दाङ, २३ असोज। पुजारीको नाममा जग्गा राख्ने पुरानो परम्परा कायम राख्दा दाङको एक धार्मिक स्थल (धाम) को १५ बिघा जग्गा बिक्री भएको छ। केही वर्षदेखि बिक्री हुन सुरु भएको दाङ गढवा गाउँपालिका वडा नम्बर ३ गोबरडियामा रहेको जंगलकुटि बाबा धामको जग्गा अहिले जग्गा ‘कारोबारी’ देखि व्यक्तिको हातमा पुगेको छ। यसको खरिद बिक्री जग्गा कारोबारीहरु मार्फत सुरुवात भएको थियो। जंगलकुटि धाम थारु समुदायको पवित्र धार्मिक स्थल हो। अहिले यो देउखुरीकै पर्यटकीय क्षेत्रका रुपमा समेत चिनिँदै आएको छ।
यो जग्गा धाममा रहेका पुजारीकै नाममा पास हुँदै आएको थियो। बर्सौँ अघि यो धाममा बाघनाथ बाबा भन्ने पुजारी चयन भएका थिए। यी पुजारीकै पहलमा यो धामका लागि भन्दै ७५ बिघा जग्गा जोरजाम भएको थियो। स्थानीय एक महिलाले मात्रै पवित्र धार्मिक स्थललाई भन्दै २५ बिघा जग्गा दान गरेकी थिइन्। ‘मेरो हजुर आमाले उक्त मन्दिरका नाममा २५ बिघा जग्गा दान गर्नु भएको थियो,’ एक जानकार भन्छन्, ‘यो सहित मन्दिरका महन्थले मन्दिरको थैलीबाट खरिद गरेको गरी करिब ७५ बिघा जमिन जंगलकुटीका लागि जोडिएको थियो।’
त्यो बेला यो धाम दर्ता थिएन। फलतः धामका नाममा दर्ता भएको उक्त जग्गा धामको नाममा दर्ता गर्ने कानुनी बाटो थिएन। अनि उनै पुजारीकै नाममा पास गर्ने स्थानीयहरूका बिच सहमति भयो। ‘त्यो बेला मन्दिर दर्ता थिएन, अनि मन्दिरको नाममा जग्गा दर्ता हुन सकेन,’ ती जानकार भन्छन्, ‘मन्दिरको नाममा पछि दर्ता गर्ने सहमति बमोजिम मन्दिरको पुजारी जो छ उसैको नाममा पास गर्ने सहमति भएको थियो।’ बाघ नाथ बाबाको नाममा पास हुन सुरु भएको यो जग्गा जो नयाँ पुजारी आउँछ उसकै नाममा पास हुने संस्कार बन्यो।
बाघनाध बाबाको निधन भएपछि त्यहाँ एक महिला पुजारी आइन्। अनि ती महिला पुजारीकै नाममा जग्गा नामसारी भयो। आफ्नो नाममा पास भएको जग्गामाथि ती महिला पुजारीको खराब नजर पर्न थाल्यो। उनले धामका लागि भन्दै जोरजाम भएको जग्गा आफ्ना ज्वाइँको नाममा पास गरिदिइन्। तर गाउँलेहरूले यसको विरोध गरे। पछि अर्का पुजारी मोहनदाश धाम प्रवेश गरे। यी पुजारीको नाममा जग्गा फर्कियो।
ती महिला पुजारीको पनि निधन भएपछि भित्रिएका मोहनदाश नामका अर्का पुजारीको नाममा जग्गा पास भएपछि भने यो जग्गा व्यक्ति विशेषको किनबेचमा पर्यो। मोहन दाशले जंगलकुटिका लागि भन्दै जोडिएको जग्गा आफ्ना छोरा देविसिङका नाममा पास गरिदिए। अहिलेका यी नै पुजारी देविसिङले आफ्ना चार छोराहरूको नाममा जग्गा भागबन्डा गरिदिएर पास गरिदिए। अनि उनका छोराहरूले धामका लागि जोरजाम भएको जग्गा बिक्री गर्न सुरु गरे। पुजारीले छोराहरूको नाममा जग्गा पास गरिदिँदा स्थानीय अगुवाहरू कसैले पनि यसको विरोध गरेनन्। फलतः जग्गा बिक्रीको अवस्थामा पुग्यो। ‘पुजारीले आफ्ना छोराहरूका नाममा जग्गा पास गरिइदिँदासम्म पनि कोही अगुवाले पनि यो कार्यको विरोध गरेनन्,’ एक स्थानीयले भने ‘विरोध त्यही बेला गरेको भए जग्गा जोगिन्थ्यो नि।’
यो जग्गा व्यक्तिको नाममा रहेको थाहा पाएपछि सुरुमा यो जग्गा माथि कारोबारीहरूले गिद्धे नजर लगाए। ‘यो जग्गा व्यक्तिको हो,यो जग्गा बिक्री गर्न पाइन्छ भनेर केही कारोबारीहरू खरिदका लागि निकै दौड थाले,’ यो वडाका पूर्व वडा अध्यक्ष गुलाम मोहम्मद जागा मुसलमानले भने ‘मैले यसको बिक्री रोक्नका लागि धेरै पहल गरेको थिएँ।’ तत्कालीन वडा अध्यक्ष गुलामलाई जग्गा बिक्रीका लागि वडाको सिफारिस दिन पटक पटक दबाब आयो। ‘तर मैले मानेको थिइन,’ उनले भने ‘अन्ततः व्यक्तिको नाममा रहेको जग्गा संविधान र कानुनी रुपमा रोक्न मिल्ने अवस्था रहेन।’ यो जग्गा धामको नाममा नभई पुजारी (व्यक्ति)को नाममा पास थियो।
व्यक्तिको नाममा भएको जग्गा बिक्री रोक्नका लागि कुनै प्रयासले सार्थकता पाउने सम्भावनै थिएन। ‘तैपनि मैले प्रमुख जिल्ला अधिकारी ज्यूलाई पनि यो जग्गाको बिक्री रोक्नका लागि भनसुन गरेको थिएँ,’ तत्कालीन वडा अध्यक्ष गुलामले भने ‘तर व्यक्तिको नाममा देखिएको उक्त जग्गा बिक्रीका लागि रोक्ने कानुनी अधिकार हुँदैन भनेर त्यो बेलाका प्रमुख जिल्ला अधिकारी ज्यूले भन्नु भएको थियो।’ वडा अध्यक्ष गुलाम मालपोत कार्यालयमा पुगेर उक्त जग्गाको प्रकृतिका बारेमा समेत बुझेका थिए।
तर कागजी प्रमाणमा स्पष्ट थियो कि ‘उक्त जग्गा तिन पुस्ता देखि व्यक्तिको नाममा नामसारी हुँदै आएको छ।’ वडा अध्यक्षले जग्गा बिक्रीको पास रोकेको भन्दै गुलाम विरुद्ध मुद्दा दर्ताको तयारी समेत थालियो। अनि बिक्री रोक्ने कानुनी आधार पनि नरहेको र मुद्दा मामिलाको झन्झटमा नपर्ने निर्णय लिएर गुलामले जग्गा बिक्रीका लागि पास दिन विवश भएको बताए। ‘जग्गा बिक्री रोक्ने कानुनी आधार पनि रहेन,’ उनले भने ‘अनि म माथि नै मुद्दा हाल्ने तयारी भयो, अनि मैले जग्गा विक्रीका लागि पास दिनै कर लाग्यो।’
उनले त्यो बेला १५ कट्टा जग्गा बिक्रीका लागि वडाबाट सिफारिस दिएको पनि बताए। ‘तर मैले किसानले भोगचलन गर्दै आएको, मस्जिदले उपभोग गर्दै आएको र विद्यालयले भोगचलन गर्दै आएको जग्गा भने उनीहरूले नै भोगचलन गर्न पाउने गरी सिफारिस दिने सर्त राखेको थिएँ,’ गुलाम भन्छन् ‘यो बाहेकको झण्डै १५ बिघा जग्गा बिक्रीका लागि मैले सिफारिस दिएको हुँ।’ यो जग्गा सुरुमा जग्गा कारोवारीहरुको हातमा परेको थियो।
जग्गा कारोवारीहरुको नाममा पास भएको यो जग्गा बिस्तारै अन्यले समेत खरिद गरेका छन्। ‘सुरुमा यो जग्गा जग्गा खरिदका लागि सुरुमा आँखा लगाएका जग्गा व्यवसायिहरुको नाममा पास भयो,’ गुलाम भन्छन्, ‘पछि उनीहरूबाट बिस्तारै अरु व्यक्तिले पनि यो जग्गा खरिद गर्न सुरु गरे।’
त्यसोत, माओवादी द्धन्दका क्रममा माओवादीलेको जग्गा किसानहरुहरु ‘गरी–खाऊ’ भन्दै बाँडिदिएका थिए। माओवादीको आडमा जग्गा कब्जा गरेका किसानहरूले जग्गाको उब्जनी एकलौटी खाए। तर जग्गाको तिरो भने धामका तर्फबाट पुजारीले तिर्दै आए। ‘माओवादीले किसानलाई जग्गा बाँडिदिए र गरिखाऊ भनिदिए,’ एक स्थानीयले भने ‘त्यो जग्गाको आम्दानी किसानहरूले एकलौटी खाए तर झण्डै १५ वर्ष सम्म उक्त जग्गाको तिरो भने धामका पुजारीले जेनतेन व्यवस्था गरेर तिर्दै आए।’ जानकारहरूले सुरुमा यो धामका लागि जोरजाम भएको जग्गा झण्डै ७५ बिघाको हाराहारीमा रहे पनि पछि कब्जामा पर्दै गएको थियो। यो कब्जा हुँदै गएको धामको जग्गा पछि झण्डै २५ बिघामा झरेको थियो। यो मध्ये १५ बिघा जग्गा बिक्री भैसकेको छ भने बाँकी जग्गा पनि धामका पुजारीकै छोराको नाममा छ।
संरक्षण समिति मौन !
जंगलकुट्टि धामका लागि भन्दै जोरजाम भएको १५ बिघा जग्गा बिक्री हुँदा यसै धामको संरक्षणका लागि बनेको समिति भने मौन बस्यो। मानौँ की उसले जग्गा बिक्री हुन थालेको पत्तो समेत पाएन। यो धामको संरक्षण तथा प्रवर्धनका लागि भन्दै २०६७ देखि संरक्षण समिति बनेको छ। तर धामकै संरक्षणको उद्देश्य बोकेको यो समिति भने धामकै लागि जोरजाम भएको जग्गा बिक्री हुँदा कुनै ‘एक्सन’ नउत्रिनु समिति माथि नै आशंका गर्ने ठाउँ प्रशस्तै देखिएका छन्। ‘यो धामको संरक्षण गर्ने भनेर समिति बनेको छ, तर संरक्षणका लागि बनेको यो समितिले जग्गा बिक्री हुँदा सम्म के हेरेर बस्यो?’ एक स्थानीयले भने ‘समितिको यो निरीहता वा मौनताले उसकै भूमिका मागी प्रश्न उठ्ने ठुलो ठाउँ खडा गरिदिएको छ।’ – नागरिक दैनिकबाट