‘काल संध्या’ (१९९७):- एक अविस्मरणीय फिल्म

सिनेमा चर्चा

प्रभाष

क्रान्तिकाे नाममा व्यक्तिहत्या गर्ने प्रवृत्ति प्रायः विश्वभरि नै पाइन्छ। खासगरि, दक्षिण एसियामा त याे प्रवृत्ति जब्बर रुपमा रहेकाे पाइन्छ। चाहे भारत हाेस् वा नेपाल, श्रीलंका हाेस् वा बंगलादेश। क्रान्तिकाे नाममा व्यक्तिहत्या कहाँ भएकाे छैन र? यस फिल्मकाे सन्दर्भ भने भारतकाे रहेकाे छ। भारतमा पनि विगतमा क्रान्तिकाे नाममा व्यक्तिहत्या गरिएकाे लामाे इतिहास छ, चाहे त्याे पश्चिम बंगालकाे नक्सल आन्दोलनमा हाेस् वा पँजाबकाे खालिस्तान आन्दोलनमा। क्रान्तिकाे नाममा व्यक्तिहत्याकाे ट्रेण्ड नै चलेकाे थियाे भारतमा। व्यक्तिहत्याकाे प्रवृत्तिबाट कुनै पनि आन्दोलन मुक्त थिएन।

‘कालसन्ध्या’ ले भारतमा एक समय यही व्यक्तिहत्याले असर पारेका पात्रहरुका कथा भन्छ। यसले पूर्वेत्तर भारतकाे कुनै एउटा ठाउँलाई आधार बनाएर व्यक्तिहत्यालाई कारक बनाई त्यसले सिर्जना गरेकाे त्रासदी वा जिन्दगीकाे भयावहतालाई चित्रण गर्दछ। साेझाे भाषामा भन्दा जसकाे हत्या गरिएकाे हाे, उसकाे परिवारमाथि के बितिरहेकाे छ त? परिवारकाे सदस्यहरुकाे जीवन कसरी चलिरहेको छ त? उनीहरुकाे आर्थिक अवस्था वा जीविकापार्जनकाे व्यवस्था के कस्ताे छ त? राज्यले उनीहरुलाई के कस्ताे सहायता गर्‍याे? उनीहरुकाे परिवारलाई राहत दिने सवालमा वा उनीहरुलाई न्याय दिने सवालमा राज्यकाे ‘अप्राेच’ कस्ताे रह्याे? राज्य के कति ‘एक्टिभ’ भयाे र उनीहरुकाे जीविका र न्यायकाे सवाललाई के कति सम्बाेधन गर्‍याे त? फिल्मलाई हेरेर यसबारे माेटामाेटी एउटा ‘पर्सेप्शन’ बनाउन सकिन्छ जुन ‘पर्सेप्शन’ ले यी सबै बारे सरकरात्मक जवाफ दिँदैन। अथवा भनाैं, यी सबै प्रश्नहरुकाे जवाफ फिल्ममा नकारात्मक भेटिन्छ।

फिल्मकाे प्रारम्भ नै व्यक्तिहत्याकाे दृष्यबाट हुन्छ। प्रारम्भमै फिल्मकाे प्रमुख पात्र अनुराधाकाे पति बनजित दत्ता (जाे कि स्थानीय कलेजका प्राेफेसर हुन्छन्) काे अज्ञात व्यक्तिहरुले गाेली चलाएर हत्या गरिदिन्छन्। उसलाई तिनीहरुले किन मारेका हुन्? के कारणले मारेका हुन्? यसकाे जवाफ अनुराधाले कहिल्यै पाउँदिनन्। उनलाई आफ्नाे पतिकाे हत्या किन गरियाे, थाहा हुँदैन। उनी आफ्नाे पतिकाे हत्याकाे कारण जान्न चाहन्छिन्। तर उनलाई यसकाे जवाफ कहिल्यै दिइन्दैन। ‘आन्दोलनमा उनकाे पतिकाे ज्यान गयाे वा आन्दोलनले उनकाे पतिकाे बलिदानी लियाे’ भनेर नै उनले आफ्नाे चित्त बुझाउनुपर्ने हुन्छ। त्यसपछि अनुराधाका दु:खका दिनहरु सुरु हुन्छन्। सानी छाेरीलाई पालनपोषण गर्ने, पढाउने-लेखाउने जिम्मेवारी उनकाे काँधमाथि आइपर्छ। तर आम्दानीकाे दरिलाे स्राेत हुदैन।

अनुराधाकाे पति सुरुमै मारिन्छन् (अर्थात् सुरुमै व्यक्तिहत्यालाई देखाइन्छ) तर फिल्म उनकाे मारिएकाे पतिमाथि केन्द्रित हुँदैन, बरु उनकाे परिवारमाथि केन्द्रित हुन्छ। अनुराधामाथि केन्द्रित हुन्छ, पतिकाे हत्यापछिकाे उनकाे जीवनकाे अवस्था र सँघर्षहरुमाथि केन्द्रित हुन्छ, उनले झेल्नुपरेका, भाेग्नुपरेका दु:खकष्टहरुमाथि केन्द्रित हुन्छ। यसबाट स्पष्ट हुन्छ, याे फिल्मकाे उद्देश्य व्यक्तिहत्यालाई देखाउनु हाेइन, बरु व्यक्तिहत्याले उत्पन्न गरेकाे विपत्ति वा सकसपूर्ण परिस्थितिलाई देखाउनु हाे। त्यसमाथि प्रकाश पार्नु हाे।

यस फिल्म वा कथाकाे दाेस्राे प्रमुख पात्र हुन्, रँजित। जाे एक शिक्षित बेराेजगार हुन् र त्यस अराजक आन्दोलनमा सामेल छन् जसकाे तार व्यक्तिहत्यासँग जाेडिएकाे छ। स्वयं रँजितकाे तार व्यक्तिहत्यासँग जाेडिएकाे छ। ऊ यस जघन्य अपराधमा सामेल छ। अनुराधाकाे पतिकाे हत्या उनीहरुले नै गरेका थिए। त रँजितलाई आफुहरुले उसकाे हत्या किन गरेका थियाैं, थाहा छैन। उसकाे हत्या गर्नुपर्ने कारण के थियाे? त्याे पनि थाहा छैन। उनीहरु केवल माथिकाे, आफ्नाे नेतृत्वकाे आदेशकाे पालना गरिरहेका थिए तर माथि रहेकाे नेतृत्वले चै त्याे आदेश किन दिएकाे थियाे, के का लागि, कुन उद्देश्य प्राप्तिकाे खातिर दिएकाे थियाे, उनीहरुलाई थाहा थिएन। केवल केही रुपैयाँकाे लागि उसले प्राेफेसरकाे वा कुनै निर्दाेष व्यक्तिकाे हत्या गरेकाे देखिन्छ। जसकाे आन्दोलनसँग कुनै लेनादेना नै थिएन। बेरोजगारीले उसलाई याे हदसम्म पुर्‍याइदिएकाे थियाे।

यस फिल्मले जतिनकाे माध्यमबाट देखाउँछ कि यस्ता आन्दोलनमा विद्राेह वा क्रान्तिकाे नाममा मान्छे मार्दै हिँड्ने अल्लारेहरु राजनीतिक रुपमा प्रशिक्षित थिएनन्। उनीहरु दिगभ्रमित थिए, गुमराह भएका थिए। उनीहरुलाई म के गर्दैछु र किन गर्दैछु भन्ने कुरा नै राम्राेसँग थाहा थिएन। उनीहरुलाई राम्रोसँग क्रान्ति वा आन्दोलनबारे ज्ञान नै थिएन। केवल लहडमा, आवेगमा, जाेशमा, काेरा दिमाग लिएर यन्त्र मानव जसरी उनीहरु व्यक्तिहत्या लगायतका क्रियाकलापहरु गर्नका लागि परिचालित थिए। र याे कुनै झुटाे कुरा पनि थिएन/हाेइन। के नेपालकाे माओवादी आन्दोलनमा यस्ताे दृष्य देखिएकाे थिएन र? भारतकाे नक्सली वा माओवादी आन्दोलन, पँजाबकाे खालिस्तान विद्राेहदेखि श्रीलंकाकाे लिट्टेहरुकाे विद्राेहसम्ममा याे प्रवृत्ति देखिएकाे हाेइन र? भारतकाे क्रान्तिकारी आन्दोलन अन्तत: व्यक्ति हत्यामा गएर साँघुरिएकाे र आफ्नाे राजनीतिक औचित्य नै गुमाएकाे सत्यतर्फ यस फिल्मले सँकेत गर्छ।

यस फिल्म वा कथाकाे तेस्राे प्रमुख पात्र हुन्, पुलिस कमिशनर। उसले कथामा राज्य (state) वा सरकारकाे प्रतिनिधित्व गर्छ। उसले त्याे फेल्ड स्टेटकाे प्रतिनिधित्व गर्छ जाे न त निर्दाेष व्यक्तिहरुलाई मार्ने अपराधीहरुलाई पक्राऊ गरेर सजाँय दिलाउन सक्छ, न त व्यक्तिहत्याकाे सिकार भएका व्यक्तिहरुकाे परिवारलाई न्याय दिन सक्छ, न त उनीहरुकाे समस्यालाई सम्बाेधन नै गर्न सक्छ। यस्ताे फेल्ड पुलिस फाेर्सकाे प्रतिनिधित्व गर्दछ जाे आफ्नैमा असहाय छ। लाचार छ। अपराधीहरुलाई केही गर्न सक्दैन। ऊ रन्जितलाई गिरफ्तार गर्छ र कठाेर यातना दिन्छ, तर उसकाे मुखबाट सत्य ओकाल्न सक्दैन। बीचमा ऊ माथि माथिबाट यति दबाव पर्छ कि दाेषी हाे भन्ने जान्दाजान्दै पनि ऊ रँजितलाई छाेड्न बाध्य हुन्छ।

माथिका नेतालाई पनि अज्ञात व्यक्तिहरुबाट दबाव परेकाे हुन्छ। माथिकाे दबाव तल जान्छ, तलकाे दबाव झन् तल। हाम्राे राज्य यही दबावकाे चक्रअनुसार चलिरहन्छ। यहाँ यही दबावचक्र चलिरहन्छ। यस क्रममा न्याय पूरै दबिन्छ अनि नराम्राे सँगले दबिन्छ। तर याे दबावचक्रले न्यायलाई दबाइरहेकाे कुराकाे हेक्का भने दबाउने चक्रमा सामेल भइरहेका कसैलाई पनि हुँदैन। याे दबावचक्रले पुलिस कमिशनरकाे समेत हात बाँधिदिन्छ। ऊ आफै न्यायकाे आशा लिएर ऊ कहाँ धाइरहेकी विधवा महिला अनुराधालाई भन्छ, ‘याे पुलिसकहाँ धाउने काम छाेडिदिनुहाेस्। यसबाट कुनै फाइदा छैन। यहाँ केही हुनेवाला छैन। बरु जे जति बचेखुचेकाे छ, त्यसलाई समेटेर नयाँ जीवन सुरु गर्नुहाेस्।’ याे दृष्यले राज्यकाे हुतिहारापनबारे सबथाेक बताउँछ। अर्काे एक दृष्यमा कमिशनर रँजितलाई भन्छ, ‘तँ अपराधी हाेस्, तैँले हत्या गरेकाे छस् भन्ने मलाई राम्राेसँग थाहा छ। तर खै मैले तेराे के बिगार्न सके? तेराे राैं पनि हल्लाउन सकिन मैले।’ यसले पनि पुलिस फाेर्सकाे सत्यलाई बक्छ।

‘कालसन्ध्या’

