नयाँ जीवन बीमा कम्पनीमा आर्थिक क्रान्ति, चार वर्षमै ५१ अर्ब कुल बीमा शुल्क संकलन

तत्काल मर्जरको नीति आवश्यक नपर्ने संकेत

गणतन्त्र नेपाल संवाददाता

काठमाडौं । बीमा समितिले चार वर्ष अगाडी एकै पटक १० वटा जीवन बीमा कम्पनीलाई सञ्चालन अनुमति दिँदा चर्को आलोचना भएको थियो । बजारमा ९ वटा जीवन बीमा कम्पनी हुँदा हुँदै बीमा समितिले अध्ययन नै नगरी थप १० वटा कम्पनीलाई लाइसेन्स दिएको भन्दै बजारमा चर्को आलोचना भएको थियो ।

चार वर्ष अगाडि नेपालले १९ वटा जीवन बीमा कम्पनी धान्दैन् भन्दै गर्दा अहिले अधिकांश कम्पनीको ग्रोथ हेर्यो भने लोभलाग्दो छ । यस अवधिमा नयाँ कम्पनीले ५१ अर्ब ४८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । नयाँ जीवन बीमा कम्पनीहरुले हालसम्म आर्जन गरेको कुल बीमा शुल्क हो ।

बीमा समितिले नयाँ जीवन बीमा कम्पनीको लागि लाइसेन्स दिने बेलामा बीमाको पहुँच केबल ७ प्रतिशत हाराहारी मात्रै थियो । सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरु केवल शहरमा मात्रै केन्द्रित थिए । बीमाका लागि नेपाल ‘भर्जिन मार्केट’ थियो यसले पनि नयाँ आएका कम्पनीलाई व्यवसाय विस्तार गर्न कुनै समस्या नदेखिएको बीमा विज्ञ भोजराज शर्माको विश्लेषण छ । बजारमा जहिले पनि ‘डिमाण्डले सप्लाइ क्रियट’ गर्ने भएकाले नयाँ बीमा कम्पनीहरुले सजिलै व्यवसाय विस्तार गर्न सफल भएको शर्मा बताउँछन् ।

अहिलेको अवस्थामा ७ प्रतिशत बीमाको पहुँच बढेर २७ प्रतिशत पुगेको छ । अझै पनि बजार विस्तारको लागि ठाउँ बाँकी रहेकाले कम्पनीहरुलाई सेवा गर्न खासै समस्या नहुने विज्ञहरु बताउछन् । अझै केहि समय कम्पनीहरुले दोहोरो अंकको सुधार गर्न सक्ने उनिहरुको आंकलन छ।

एक वर्षको अवधिमा मात्रै कुल बीमा शुल्क आर्जन ११२ प्रतिशतले बृद्धि भएको देखिन्छ । यस अवधिमा यूनियन लाइफको बजार विस्तार सबैभन्दा धेरै आक्रामक देखिएको छ । नयाँ १० कम्पनीहरुमध्ये यूनियन लाइफको मात्रै बजार हिस्सा २६ प्रतिशत भन्दा धेरै छ । कम्पनीले आफ्नो स्थापनादेखि अहिलेसम्ममा १३ अर्ब ८१ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

त्यस्तै दोस्रोमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले हालसम्म ६ अर्ब २ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । नयाँ कम्पनीहरुमध्ये सिटिजनको बजार हिस्सा ११.७० प्रतिशत रहेको छ । तेस्रोमा रहेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ५ अर्ब ७१ करोड रुपैया कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको पनि बजार हिस्सा ११.११ प्रतिशत रहेको छ ।

चौथोमा रहेको ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ५ अर्ब ५७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको बजार हिस्सा १०.६४ प्रतिशत रहेको छ । पाँचौ स्थानमा रहेको आइएमई लाइफले ४ अर्ब ७५ करोड रुपैंयाँ कुल बीमा शल्क आर्जन गर्न सफल भएको छ । बजार हिस्सा भने ९.२४ प्रतिशत रहेको छ ।

त्यसैगरी, हालसम्म क्रमश: रिलायन्स लाइफले ४ अर्ब १४ करोड, सन नेपाल लाइफले तीन अर्ब ८५ करोड रुपैयाँ, प्रभु लाइफले २ अर्ब ९१ करोड, सानिमा लाइफले २ अर्ब ८५ करोड रुपैंयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । सबैभन्दा कान्छो जीवन बीमा कम्पनी महालक्ष्मी लाइफले एक अर्ब ९१ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

तत्कालिन बीमा कम्पनीमा ठुला ठुला व्यवसायिक घरानाको लगानी थियो । उनीहरुले उच्च पदस्थ कर्मचारीदेखि लिएर संचालकमा पनि आफ्नैलाई राख्थे । दिदि, बहिनी, भाइ, भतिजा, काकालाई मात्रै काखी च्याप्ने प्रवृत्तिले बीमा कम्पनीमा इनोभेसन थिएन । आफ्नो मान्छे प्रमुख कार्यकारी अधिकृतमा राख्न लडाइ गर्ने प्रवृत्तिले इनोभेटिभ तथा बीमा क्षेत्रमा केहि गरौ भन्नेहरुले पनि काम गर्न सक्ने अवस्था थिएन । जब बजारमा नयाँ बीमा कम्पनी आए त्यस पछि पुराना कम्पनीहरुले पनि आफूलाई सच्याउन बाध्य भए । प्रतिस्पर्धामा उत्रिनका लागि पनि बजारबाट सक्षम प्रमुख कार्यकारी तथा व्यवस्थापन भित्र्याउन थाले ।

 

नयाँ आएका बीमा कम्पनीहरु पनि बजार विस्तारमा आक्रामक रुपमा देखा पर्न थाले । यद्यपी,कतिपय पुराना जीवन बीमा कम्पनीभन्दा नयाँ बीमा कम्पनी अब्बल देखिएको बीमा विज्ञ शर्मा बताउछन् । यसले बीमा क्षेत्रमा व्यवसायिक अभ्यासको विकास भएको उनको विश्लेषण छ ।

त्यो समयमा बीमा क्षेत्रमा केहि गर्न चाहने व्यक्तिहरु थिए । अझै पनि बीमा क्षेत्रमा त्यस्ता व्यक्तिहरु छन् । बैंकिङ क्षेत्रको तुलनामा बीमा क्षेत्रमा पढेलेखेका व्यक्तिको रोजाइमा थिएन । बजार विस्तारसँगै कम्पनीहरु ठुला भएका छन् । उनिहरुले दक्ष जनशक्ति व्यवस्थापन गर्न सक्ने तागत राखेका छन् । चार्टर्ड एकाउन्टेन्ट, विदेशी विश्वविद्यालयमा अध्ययन गरेर आएकाहरुको रोजाइमा पनि विस्तारै बीमा क्षेत्र पर्न थालेको छ ।

कम्पनीहरु व्यसाय विस्तार गर्ने क्रममा देशको विकट ठाउँमा समेत आफ्नो उपस्थितीलाई दरिलो बनाउँन थालेका छन् । अभिकर्ताको संजाल विस्तार गर्न सफल भएका छन् । गाउँघरका सहकारीले अभिकर्ताको काम गरिरहेका छन् । यसरी व्यवसाय विस्तार हुनुमा नेपालको आर्थिक बृद्धिदरको पनि उत्तिकै प्रभाव देखिएको छ ।

विगत १० वर्षदेखि नेपालको आर्थिक बृद्धिदर लगातार उकालो लागिरहेको थियो । तर, कोभिड १९ कारण गत वर्ष र यस वर्ष भने केहि खुम्चिने अनुमान गरिएको छ । जब आर्थिक बृद्धि हुन्छ, मानिसहरुको आम्दानी बढ्छ र बचत गर्न सक्ने अवस्था सिर्जना हुन्छ तब मानिसले बचतको रुपमा बीमालाई रोज्न पुग्छन् । नेपालमा अझै पनि १८ प्रतिशत नेपाली गरिबीको रेखामुनी रहन बाध्य भएका छन् । आगामी आर्थिक वर्षको बजेटले पनि बीमाको पहुँच ३५ प्रतिशत पुर्याउने लक्ष्य लिएको छ । सरकारले लिएको लक्ष्य पुरा हुने अवस्थामा पनि बीमा कम्पनीहरुको बीमा व्यवसाय थप विस्तार हुनेछ ।

बजार विस्तारकै क्रममा रहेकाले अहिलेनै मर्जर आवश्यक नपर्ने बीमा विज्ञ शर्माको विश्लेषण छ । तर, कम्पनीहरु थप्न नहुने उनको सुझाव छ । बीमा समितिले अझै केही जीवन बीमा कम्पनी थप्न लागेको चर्चा बजारमा चलिरहेको छ । केही समय अहिले भइरहेकै कम्पनीले व्यवसाय विस्तार गर्न सक्ने देखिन्छ । जब बजार एउटा स्थानमा पुग्छ त्यस पछि भने कम्पनीको संख्या घटाउनु पर्ने विज्ञहरु बताउछन् । यसका लागि कम्तिमा पनि ५ वर्ष कुर्नु पर्ने हुन्छ । बीमा समितिले कम्पनीहरुलाई रिष्क बेस क्यापिटलको अवधारणा ल्याइसकेकोले गर्दा कम्पनीले आफ्नो व्यवसाय बिस्तारको अनुपातमा पूँजी बढाउन सक्ने धारणा विज्ञहरुकाे छ ।

मा प्रकाशित