विश्वभरबाट कम्युनिस्टप्रतिको विश्वास कमजोर हुँदै गइरहेका बेला चीनले कम्युनिस्ट पार्टी स्थापनाको शताब्दी पूरा भएको अवसरलाई गर्वका साथ विशेष समारोहको आयोजना गरी मनाइरहेको छ। कम्युनिस्ट पार्टीको नेतृत्वमा चीनले प्राप्त गरेको उपलब्धिलाई आत्मसाथ गर्दै बिहीबार चीनले एक विशेष कार्यक्रमको आयोजना गरेको छ।
पुँजीवादी मुलुकहरूले कम्युनिस्ट व्यवस्थाको उपादेयीता सकिएको दाबी गरिरहेका बेला बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति एवं कम्युनिस्ट पार्टीका महासचिव सी जिङ फिङले चीनले प्राप्त गरेको सफलता र उपलब्धिका पछाडि चिनियाँ कम्युनिस्ट पार्टीको हात रहेको सगर्व बताइरहेका थिए। करिब एक सय ८० वर्ष लामो आधुनिक चीनको इतिहास, एक सय वर्ष लामो कम्युनिस्ट पार्टीको इतिहास र ७० वर्षभन्दा लामो जनगणतन्त्र चीनको गौरवपूर्ण इतिहास कम्युनिस्ट पार्टीको योगदानविना सम्भव नहुने उनको तर्क थियो।
कम्युनिस्टहरूले ध्वंस मात्र गर्न सक्छन्, भन्ने आग्रहपूर्ण दाबी र बाँकी विश्वबाट कम्युनिस्टहरू पतन हुँदै गर्दा चीनले भने त्यसलाई गलत सावित गर्दै कम्युनिस्ट पार्टीकै नेतृत्वमा हरेक क्षेत्रमा कायापलट गर्दै आएको छ। आज शक्ति राष्ट्रहरूलाई चुनौती दिँदै नयाँ विश्व शक्तिका रुपमा उदाइरहेको चीन कम्युनिस्ट नेतृत्वमै यहाँसम्म आइपुगेको हो। भलै समयको मागसँगै चीनले पनि खुला अर्थतन्त्रलाई स्वीकार गरिसकेको छ। तर पनि राजनीतिक नेतृत्वमा मुलुकप्रतिको बलियो प्रतिवद्धता हुँदा कस्तो व्यवस्था वा कुन पार्टी भन्ने कुरा गौण हुन्छ भन्ने कुरा चीनले व्यवहारमै देखाइसकेको छ।
एउटा गरिब र गृहयुद्धबाट पिल्सिएको चीनमा २३ जुलाई १९२१ मा चिनियाँ क्रान्तिकारीहरूको एउटा समूहले रुसको बोल्सेविक क्रान्तिबाट प्रभावित भएर चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना गरेका थिए। त्यसयता सन १९४९ मा चिनियाँ कम्युनिस्ट पार्टीले अधिकांश ग्रामीण जनताको बलमा च्याङकाई सेकको राष्ट्रवादी सरकारलाई पराजित गर्न सफल बन्यो। सोही वर्षको अक्टोबर १ मा कम्युनिस्ट पार्टीका अध्यक्ष माओ त्सेतुङले जनवादी गणतन्त्र चीनको घोषणा गरे। माओ शक्तिमा पुगेपछि उनले औधोगिक विकासमा जोड दिए। उनको निधनपछि चिनियाँ कम्युनिस्ट पार्टीले
राजनीतिक तथा आर्थिक सुधारमा जोड दियो। त्यति नै बेला चीनमा अन्तर्राष्ट्रिय व्यापार र लगानीका लागि पनि खुला गरियो। त्यसयता चीनले ठूलो आर्थिक विकास गर्दै आफूलाई मुख्य विश्व शक्तिका रुपमा उभ्याउन सफल भएको छ। पछिल्लो एक दशकको अवधिमा राष्ट्रपति सीको नेतृत्वमा चीनले हरेक क्षेत्रमा अकल्पनिय प्रगति गर्दै आइरहेको छ।
नेपाल कहाँ छ ?
चीनलाई माओले जनवादी गणतन्त्र घोषणा गरेकै वर्ष नेपालमा पनि पुष्पलाल श्रेष्ठको नेतृत्वमा कम्युनिस्ट पार्टीको स्थापना भएको थियो। सर्वहारा वर्गको नायकत्व स्थापना गर्ने उद्देश्यले स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीको ७२ वर्ष लामो इतिहासमा धेरै पटक फुट र विभाजनको सिकार सहनु पर्यो।
स्थापनाको करिब दुई वर्षपछि निरंकुश राणा शासन अन्त्यका लागि गरिएको आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेको कम्युनिस्ट पार्टीपछि विभाजन हुँदै विभिन्न समुहमा विभक्त भयो। तथापि फरक फरक समुहमा रहेको कम्युनिस्ट पार्टीले पञ्चायती व्यवस्था अन्त्यदेखि राजतन्त्रको अन्त्यसम्मको आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरे। तर फुट र विभाजनको सिकार, कम्युनिस्ट आन्दोलनको मर्म र गति अनुसार चल्न नसक्दा र आन्दोलन भन्दा व्यक्तिगत स्वार्थले प्राथमिकता पाउँदा नेपालमा कम्युनिस्ट आन्दोलनले सोचेजस्तो प्रगति भने गर्न सकिरहेको छैन।
पछिल्लो पटक ०७४ मा वृहद कम्युनिस्ट एकताको सोँच सहित ठूला राजनीतिक दल नेकपा एमाले र माओवादी केन्द्रकाबीच एकीकरण भएर पुन नेकपा गठन भयो। गत आम निर्वाचनमा झण्डै दुईतिहाइ सांसद जितेको नेकपा शीर्ष नेताहरूको व्यक्तित्वको टकराब र शक्ति साझेदारीमा देखिएको विवादले सिंगो रहन सकेन्। विभाजन उन्मुख रहेको नेकपालाई एक ढिक्का बनाउन चिनियाँ कम्युनिस्ट पार्टीले समेत भरपुर प्रयास गर्यो। तर त्यो प्रयास सफल नभएपछि नेपालको कम्युनिस्ट आन्दोलन पुनः अधोगतितर्फ लागेको छ।
जसरी चीनमा कम्युनिस्ट पार्टीका नेताहरूले मुलुक र जनताप्रतिको प्रतिबद्धतालाई कहिले कमजोर हुन दिएनन र कम्युनिस्ट पार्टीकै नेतृत्वमा मुलुकलाई विश्व शक्तिका रुपमा रुपान्तरण भयो। त्यसको विपरित नेपालमा भने कम्युनिस्ट पार्टीको नेतृत्वमा रहेको व्यक्तिगत स्वार्थ, कुन्ठा र सत्ता र शक्तिप्रतिको आशक्तिले कम्युनिस्ट आन्दोलनलाई बदनाम र कमजोर बनाउने मात्र बनाएन। कम्युनिस्ट लेप लगाएका दलहरूले जनमतको समेत खिल्ली उडाउँदै मुलुकलाई अस्थिरतातर्फ धकेलिरहेका छन्।
नेपाली जनतामा कम्युनिस्टप्रतिको आस्था र भरोसा हुँदा हुँदै पनि नेताहरू मुलुक र जनताप्रतिको प्रतिबद्धतामा अडिग हुन नसक्दा नेपालको कम्युनिस्ट आन्दोलन अस्थिरता, अभाव, अनिश्चितताको साक्षी बन्दै आइरहेको छ। नेपालमा सबैभन्दा ठूलो शक्तिका रुपमा रहेका कम्युनिस्टहरूबीचको आन्तरिक द्वन्द्व र किचलोले मुलुकको भविष्य नै अन्धकारतर्फ बढिरहेको छ।
नागरिक दैनिकबाट ।