“कृषिमा अनुदान र प्रोत्साहनका कार्यक्रम ल्याएका छौं” – कृषि मन्त्री पन्थी

गणतन्त्र नेपाल समाचारदाता

देउखुरी,२३ असार ।दाङको लमहीमा सोमबार आयोजित अन्तरक्रिया कार्यक्रममा लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले प्रदेश सरकारले कृषिमा अनुदान र प्रोत्साहनका विविध कार्यक्रम ल्याएको बताउनु भएको छ।

“किसानलाई आत्मनिर्भर बनाउने र आम्दानीको बाटो खोल्ने उद्देश्यले विशेष कार्यक्रम सञ्चालन भइरहेका छन्,” मन्त्री पन्थीले बताउनुभयो।

लुम्बिनी प्रदेशको कृषि मन्त्रालय र सञ्चारिका समूह लुम्बिनी प्रदेशको सहकार्यमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पन्थीले पछिल्लो समय उत्पादनमा आएको गिरावटप्रति चिन्ता व्यक्त गर्दै कृषिमा देखिएका समस्या समाधान गर्न मन्त्रालय प्रतिवद्ध रहेको बताउनुभयो।

“खेतबारीमा उत्पादन घट्दै गएको अवस्थामा पत्रकारले जनताको आवाज बुलन्द पार्नुपर्ने आवश्यकता छ,” मन्त्री पन्थीले जोड दिनुभयो। उहाँले थोरै किसानले कृषि पेशाबाट राम्रो आम्दानी गर्न सफल भएको उल्लेख गर्दै राज्यको तर्फबाट राम्रो कामलाई प्रोत्साहन र असफल कामलाई निरुत्साहित गरिने बताउनुभयो।

“हामी स्रोत र साधनको अभावका बाबजुद पनि राम्रा कार्यक्रमहरूको निरन्तरतामा केन्द्रित छौं,” मन्त्री पन्थीको भनाइ थियो। साथै, माटोको उपचार सम्बन्धी कार्यक्रम सुरु गरिएको जानकारी पनि दिनुभयो।

सञ्चारकर्मीहरूलाई सम्बोधन गर्दै मन्त्री पन्थीले भन्नु भयो, “कृषिमा भएका कामबारे खोज गरौँ, सुझाव दिऊँ  मन्त्रालय सुधारका लागि तयार छ।”

कार्यक्रम कृषि मन्त्रालयका सचिव यमनारायण देवकोटाको अध्यक्षता तथा मन्त्री पन्थीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा सञ्चारिका समूह लुम्बिनी प्रदेशकी अध्यक्ष अमृता अनमोलले विषय प्रवेश गराउनु भएको थियो।।

त्यस अवसरमा बाली संरक्षण महाशाखाका निर्देशक घनश्याम चौधरीले लुम्बिनी प्रदेशको कृषि क्षेत्रको वर्तमान अवस्था, चालू आर्थिक वर्षको उपलब्धि र आगामी वर्षको योजना विषयमा जानकारी दिनु भएको थियो।

कार्यक्रम सञ्चालन सञ्चारिका समूह लुम्बिनी प्रदेशकी कार्यक्रम संयोजक उषाकिरण पन्थले गर्नु भएको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID