए, ‘लेडिज् जुत्ता लगाउने!’
‘जुत्ताको पनि लिङ्ग हुन्छ र ?’ मेरो एउटै प्रश्नले धेरै कमरेडहरूको बोली बन्द भयो।
मैले उनलाई धेरैपटक ज्योति दिदी भनेर बोलाएको छु। ती कमरेडहरूको अगाडि म ‘दिदी’ मा बढी जोड दिन्थें।
केही दिन सँगै हिंडेपछि गोरखाको घ्याल्चोकबाट हामी छुट्टियौं। ज्योतिहरू सेनातिर गए। म भूगोलको राजनीतिमा। एकीकृत जनप्रतिरोध अभियानमा थिएँ म। चितवनबाट तनहुँ, स्याङ्जा हुँदै पर्वत पुगें। पर्वतमा उनको घर नजिकै पुग्दा दुइटा खबर एकसाथ आए, पहिलो खबर- म आइएस्सीमा उत्तीर्ण भएछु। भूमिगत भएकै बेला मैले लुकीछिपी परीक्षा दिएको थिएँ। दोस्रो खबर- ज्योतिको वीरगति भएछ। सुख र दुःख मिसिएर कक्टेल भयो।
कमरेडहरू भावनाका कुरा धेरै गर्नुहुँदैन भन्थे, तर अनायासै आँसु झरेछन्।
‘किन रोएको ?’ भनेर कसैले सोधेको भए म जवाफ दिन्थें- आइएस्सीमा उत्तीर्ण भएकोले।
कसैले सोधेनन्। मैले जवाफ दिनु पनि परेन। यसरी कमै रोएको छु आँसुमा पीडा र खुसीको अनुपात मिलाएर।
***
उज्यालोको किरणभित्र उनै ज्योति आएकी रहिछिन्।
‘शहीद ज्योति’ म जोडले चिच्याएँ।
‘अँ, भन कमरेड ! सञ्चै छौ ?’
अप्ठेरो प्रश्न। खासमा सञ्चो हुनु भनेको के हो ? कोरोनाको प्रकोप छ। शरीरमा भन्दा धेरै मनमा महामारी छ। अवस्था अत्यासलाग्दो छ।
‘हजुर, ठीकै छु’ ओठले रेडिमेड जवाफ दियो र मनले सोध्यो, ‘तपाईंलाई कस्तो छ शहीद कमरेड ?’
शहीदलाई सञ्चो बिसञ्चोको प्रश्न ? आफ्नो प्रश्न आफैंलाई चित्त बुझेन। उनलाई पनि सजिलो भएन पक्कै। एकछिन जवाफ आएन। जब जवाफ आयो, पुग्ने गरेर आयो।
ज्योति रुन थालिन्। आँसुले दिने जवाफ अप्ठ्यारो हुन्छ। मलाई रोएको मान्छेसँग बोल्न जति गाह्रो केही लाग्दैन। किनकि ओठबाट शब्दभन्दा छिटो आँखाबाट आँसु निस्कन्छ।
‘महिलाहरू शहीद भएपछि पनि रुन्छन्’, केही नसोची बोलेछु।
‘शहीदको पनि लिङ्ग हुन्छ र ?’ प्रतिप्रश्न आयो।
‘म यो प्रश्नको उत्तर कमरेड प्रचण्ड र ओलीलाई सोध्नेछु’ मैले घमण्डी लयमा जवाफ दिएँ, ‘शहीदहरूलाई विभाजन उहाँहरूले नै गरिरहनुभएको छ दस्तावेजहरूमा।’
‘ठूलो कुरा गर्छौ, तिम्ले उनीहरूलाई भेट्न पाउनु पर्यो नि !’, खिसीटिउरी मिसिएको जवाफ आयो।
‘म पत्रकार हुँ’, चर्कै स्वरमा भनें।
‘कुन पार्टीको ?’ प्रश्नले थला पार्यो ।
‘म कुनै पनि पार्टीको भ्रातृ संगठनमा छैन, विभागमा छैन’, गर्वका साथ भनें।
‘कुन हो पार्टीको केन्द्रीय समितिमा त छौ नि’, अहिले उनको स्वर चर्को भयो।
‘त्यो त नाम मात्रको हो। हुनु र नहुनुको अर्थ नभएको ठाउँमा म रहिनँ। तर, तिमीले यो कुरा कसरी थाहा पायौ ? तिमी भौतिकवादी शहीद होइनौ र ? कि शहीदहरूले सबै कुरा थाहा पाउँछन् ?’ एकपछि अर्को गरी मेरा प्रश्नहरू राहत थाप्न बसेका गरिबहरू जस्तै लाइनमा बसे।
ज्योतिको जवाफमा भने राहत दिनेहरूको जस्तो दम्भ थिएन, ‘हो, शहीदले सबै थाहा पाउँछन्। मलाई तिम्रो बारेमा सबै थाहा छ। शहीद भनेको कुनै छुट्टै अस्तित्व होइन। हरेक मानिसभित्र हुन्छ वीरता र बलिदानी भाव। तिमी आफैंसँग झूटो बोल्छौ भने तिमी आफैंसँग गिरेका हुन्छौ। तिमीभित्रको वीरता र बलिदानी भावले तिमीलाई कहिल्यै सम्मान गर्दैन। जब तिमी तिम्रै नजरमा गिर्छौ नि, त्यतिबेला तिमी बाँचेर मरिरहेका हुन्छौ। तिमी युद्ध हारेका सिपाहीको जस्तो जीवन बाँचिरहेका हुन्छौ।’
म खिन्न भएँ। चिसो पानी खन्याएजस्तो भयो शरीर। मलिन आवाजमा सोधें— ‘हो, सपना छैन, सन्नाटा छ मसँग। के म तिमीले व्याख्या गरेजस्तै जीवन बाँचिरहेको छु ?’