अरविन्दले अब अपराधकाे लाइनलाई छाेडिसकेकाे हुन्छ। ऊ अब गाउँमा सामान्य जीवन जिइरहेकाे छ। पुलिस कमिशनरले उसलाई सहरमा अनुराधाकाे घरमा भाडामा बस्न भन्छ ताकि ऊ एक्ली अनुराधाकाे काम आउन सकाेस्। यसाे गरेर कमिश्नर अनुराधामाथि न्याय गर्न नसकेकाे आफ्नो कमजाेरी वा पापकाे पापमाेचन गरिरहेकाे हुन्छ सायद, अनुराधालाई एउटा आड वा सहयोगी उपलब्ध गराएर।

उता अनुराधा आर्थिक अभावमा बाँचिरहेकी हुन्छिन्। सरकारले क्षतिपूर्तिकाे रुपमा दिने भनेकाे सरकारी जागिर पनि उनले लामाे समयसम्म पाउँदिनन्। बल्लतल्ल एउटा अफिसमा उनकाे लागि ‘भ्याकेन्सी क्रिएट’ गरिन्छ तर त्यहाँ पनि अफिसका पुरुष कर्मचारीहरुले उनलाई दुर्व्यवहार गरेर (शारीरिक र मानसिक यातना दिएर) चैनले बस्न दिदैन। उनलाई सताइरहन्छन्। उनीहरु दिनहुँ आफ्नाे आँखाबाट उनकाे एक्सरे निकाल्छन्। उनले उनीहरुकाे आँखाबाट दिनहुँ बलात्कृत हुनुपर्छ। अनुराधा याे सबै कुरा झेलेर पनि अफिसमा काम गरिरहन्छिन्। किनभने, उनीसामु अर्काे विकल्प पनि त हुँदैन।

यस प्रसँगबाट फिल्मले पति गुमाएकाे एकल महिलालाई याे पुरुषप्रधान-स्त्रीद्धेषी समाजमा बाँच्न कति गाह्राे हुन्छ, याैनपिपाशुहरुकाे बीचमा बसेर काम गर्नु कति गाह्राे हुन्छ, उनले पाइला-पाइलामा के-कस्ता अफ्ठ्याराहरुकाे सामना गर्नुपर्छ, के कस्ता शारीरिक-मानसिक दुर्व्यवहार तथा यातनाहरु झेल्नुपर्छ, ती कुराहरुमाथि पनि प्रकाश पार्छ। जसलाई हामीले अनुराधा समान अनुभूति गर्न सके यस्ताे अमानवीय परिस्थिति उत्पन्न हुन नसक्ने वस्तुगत अवस्था निर्माण हुन सक्छ। समाज धेरथाेर सुध्रिन सक्छ। (फिल्मले त्यस्ताे त्रासदीपूर्ण अवस्थामा बाँचिरहेकी अनुराधा र उनकाे बच्चीकाे मनाेदशाकाे चित्रण समेत गरेकाे छ।)

जतिनले याे कुरा बुझिसकेकाे छ। अनुराधासँगै उनकाे घरमा बसेर, उनकाे दु:खकष्टलाई नजिकबाट हेरेर, उनले झेलिरहेकाे प्रताडनाहरुलाई नजिकबाट नियालेर उनले अनुराधाकाे दु:खलाई महसुस गरेकाे छ। त्यसैले त एकदिन जब अनुराधा बाहिर वा अफिसमा आफुमाथि घटित भइरहेको दुर्व्यवहारबाट आजित भएर घरमा आइ जतिनमाथि बिस्फाेट हुन्छिन्। तब, जतिन उनलाई साेध्छ, ‘काे हाे तिनीहरु तपाईंलाई दु:ख दिने? मलाई चिनाइदिनुहाेस्।’ अनुराधा भन्छिन्, ‘मैले ती मान्छेहरुलाई चिनाइदिए नै भने पनि तिमी के गर्छाैं?’ जतिन भन्छ, ‘म तिनीहरुलाई ठीक पार्छु।’ उसकाे जवाफ सुनेर अनुराधा भन्छे, ‘कतिजनालाई ठीक पार्छाैं तिमी? सबैलाई ठीक पार्न सक्छौँ?’

जतिन अब अनुराधाकाे दु:खपीडासँग पूर्ण रुपमा एकाकार हुन्छ। ऊ अनुराधालाई दिदी भन्छ। अब ऊ अनुराधाकाे पीडालाई महसुस गर्न सक्छ। अनुराधाकाे भाेगाईलाई अनुभूत गर्न सक्छ। अनुभूति मात्र हाेइन, समानुभूति गर्न सक्छ। त्यसैले त उनलाई अब आफुले अनुराधा दिदीकाे हाँसिरहेकाे, खेलिरहेकाे परिवारलाई उजाडेकाेमा भित्रैदेखि पीडाबाेध हुन्छ, अपराधबाेध हुन्छ। पलपल ऊ अपराधबाेधमा जलिरहेकाे हुन्छ। पश्चताप गरिरहेकाे हुन्छ।

अनि एकदिन अनुराधा जतिनलाई भन्छिन्, उनकाे पतिकाे हत्या किन गरियाे, उनलाई अहिलेसम्म थाहा छैन। उनको पतिलाई किन मारिएकाे हाे? उनलाई आजसम्म भनिएन। उनी प्रश्न गर्छिन् कि उनकाे पतिकाे हत्याले देश वा क्रान्तिलाई के फाइदा भयाे त? यदि साँच्चै फाइदा भएकाे हाे भने त्यसकाे केही हिस्सा उनले पनि पाउनुपर्ने हाे कि हाेइन?’

आज यही प्रश्न भारत, नेपाल, बंगलादेश, श्रीलंका र अरु पनि अनगिन्ती देशका अनगिन्ती पीडितहरुले गरिरहेका छन् जसकाे प्रियजन वा परिवारका सदस्यहरुलाई आन्दोलन वा क्रान्तिकाे नाममा हत्या गरियाे। अनुराधाले जतिनलाई साेधे जस्तै उनीहरु पनि साेधिरहेका छन्, ‘खै हाम्राे प्रियजनकाे बलिदानकाे बदलामा हामीले के पायाै त? उसकाे बलिदान समाजमा उज्यालो ल्याउनका लागि थियाे त्याे उज्यालोकाे एकाध अंश हाम्राे भागमा पनि पर्नुपर्ने हाे कि हाेइन?’

नेपालमा पनि बर्षाैदेखि कहिले घनिभूत रुपमा त कहिले सुसुप्त रुपमा याे प्रश्न उठिरहेकै छ। तर जवाफ दिने स्थानमा भएका नेतृत्वहरु चुप छन्। कार्यकर्ताहरु चुप छन्। अथवा उनीहरु कागजी उपलब्धि गिनाएर आफ्नाे अनुहार जाेगाउने कपट गर्दैछन्। व्यक्तिहत्या गर्ने आन्दोलनका कार्यकर्ताहरुलाई कति याे प्रश्नले उद्धेलित बनाएकाे छ? कति चिन्तित बनाएकाे छ? कतिले याे प्रश्नकाे उत्तर खाेज्ने जमर्काे गरेका छन्, समाजलाई थाहा छैन।

त यहाँ जतिन भने त्याे प्रश्नकाे उत्तर खाेज्न निस्कन्छ। जसले उसलाई लामाे समयदेखि उद्देलित गरिरहेकाे हुन्छ। उसकाे नीँदचैन सबथाेक खाेसेकाे हुन्छ। ‘आखिर उनीहरुले अनुराधा दिदीकाे पतिकाे हत्या किन गरेका थिए?’ पतिकाे हत्यापश्चात् अनुराधाकाे खराब हालत देखेपछि ऊ यसकाे उत्तर खाेज्न निस्कन्छ, ‘आखिर उसकाे हत्या किन गरियाे? किन उनीहरुलाई उनकाे पतिकाे हत्या गर्न लगाइयाे?’

अरविन्द उतिबेलाकाे आफ्नाे गिराेहकाे सदस्यहरुलाई खाेज्दै हिँड्छ र उनीहरुबाट यसकाे उत्तर जान्ने प्रयास गर्छ। उसले ज-जसलाई भेट्छ, उनीहरुले उसलाई अर्काे व्यक्तितिर देखाउँछ। भन्छ, ‘आदेश दिने त फलाना थियाे, हामीले त उसकाे आदेशकाे पालना मात्र गरेका थियाैं।’ तर अरविन्द राेकिन्दैन। अरविन्दलाई यसकाे उत्तर कुनै पनि हालतमा जान्नु छ। उसकाे मानसिक शान्तिकाे लागि पनि उसलाई यसकाे उत्तर जान्नु जरुरी भएकाे छ। अरविन्द यसकाे उत्तर खाेज्न धेरै टाढासम्म पुग्छ तर उसले यसकाे उत्तर भेट्दैन, बरु उत्तरकाे साटाे मृत्यु भेट्छ। उसलाई सधैकाे लागि शान्त पारिन्छ। तर उसकाे प्रश्न भने अनुत्तरित नै रहन्छ, त्यसरी नै जसरी आज नेपालमा याे प्रश्न अनुत्तरित छ। भारत, बंगलादेश र श्रीलंकामा अनुत्तरित छ। अनि थाहा छैन कति देशहरुमा अनुत्तरित छ। जहाँ जहाँ आन्दोलन, हिंसा-रक्तपात र बलिदानी भएकाे छ, त्यहाँ त्यहाँ अझै पनि याे प्रश्न अनुत्तरित नै छ।

‘क्रान्तिकाे नाममा गरिएका व्यक्तिहत्याले त्यसबाट पीडित व्यक्तिहरुकाे जीवनबाहेक अरु के बदल्याे त?’ याे फिल्मले उठाएकाे यक्ष प्रश्न यही हाे जुन याे फिल्ममा अनुराधा उठाउँछिन्। याे प्रश्नकाे उत्तर जतिनले जस्तै आज ती सबैले खाेज्नुपर्ने भएकाे छ जाे जतिन जस्तै त्यसबेला आन्दोलनमा सामेल भएका थिए। शिक्षित बेरोजगार आन्दोलन र व्यक्तिहत्यामा लाग्ने गरेकाे कुरा त यसमा देखाइएकाे छ नै। राज्यसँयन्त्र वा राज्यकाे सुरक्षासँयन्त्रकाे निकम्मपन र अक्षमता पनि यसमा राम्रैसँग उजागर भएकाे छ। राज्य पीडितहरुलाई न्याय दिन मूलत: विफल भएकाे देखाइएकाे छ जुन प्रायः सबै राज्यहरुकाे हकमा सत्य हाे। पूरै फिल्मभरि व्यक्तिहत्याबाट सिर्जित त्रासदीलाई महसुस गर्न सकिन्छ। एकवाक्यमा भन्दा, फिल्मले क्रान्तिकाे आवरणमा गरिने व्यक्तिहत्याकाे औचित्यहिनता वा निरर्थकतालाई दर्शाउँछ।

याे फिल्मकाे शीर्षक रहेकाे छ ‘कालसन्ध्या’। काल+सन्ध्या= कालसन्ध्या। कालकाे अर्थ मृत्यु र सन्ध्याकाे अर्थ साँझ वा अँध्याराे हुन्छ। यस फिल्मकाे केन्द्रीय पात्र अनुराधाकाे जीवनमा कालसन्ध्याकाे छायां परेकाे छ। फिल्मकाे अन्त्यमा नदीमा बेवारिस भएर लडिरहेको जतिनकाे लास र उता घरमा जतिनकाे प्रतीक्षा गरेर बसिरहेका अनुराधा र जतिनकाे पत्नीकाे अँध्याराे अनुहार अनि सन्ध्याकाे अँध्यारो समयले साँच्चै नै यसकाे शीर्षकलाई सार्थक बनाउँछ। दर्शकहरुकाे मनलाई चिसाे र एकतमासकाे बनाइदिन्छ। फिल्ममा क्रान्ति र क्रान्तिकारी सँगठनकाे नाम लिइएकाे छैन तर यसले भन्न खाेजेकाे कुरा प्रष्ट छ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID