सन्दर्भः २८ औँ जनयुद्ध दिवस – क्रान्तिको निरन्तरतामा जनयुद्ध दिवसको सार्थकता

जनयुद्ध दिवस मनाउनुको अर्थ हो जनयुद्धको स्मरण गर्नु । जनयुद्धको स्मरण गर्नुको अर्थ हो आफ्ना दायित्त्वहरुप्रति जवाफदेही र जिम्मेवार बन्नु । सामुहिक जीवनशैली अंगाल्नु र महान सर्वहारावर्गीय संस्कृतिलाई अवलम्बन गर्नु, इतिहास र वर्तमानको निर्मम समीक्षा गर्नु र आफूलाई परिवर्तनको अभियन्ताको रुपमा सदैव अग्रमोर्चामा उभ्याउनु ।

आस्था केसी

आज २८ औं जनयुद्ध दिवस । जनयुद्ध नामै काफी छ । जहाँ जनयुद्ध शब्दले प्रतिकृयावादी शासकहरु र समाजलाई पश्चगमनतर्फ धकेल्न चाहनेहरुको मुटुमा ढ्याँग्रो बज्न थाल्छ, त्यहीँ जनयुद्ध शब्दले उत्पिडनमा पारिएका, सत्य र न्यायको आवाज बुलन्द गर्नेहरु, राजनीतिक अलगावमा पारिएकाहरु, राज्यको मूलधारमा आउन नसकेकाहरु, समान कामको समान ज्याला पाउन नसकेकाहरु, गास, बास, कपास, श्वास्थ्य, शिक्षा र रोजगारमा आफ्नो अधिकार प्राप्त गर्न नसकेकाहरुको मनोबल उँचो बनाइदिन्छ । ठगेर खान पल्किएका वर्गवैरीहरुका विरुद्ध एक मुठी प्राण रहेसम्म न्यायका लागि लडिरहने अदम्य शाहस जनयुद्ध शब्दले पैदा गराइदिन्छ । अत्याचारी शासकको शासनसत्ताका विरुद्ध न्याय र समतामूलक अर्को संसार संभव छ भन्ने एउटा नारा गुञ्जायमान गराइदिन्छ । जनता नै इतिहासका निर्माता हुन् भन्ने सत्यलाई पुष्टि गराइदिन्छ ।

आज देश मूलभूत रुपमा जनयुद्धले देखाएको बाटोमा अगाडि बढिरहेको छ । २५० वर्षे राजसंस्थाको समूल अन्त्य गरेर गणतन्त्र स्थापना भएको छ । महान जनयुद्ध र जनआन्दोलनको जनादेशअनुसार नयाँ संविधान जारी गरिएको छ । धर्मनिरपेक्षता, राज्यको मूलधारबाट पछाडि पारिएका वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायको तर्फवाट राज्यका हरेक निकायमा समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गरिएको छ ।

देश संघीय संरचनामा गएको छ । संघीय, प्रादेशिक र स्थानीय गरी तीन तहका सरकारले काम गरिरहेका छन् । सिंहदरवार जनताको आँगनमा पुगेको छ । समृद्ध नेपाल सुखी नेपालीको नारालाई मूलमन्त्र बनाएर दुईतिहाईको कम्युनिष्ट सरकारले देशमा शासन गरिरहेको छ । यसरी हेर्दा देशमा एक प्रकारले भन्ने हो भने महान जनयुद्धको बलमा भएको जनआन्दोलनकै कारण राजनैतिक रुपमा उथलपुथलकारी आमूल परिवर्तन भएको छ ।

अध्यक्ष कमरेड प्रचण्ड

पुस्तौँ पुस्ता शासकीय मानसिकतामा हुर्किएकाहरु सत्ताबाट विमुख हुनुपर्दा अरण्यरोदनमा छन् । यो वा त्यो रुपमा अनेक प्रकारका प्रोपोगाण्डाहरु फैलाएर, भ्रमको खेती गर्दै स्याल हुँइया गरिरहेका छन् । कुनै पनि हालतमा उनीहरु यो सरकार र जनयुद्धका उपलब्धीहरुलाई असफल पार्ने ध्याउन्नमा लागिरहेका छन् । विभिन्न बहानामा संघीयता असफल गराएर गाउँ–गाउँमा पुगेको जनताको अधिकार कटौति गर्न लागेका तत्त्वहरुबाट हामी सबै सजग हुनु पर्दछ ।

कमरेड माओले भन्नुभएको छ –‘कार्यदिशा सही वा गलत हुनुले सबै कुराको निर्धारण गर्दछ । यदि कार्यदिशा सही छ भने नभएका कुरा पनि प्राप्त हुँदै जान्छन तर यदि कार्यदिशा नै गलत छ भने भएका कुराहरु पनि गुम्न पुग्दछन् ।’

विरोधीहरुको काम हो, क्रान्तिलाई असफल बनाउन खोज्नु, परिवर्तन र अग्रगमनको यात्रालाई रोक्न खोज्नु । पुरानो सत्ताका पक्षधरहरुले नै परिवर्तन, सरकार र क्रान्तिलाई समर्थन गर्लान् भनेर सोचियो भने त्यो ठूलो गल्ति हुन्छ । बरु विरोधीहरुले सर्मथन गर्न थाले भने प्रष्ट भए हुन्छ कि आफू हिँडेको बाटो गलत छ । विरोधीले विरोध गरिरहनु नै आफ्नो बाटोमा सही भएको  प्रमाण हो । विरोधीहरुले असफल बनाउन खोजे भनेर गुनासो गर्नुको कुनै अर्थ छैन । हामी सफल वा असफल के हुने भन्ने कुरा हाम्रै कार्यशैली वा कार्यदिशामा निर्भर गर्दछ ।

देशमा आमूल परिवर्तनका लागि २०५२ फागुन १ गते सशस्त्र जनयुद्धको घोषणा गरिएको थियो । एउटा गतिमा जनयुद्ध आफ्ना तुफानी वेगहरुसँगै अगाडि बढ्दै गयो र एक हदसम्म आफ्नो लक्ष्य र उद्धेश्यमा सफल पनि भयो । यसमा सबैभन्दा ठूलो प्रमाण राज्यको वर्तमान अवस्था हो, तर राजनीतिक उपलब्धिलाई साँस्कृतिक र व्यावहारिक हिसाबले संस्थागत गर्ने पहल भयो कि भएन ? यो  नै आजको जल्दो बल्दो सवाल हाे ।

लेखक

जनयुद्धमा प्रत्यक्ष सहभागी भएर योगदान गरेका घाइते योद्धाहरु आज पनि उचित उपचारको खोजीमा भौँतारिइरहेका छन् । कतिपय योद्धाहरु स्वदेशमा रोजगारी नपाएर अरबका खाडीहरुमा पसिना बगाइरहेका छन् । जनमुक्ति सेनामा ४० प्रतिशत भूमिका निर्वाह गरेका महिला योद्धाहरु आज घरको चार पर्खालभित्र कैद भएका छन् । युद्धमा सहभागी भएका महिला नेता कार्यकर्ताहरु आज सबैभन्दा बढी पीडित बन्न पुगेका छन् । शहीद परिवारहरु जटील समस्यामा छन् ।

सरकार, संसद र अन्य सुविधामा पुगेकाहरु सर्वहारावर्गीय चिन्तनबाट विचलित हुनपुगेका छन् । उनीहरुको लवाइखवाई र उठानबैठान हेर्दा लाग्छ उनीहरुको जीवनमा समाजवाद मात्र नभई साम्यवाद नै आइसकेको छ । परन्तु आम जनता, शुभचिन्तक, कार्यकर्ता र शहीद तथा बेपत्ता परिवारहरुको दैनिक जीवनमा समृद्धिको उज्यालो घाम झुल्किनु त परै जाओस्, दुई छाक टार्न पनि मुश्किल छ ।

जनयुद्ध दिवस मनाउनुको अर्थ हो जनयुद्धको स्मरण गर्नु । जनयुद्धको स्मरण गर्नुको अर्थ हो आफ्ना दायित्त्वहरुप्रति जवाफदेही र जिम्मेवार बन्नु । सामुहिक जीवनशैली अंगाल्नु र महान सर्वहारावर्गीय संस्कृतिलाई अवलम्बन गर्नु, इतिहास र वर्तमानको निर्मम समीक्षा गर्नु र आफूलाई परिवर्तनको अभियन्ताको रुपमा सदैव अग्रमोर्चामा उभ्याउनु ।

“यति गरियो भने मात्र हामी साँचो अर्थमा जनयुद्धको सम्मान गर्न लायक बन्नेछौँ । जनयुद्ध र इतिहासको भजन गाइरहने तर त्यसबाट सिर्जित समस्या सम्बोधनका लागि पहल गर्नुको साटो जिम्मेवारीबाट पन्छिन खोज्ने वा त्यसका उपलब्धि संस्थागत गर्न पहल नगर्ने हो भने जनयुद्ध दिवस मनाउनुको कुनै औचित्य छैन ।

अध्यक्ष प्रचण्ड भन्नुहुन्छ, “इतिहासको उहीँ रुपमा पुनरावृत्ति हुँदैन ।”  इतिहासमा पनि देश बनाउने यस्ता अवसरहरु पटक पटक आए र पटक पटक शासकहरुले ती अधिकारमाथि कुठाराघात गरे । अहिले पनि हामीले देश निर्माणका लागि बेग्लै एउटा महत्त्वपूर्ण अवसर प्राप्त गरेका छौँ । यसर्थ हामी गौरवान्वित छौँ कि हाम्रो पुस्ताको काँधमा त्यो युगीन दायित्त्व आइपुगेको छ ।

छापामार महिलाहरू

यस्तो समयमा पनि हजारौँको बलिदानबाट प्राप्त उपलब्धि संस्थागत गर्दै नयाँ सभ्य र समुन्नत नेपाल निर्माणको दिशामा जान सकेनौँ भने त्यो इतिहासकै बिडम्बना हुनेछ । शहीद र वेपत्ता योद्धाहरुका सपना पुरा गर्न, नयाँ नेपाल निर्माणको अभिभारा पुरा गर्न आ–आफ्नो ठाँउमा गम्भीर र जिम्मेवार बनौँ । सबैलाई २८ औं जनयुद्ध दिवसको हार्दिक शुभकामना ।

मा प्रकाशित