‘तिमी आफूलाई सोध, आफूले आफूलाई दिए जस्तो जवाफ अरु कसैले दिन सक्दैन’, उनले भनिन्।
‘तिमी हिजोजस्तै दार्शनिक लयमा बोल्छौ, शहीद भएपछि पनि पूरै पुस्तक पढेर बसेछौ कि ?’ टपरटुईंया प्रश्न गरें।
‘हो, तिमी जस्तो अल्छी छैन। मलाई थाहा छ, तिमीले विवाह गरेपछि एउटा पनि पुस्तक पूरा पढेका छैनौ !’
उसको जवाफले म आफैंसँग खिन्न भएँ। जीवन पढिरा’छु। पुस्तकभन्दा कम कहाँ छ र जीवन पढ्नु। यस्तै जवाफ दिने सोचिरहेको थिएँ। उनले नै भनिन्, ‘तिमी जस्तै तिम्रो पुस्ता नै पुस्तक नपढ्ने, नेताका पछाडि लाग्ने, झारेर खाउँला होइन, झर्ला र खाउँला भनेर कुरिरहेका छौ।’
‘हो ज्योति, मलाई पनि लाग्दैन चाकडी गरेर अधिकार पाइन्छ। मलाई मन नपरेको कुरामा कसैलाई पनि छाड्दिनँ। आलोचनात्मक चेतलाई सधैं प्रोत्साहन गर्दै आएको छु, तर यो हाम्रो दुर्लभ भेटमा केही उत्प्रेरणाको कुरा गर न। म यसअघि नै आलोचनाको पहाडले थिचिइसकेको छु।’ लगातारको आलोचना मलाई निको लागेन। म त्यही आम मानिस न हुँ जो सधैं प्रशंसाको भोको हुन्छ !
‘तर, कमरेड तिमीले प्रशंसा र आलोचना दुवैलाई स्वीकार्नुपर्छ जसरी एउटा बिरुवाले घाम र पानी दुवै स्वीकार्छ।’
मलाई थाहा छैन ज्योति ! शहीदले विश्वास जन्माउँछ कि विश्वासले शहीद जन्माउँछ। तिमीले जुन विश्वासका लागि बलिदानी दियौ, त्यसमाथि विश्वासघात भएको छ। बलिदान भनेको कुनै चिजको अन्त्य होइन, यो त एउटा सुरुवात हो। भन, तिमीहरूको बलिदानले के कुराको सुरुवात गर्यो?’ म आलोचना र अर्तिबाट उम्कन खोजें। दिन मनपर्ने, लिन मन नपर्ने कुरा कति धेरै लिनु ?
‘यो प्रश्न त मैले तिमीलाई सोध्नुपर्ने होइन र ? हाम्रो बलिदान के को सुरुवात हो ? जबकि यो हाम्रा नेताहरूको कुर्सी र पारिवारिक सुखमा पुगेर टुंगिएको छ !’
मलाई दिक्क लाग्यो। अलि झर्किएर भनें, ‘जाऊ यो प्रश्न नेताका सन्तान, आफन्त र हुक्के बैठकेहरूलाई सोध, क्रान्तिको प्राधिकार त उनीहरूले नै खल्तीमा हालेर बसिरहेका छन्।’
‘गाली उता नगर, आफूलाई गर। यो सब तिमी जस्ताको अक्षमताको प्रतिफल हो। आफू सक्दैनौ, अरुलाई गाली गर्छौ। तिमी आफ्नो अयोग्यताको लागि अरुलाई किन गाली गर्छौ ?’ उनी कड्किइन्।
‘हो ज्योति, हामी अगाडिका दोस्रो पुस्ता, हामी तेस्रो पुस्ता सब नाकाम भयौं। हाम्रो २१औं शताब्दीको जनवादले उठाएको पार्टी/नेतृत्व, सत्ता र सेनाको अवधारणामा धमिरा लागेको छ। मदनको जबजमाथि धुप, दीप र नैवेद्य चढाएर आरती भइरहेको छ …’ उनको रिसको पारो चढेको थियो। मलाई रोकिन्।
‘तिमीहरूको दोस्रो, तेस्रो पुस्ताको नालायकीपनदेखि मलाई घृणा छ। मलाई लाग्छ तिमीहरू उत्साह र चरित्र चाउरिएर ती बुढाहरूभन्दा कुप्रो परिसकेका छौ। सामान्यतः एउटा पुस्ताबाट दुइटा क्रान्ति हुँदैन। बुढा नेताहरू पार्टी र राज्य दुवै सत्ताको कुर्सी ओगटिरहेका छन्, उनीहरू त्यही कुर्सीमा बसेर मरेको मृत्यु सानदार हुन्छ भन्ने भ्रममा छन्। यी नेताहरूले आफ्नो समयका आफूभन्दा बुढा नेताहरूबाट कुर्सी खोसेर यहाँ आइपुगेका हुन्। तिमीहरू इतिहासको ब्याज खाएर बाँच्न अभिशप्त यी पात्रहरूका अगाडि आत्मसमर्पण गरिरहेका छौ। विवेक बन्धक राखेका आदेशपालक बनेका छौ। काम गर्न नसक्ने, जनताको रगत, आँसु र पसिना लुटेर परजीवीले जस्तो जिन्दगी बाँच्ने अनि ‘महान’, ‘युगपुरुष’, ‘आदर्शपुरुष’ बन्न खोज्ने उनीहरूको हुक्के, बैठके र नन्दीभृङ्गीको रूपमा परिचालित भइरहेका छौ।’
मलाई सहन गाह्रो भयो। शहीद नभएको भए म ज्योतिलाई कुटपिट नै गरिदिन्थें होला। सम्हालिएँ। भूपिलाई सम्झँदै भनें, ‘मरेर शहीद हुनेहरू हो, बाँचेर त हेर, बाँच्न कति गाह्रो छ ?’
‘कमरेड, तिमीहरूको पुस्ता आफू बाँचेको छु भनेर गर्व गरिरहेका छौ ? एउटा पार्टी सदस्यताको खोस्टोले तिमीहरूलाई ज्यूँदै मारेको छ। तिमीहरूको स्वाभिमान बन्धक बनाएको छ। खोइ पार्टीभित्रको लोकतन्त्र, खोइ राजनीतिक संस्कार, गुटको हित रक्षार्थ नाङ्गै मैदानमा उत्रन्छौ, नेताका लागि नन्दीभृंगीमा बदलिन्छौ, तर प्रिय पार्टीका लागि एक शब्द बोल्न सक्दैनौ, चाहँदैनौ।’
लखेटेपछि कि प्रतिकार गर्नुपर्यो, कि भाग्नुपर्यो। ‘हेर ज्योति, राजनीतिमा छउन्जेल म बोल्थें। अब म त्यहाँ छैन। पत्रकारितामा छु …।’
उनी थप आक्रोशित भइन्। ‘भयो पत्रकारका कुरा छोड। पत्रकार कार्यकर्ता कि कार्यकर्ता पत्रकार ? हिजो पञ्चायत थियो, राजतन्त्र थियो। मिसन ठीक थियो। नेता जनताकोमा जान पाउँदैनथे। शिक्षक, पत्रकारले दललाई साथ दिए। आज केको लागि दलीय पत्रकारिता ? कि बन्दुक बोकेर हिंड्नुपर्यो ! आफ्नो स्वार्थको दुनो सोझ्याउन दलका झोला बोक्ने पत्रकारहरूले स्वतन्त्रता र निष्पक्षताको कुरा गर्नु, झण्डा बोक्ने शिक्षकले शिक्षालयको पवित्रताको कुरा गर्नु र पार्टी सदस्य कर्मचारीले राष्ट्रसेवाको कुरा गर्नुभन्दा भद्दा मजाक के होला ?’
रिसले रन्को छुट्यो। बोलिनँ। उनी पनि बोलिनन्। मस्तिष्कमा आँधी आइरहेको थियो। कस्तो प्रसव वेदना जस्तो समय।
‘हो ज्योति, यही कुरा म पनि सोचिरहेको थिएँ। तिमीलाई थाहै होला। तिमी त शहीद हौ, पक्कै मेरो मनको कुरा बुझ्छौ होला नि ?’
‘मलाई लाग्छ तिमी सोच्दा सोच्दा एक थान जीवन नै बिताइदिन्छौ। मलाई तिम्रो यो कक्टेल जीवन मन परेन। कि तिमी राजनीति गर, कि पत्रकारिता। यो त एकप्रकारले अलपत्रकारिता भयो। तिमी आफू पनि अलपत्र पर्छौ र देशलाई पनि अलपत्र पार्छौ’, स्वर सानो थियो तर प्रहार सानो थिएन।
‘हेर ज्योति, लामो समय राजनीति गरें। राजनीतिक चेत छ। एउटा पक्षधरता त हुन्छ नि ?’
उनले रोकिन् र पुनः ठोकिन्, ‘राजनीतिक चेतना सबैमा हुनुपर्छ। राजनीतीकरण र दलीयकरणबीचमा सानो सीमा हुन्छ, तर धेरै महत्वपूर्ण हुन्छ। त्यसलाई नभत्काऊ। आफ्नो कर्मको विश्वसनीयता गुमाएर बाँच्नु पनि के बाँच्नु ? कर्मको अर्थ खोज न। तिमीले लालसलाम, जय नेपाल वा केके भन्नेहरूको पक्षधरता परीक्षण गरेका छौ ? तिमीले अहिलेसम्म मजस्ता शहीदको पक्षमा लेख्यौ कि हाम्रा सपना लिलामी गर्नेहरूको पक्षमा ? मदन भण्डारीको फोटो बेच्नेहरूको पक्षमा कि मदनको विचारको पक्षमा ? बीपीको प्रजातान्त्रिक समाजवादको पक्षमा कि उनको सपनालाई नवउदारवादको पैतालामुनि किचीमिची पार्नेहरूको पक्षमा ?’
म मौन बसें। मेरो मौनताले भनिरहेको थियो, ‘सजिलो छैन नि निर्णय गर्न।’
‘तिमीले तत्काल निर्णय गर्न सक्छौ जस्तो लाग्दैन। म द्विविधाग्रस्त मानिससँग भावनात्मक सम्बन्धमा रहन चाहन्नँ। भयो मेरो जुत्ता देऊ र तिम्रो जुत्ता लैजाउ। यो जुत्तासँग मैले आस्था, निष्ठा र प्रतिबद्धता साटेको थिएँ।’
उनले जसरी सुरक्षित कहाँ राखेको थिएँ र मैले उनको जुत्ता। उनले श्रीपेच जस्तै सम्हालिराखेकी रहिछिन्। मैले जुत्ता नै सम्झेर लगाएँ र अन्य नयाँ जुत्ताहरूसँग खुट्टाहरूको स्पर्श गराएँ, पटक–पटक, सयौंपटक।
‘ज्योति, अर्को भेटमा म तिमीलाई कि तिम्रो जुत्ता फर्काउनेछु कि पत्रकारिता र पार्टीमध्ये एक रोज्ने निर्णय।’
ऊ खुसी भई। आँसु झार्न थाली। ‘शहीद पनि रुन्छन् र ? चुप लाग। हामी सँगै छौं’, मैले भनें।
उनको न्यानो अँगालोमा एकछिन हराएछु।
‘हैट, तिमीलाई कतै कोरोना त छैन ? सामाजिक दूरी कायम गरौं’, म टाढिन खोजें।
‘नचाहिने कुरा, शहीदलाई पनि कोरोना हुन्छ कतै ?’ उनी फिस्स हाँसिन्।
पर डाँडामाथि मलिन सूर्य देखें। उनलाई सोधें, ‘यो सूर्यास्त हो कि सूर्योदय ?’
‘मूर्ख ! सूर्यास्त र सूर्योदयमा कुनै फरक छैन। यो त तिमी सूर्य कहाँबाट हेर्दैछौ भन्नेमा भरपर्छ। अनि नभुल, एउटा सूर्यास्त अर्को सूर्योदयको लागि हो’, मेरो दृष्टिकोणको ऐनामा लागेको द्विविधाको कुहिरो ज्योतिले सर्लक्कै हटाइदिइन्।
मेरो मपाईंत्वले आत्मसमर्पण गर्न चाहेन। भनिहालें, ‘हाम्रो मस्तिष्कले जति बुझ्न सक्छ, संसारको अर्थ त्यत्ति हो।’
मसँग अरुलाई दिने यस्ता जवाफ धेरै छन्, तर आफैंलाई सम्झाउने शब्दहरू छैनन्।
‘कतै कमरेडहरूले हाम्रो संवाद देखेका/सुनेका त छैनन् ? मलाई डर लाग्यो। यी कमरेडहरूले त झोक चल्यो भने शहीदसँग ‘सम्बन्ध’ भनेर आरोप लगाउन पनि बेर लगाउँदैनन्’, मेरो कुराले उनी बेजोडले हाँसिन्।
‘म सकारात्मक जवाफको अपेक्षामा हुनेछु’ युट्युबरहरूले जस्तो तात्तातो हेडलाइन फुराएर सम्भावित दुई हेडलाइन जोडले भनिरहिन्-
‘अनि पत्रकारले पार्टी छाड्यो …!’
‘कार्यकर्ताले पत्रकारिता छाड्यो … !’
ज्योतिको तरिका देखेर मैले हाँसो रोक्नै सकिनँ। उनी झन् हाँस्न थालिन्।
***
कुकुर भुकिरहेको सुनें। यसरी नहाँसेको भए हुन्थ्यो नि ज्योति, जुन हाँसोले हाम्रो यति सुन्दर सपना बिथोलिदियो।
सुन्दर तर अप्ठेरो सपनाबाट ब्युँझिएँ। विपना झन् अप्ठेरो छ। मलाई लाग्यो, म शासकजस्तो भएछु र उनी विद्रोही जस्ती। कतैबाट मलाई हेर्दै भन्दै होलिन् – तिम्रो बाटो फगत भो, मेरो बाटो रगत भो …।
आफ्नो द्विविधा देखेर लाज लागिरहेछ। विपना सपनाविहीन सन्नाटाजस्तो छ। म पुनः निदाउन चाहन्छु र पुनः सपना देख्न चाहन्छु। कुनै अर्को सुन्दर तर अप्ठेरो सपनामा मेरो ज्योतिसँग भेट हुनसक्छ। अनि मैले उनलाई जवाफ दिनुपर्ने हुन्छ।
***
अफिसमा काम गरिरहेको थिएँ। फेसबुक म्यासेन्जरमा टिङ्ग गर्दै म्यासेज आयो। विदेश पुगेकी एक साथी रहिछिन्। गफिंदै जाँदा थाहा पाएँ, लमजुङको एउटा सैन्य आक्रमणमा उनीसँगै ज्योति पनि सहभागी रहिछिन्। मलाई सोध्न मन लाग्यो, ‘ज्योतिको वीरगति कसरी भयो ?’
उनकाे सहादतको झण्डै दुई दशक बित्न लागेछ । अब त वर्षको एकपटक फोटोमा माला लगाउन पनि छोड्यौं भने फोटोमा भएका मान्छेको मर्म कसले बुझ्नू ! ‘मैले पनि त बुझिनँ,’ मनमनै आफैंलाई धिक्कारेँ ।
‘उनी एसल्टमा थिइन्। उनको शरीरभरी गोली लागेको थियो र दुश्मनले प्रहार गरेको ग्रिनेट पड्किएर दुवै खुट्टा गुमेको थियो’, जवाफ पढिसक्दा विस्मित बनें। थप विवरण सुन्न सकिनँ। प्रोफाइल लगआउट गरें ।
एउटा तानाशाहको मृत्युसँगै शासन अन्त्य हुन्छ, तर शहादतसँगै शहीदको शासन सुरु हुन्छ भन्थे । यी आदर्श आजकल अलपत्र छन् ।
म बोलेर दिने जवाफ खोज्न आत्मसंघर्षरत थिएँ, उनले व्यवहारिक जवाफ खोजेकी रहिछिन् ।
एउटा उराठलाग्दो सन्नाटा छायो। सपना सम्झिएँ। न मसँग उनलाई दिने जवाफ छ, न उनलाई फिर्ता दिने जुत्ता। मैले फिर्ता नै दिए पनि उनीसँग लगाउने खुट्टा पनि बाँकी कहाँ रहेछ र ? अनलाइन खबरबाट