मनाङमा सरकारी विद्यालय कुनै टहरामा, कुनै बगरमै !

गणतन्त्र नेपाल संवाददाता

नासों गाउँपालिका–१ मा रहेको भानु मावि एक वर्षयता स्थानीय एउटा गुम्बाभित्र सञ्चालनमा थियो । माध्यमिक तहसम्म गरेर ७२ विद्यार्थी थिए, तिबेतन बुद्धिजम पढ्ने नै २२ जना थिए । एक वर्षअघिको बाढीपहिरोले विद्यालयलाई मर्स्याङ्दीको बगरछेउ पुर्‍याएपछि प्रधानाध्यापक श्यामकृष्ण पन्तले गरेको हारगुहार न स्थानीय तहले सुन्यो न त केन्द्र सरकारले ।

‘गत असार पहिलो साता हामी मर्स्याङ्दीको भेलमा थियौं, त्यसपछि यहींको गुम्बाले सदासयता देखायो । झन्डै एक वर्ष गुम्बाभित्रै विद्यार्थी लगेर पढायौं,’ पन्त भन्छन्, ‘अनेक रोइलोपछि आफ्नै गाउँपालिकाले दिएको १० लाख र गण्डकी प्रदेश ससरकारले दिएको ७ लाख रुपैयाँका भरमा ६ कोठे टहरो बनाउन सकेका छौं, अघिल्लो साताबाट मात्रै विद्यार्थी यही टहरोको कक्षामा सरेका छन् ।’ दुर्भाग्य के छ भने मर्स्याङ्दी किनारको टेन्ट, टहरो, बौद्ध गुम्बाभित्रको पढाइमा त्यति सुरक्षा नपाएपछि तिबेतन बुद्धिजमका विद्यार्थी पोखरा सरेका छन् भने अरू धेरै पोखरा, लमजुङ वा काठमाडौंतिर लागेका छन् । अहिले विद्यालयमा विद्यार्थी संख्या २२ छ, दरबन्दीका शिक्षक १२ जना छन् ।

यता मनाङ सदरमुकाम चामेमै रहेको लोकप्रिय माविको हाल पनि उही उस्तै छ । गत वर्ष जेठ ३० मा आएको अविरल वर्षा र बाढीपहिरोले मर्स्याङ्दी नदी ३१ ठाउँमा थुनिएपछिको मारमा सिंगो चामे बजार डुबानमा पर्‍यो, आसपासका पुल, विद्यालय, होटल सबैजसो कटानमा परे । ४० वर्षअघि स्थापित जिल्लाकै पुरानो आवासीय माविमा पोहोरसम्म ३ सय ३ जना विद्यार्थी थिए, आवासीयमै १ सय १० जना थिए । अहिले १ सय ७४ विद्यार्थी भर्ना भएका छन्, आवासीयमा ४० मात्रै छन् । मर्स्याङ्दी भेलमा परेर काटिएपछि अहिले विद्यालयमा विज्ञान ल्याब कामचलाउ मात्रै छ, खेल मैदानमा मर्स्याङ्दी बहिरहेको छ, आवासीय विद्यार्थीका सबै सेवासुविधा काटिएका छन् । पोहोरसम्म विज्ञान ल्याब राखिएको कक्षमा अहिले विद्यालयको भान्साकोठा छ । ल्याबका सामान स्टोरमा छन् । कार्यालय कक्ष छैन, शिक्षक आवास भत्किएको छ । जेठ पहिलो साता विद्यालय पुग्दा मुस्किलले ८/१० जना ससाना नानीहरू आवासीय रूपमा बसिरहेका थिए ।

‘मसहित केही शिक्षक अहिले जिल्ला शिक्षा कार्यालयको एउटा कोठामा गएर बसिरहेका छौं, विपत् व्यस्थापनमा काम गर्ने भनिरहेकै बेला कोभिड संक्रमण र लगत्तैको स्थानीय चुनावले केही काम हुनै पाएन,’ विद्यालयका प्रधानाध्यापक कृष्णदास कोइराला भन्छन्, ‘विगतमा नमुना विद्यालयका रूपमा प्रदेशमा छानिएपछि पाएको डेढ करोड रुपैयाँको राहतबाट नदी कटान तटबन्ध, पर्खालको काम थालेका छौं । टेन्डर प्रक्रिया सकिए पनि काम भने थालिएको छैन ।’ राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, सांसद विकास कोषका योजना वा दुर्गम भत्ताका सेवासुविधामा वञ्चित रहेपछि मनाङभरका २६ सरकारी विद्यालयको समूह बनाएर आफ्नो आवाज सुनाउन काठमाडौं जाने सोचाइमा प्रअ कोइराला पुगेका रहेछन् । पूर्वाधार अभावले पठनपाठनमा बिजोग भएपछि स्थानीय तहले तटबन्ध निर्माणसहितका काममा खर्च गर्न १९ लाख र प्रदेश सरकारले ७ लाख रुपैयाँ दिने भनिए पनि त्यो विद्यालयको खातामा आइपुगेको छैन ।

मनाङ सदरमुकाममा रहेको विद्यालयको कन्तबिजोगबारे सुनेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री बालकृष्ण खाँड, नेपाली सेनाका जिम्मेवार पदाधिकारी लोकप्रिय मावि आइसकेका छन् । दिन मिल्ने हदसम्मको आश्वासन दिएर काठमाडौं फिरे पनि न केन्द्र न संघीय, स्थानीय सरकारले लोकप्रियमा तत्कालको राहत पठाउन सकेका छन् । माथिल्लो मनाङमा रहेको अन्नपूर्ण माविको हालत पनि उस्तै छ । न बन्द हुन सकेको छ वा न सहजै चल्न सकेकै अवस्थामा छ ।

नासों गाउँपालिका–५ थोचेंस्थित प्रकाशज्योति माविलाई पनि उस्तै संकट छ । निमित्त प्रधानाध्यापक जगराम विश्वकर्माका अनुसार गत वर्ष दूधखोलामा आएको बाढीले विद्यालय सभाहल आधा बगाएको छ भने २ वटा शौचालय बगाएको छ । विद्यालयको चौर खोलामै मिसिएको छ भने नयाँ बन्दै गरेको छात्रावास भवन जोखिममा छ । ‘जोखिमका कारण विद्यार्थीमा त्रास छ । भर्नाको यो सिजनमा अभिभावक आएर विद्यार्थीको स्थानान्तरण सर्टिफिकेट दिन आग्रह गरिरहेका छन्,’ उनले भने ।

चामेस्थित शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख मतिलाल चपाईका अनुसार मनाङका ४ वटा माविमध्ये ३ वटामा पुगेको क्षतिको हर्जाना वा भरथेग अझै पुर्‍याउन सकिएको छैन । तालस्थित भानु मावि पुरै डुबानमा पर्‍यो भने चामेको लोकप्रिय माविको संरचना आधाउधी भत्कियो । थोंचेको प्रकाशज्योतिको पनि संरचना बगायो भने नासोंस्थित धारापानी प्रावि पनि जोखिममै छ । मनाङमा कक्षा १२ सम्मका २ वटा गरी ४ वटा मावि, कक्षा ८ सम्मका आधारभूत विद्यालय ८ वटा, कक्षा ५ सम्मका आधारभूत विद्यालय १४ गरी २६ विद्यालय छन् ।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID