गुल्मीको धुर्कोटबाट गढवा पुग्यो अध्ययन टोली, ५ नं. वडाको विकास योजनाको मोडेल अवलोकन

आलोक भावुक

गढवा, २३ जेठ। गढवा गाउँपालिकामा सञ्चालन भएका विकास योजनाका मोडेलहरू अवलोकन गर्न गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका–३ बाट जनप्रतिनिधि, कर्मचारी तथा टोल विकास संस्थाका अगुवाहरूको टोली शुक्रवार गढवा आएको छ।

गढवा गाउँपालिका वडा नम्बर ५ मा आयोजित कार्यक्रममा टोलीले स्थलगत अध्ययन, अन्तरक्रिया र दोहोरो संवादमार्फत टोल विकास संस्थामार्फत संचालन भएका कामबारे जानकारी लिएको हो।

कार्यक्रममा गढवा गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष लेखबहादुर थापाले भन्नुभयो: “स्थानीय सरकार सञ्चालन ऐनअनुसार टोल विकास संस्थाहरू गठन र परिचालन गर्दा विकास निर्माणदेखि जनसहभागिता, पारदर्शिता र कार्यसम्पादनमा सहजता आएको छ। बजेटको सिलिङ प्राप्त भएपछि हामी टोल विकास संस्थालाई जिम्मेवारी सुम्पन्छौं। वडा सदस्यहरूमार्फत क्लष्टर विभाजन गरी टोलभेलामार्फत योजनाको छनोट, उपभोक्ता समिति गठन र काम सम्पन्न प्रक्रियासमेत विवादरहित रूपमा सम्पन्न हुँदै आएका छन्।”

उहाँका अनुसार विकास योजनाका सबै चरणहरू— योजना छनोट, कार्यान्वयन, अनुगमन र सुपरीवेक्षणसम्म—नमूना योग्य ढंगले पूरा गर्न सकिएको छ। भौतिक संरचना मात्र होइन, सामाजिक र मानव विकासमा समेत टोल विकास संस्थाहरूको भूमिका महत्त्वपूर्ण रहेको उहाँले बताउनुभयो।

कार्यक्रममा धुर्कोट गाउँपालिका–३ का वडा सचिव नारायण पन्थीले आफ्नो वडामा टोल विकास संस्थामार्फत सञ्चालन भएका कामहरूको अनुभव र धुर्कोटको भौगोलिक तथा पर्यटकीय परिचय प्रस्तुत गर्नुभयो।

कार्यक्रमको अध्यक्षता वडा नम्बर ५ का अध्यक्ष लेखबहादुर थापाले गर्नुभएको थियो भने धुर्कोट गाउँपालिका–३ का वडाध्यक्ष चक्र सुन्दर घर्तीमगर प्रमुख अतिथि रहनुभएको थियो।

टोल विकास संस्था अध्यक्ष गीता बुढा मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम वडा सचिव राम नरेश यादवले सञ्चालन गर्नुभएको थियो।

टोलीले गढवा गाउँपालिकाको प्रशासकीय भवन, विभिन्न योजनाको कार्यसम्पादन प्रक्रिया र वडामा टोल विकास संस्थामार्फत सम्पन्न भएका संरचनात्मक तथा सामाजिक विकास कार्यक्रमहरूको अवलोकन गरेको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID