लालमटिया महोत्सवमा गायक बद्री पंगेनीले बुढी आमाहरुलाई धुरुक्कै रुवाए

ओमप्रकाश गुप्ता

भालुवाङ ३ माघ । दाङ देउखुरीको राप्ती गाउँपालिका–२, लालमटिया टुडिखेलमा जारी छैंठौ राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सवमा बुधबार बुढाबुढीहरु रुन थालेपछि महोत्सव स्थल नै स्तब्ध बन्न पुग्यो ।

महोत्सवमा बहुचर्चित लोकदोहोरी तथा जनगायक बद्री पंगेनीले गीत गाउँदै गर्दा महोत्सवस्थल पुरै स्तब्ध मात्र बनेन पुरै महोत्सवमा सहभागी कोही सुक्क सुक्क रुदै थिए भने कोही आँसु पुछ्दै थिए । महोत्सवको सातौ दिन गायक पंगेनी मञ्चमा प्रवेश गरे संगै “बाध्य भइयो परदेशमा छिर्न, मैले पढ्दा लाएको ऋण तिर्न, आमा बिदा पाउँदिन अहिलेको सालमा पनि घरमा आउँदिन” भन्ने बोलको गीत गाउन शुरू गरे लगत्तै पुरै महोत्सव स्थल स्तब्ध भएको थियो ।

गायक पङ्गेनीको गीतमा मेला हेर्न आएका अधिकांश वृद्धा आमाहरु र युवा युवतीहरु भावुक बने । पाको उमेरका दर्शक विशेष गरी महिला दर्शक भावुक भए पनि युवा पुस्ता भने उनको फोटो खिच्न र भिडियो कैद गर्न व्यस्त भए । दर्शकहरु भावुक भएको देखेर पंगेनी मञ्चबाट दर्शकदीर्घामा पुगे र आमाहरुको माझमा गएर गीत गाउन थाले ।

मेलामा मनोरञ्जनका लागि आएका दर्शकहरुलाई पंगेनीको गीतले केहीबेर भावुक बनायो । गायक पङ्गेनीले गीत गाउँदै आमाहरूको आर्शिवाद लिएर विदेशीएका छोराहरुको कथाव्यथालाई गीतमा प्रस्तुत गरिरहँदा आमाहरुले त आँशु बरबरी झारिरहेका थिए । शुरूवाती मै गायक पङ्गेनीले नेपाली युवाले विदेशीभूमिमा भोगेको पिडादायिक गीत गाउँदा सिङ्गो महोत्सव नै स्तब्ध बन्न पुग्यो । त्यसपछि भने गायक पङ्गेनीले महोत्सवलाई रोदनबाट रमाईलो तर्फ बद्ले अनि उनले दर्शक माझमै गएर पानी सलल, पानी चलेन, कान्छी ओइ कान्छी, रातो पछयौरी, ससुरालीमा लगायतका मनोरञ्जनात्मक गीत समेत प्रस्तुत गरेका थिए । ती गीतमा भने युवायुवतीहरूले महोत्सवस्थल नै धुलाम्मे हुने गरी हुटिङ्ग गर्दै छमछमी नाचे ।

त्यस्तै आर्का चर्चित गायक चन्द्र शर्माले धानको चामल धानको चिउरा, बाच्छिले धान खायो, उखु गुलियो, हेर सानु र टप्पा लगायतका गीत गाएर दर्शकहरुलाई भरपुर मनोरन्जन दिएका थिए । भने कुशल कार्यक्रम सञ्चालिका तथा गायिका सर्मिला अर्यालले पनि बीच बीचमा आफ्ना सांगेतीक प्रस्तुती मार्फत दर्शकहरुलाई मनोरञ्जन दिएकी थिइन् । त्यस्तै स्थानीय न्यू डान्स क्रियशनका कलाकारहरुले पनि आ–आफ्नो प्रस्तुती मार्फत दर्शकहरुलाई भरपुर्ण मनोरञ्जन दिएका थिए । यसैगरी महोत्सवमा माघ ४ गते चर्चित लोक दोहोरी गायिका ज्योती मगर, गायिकाहरु क्ृष्ण बस्नेत, सम्झना रणपाल र गायिका तथा कार्यक्रम सञ्चालिका शर्मिला अर्याल लगायतका कलाकारहरुको प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ ।

महोत्सव अवधिभर करिब ४ लाख दर्शकले महोत्सवको अवलोकन गर्ने र ७ करोड बराबरको कारोवार हुने अनुमान रहेको महोत्सव संयोजक सुरज खड्काले जानकारी दिएका छन् । स्थानीय उत्पादित वस्तुहरुको बजारीकरण गर्नुको साथै उत्पादनमा बृद्धि गरी आर्थिक पक्ष सवल गराउने महोत्सवको उदेश्य रहेको छ । संघको भवन निर्माण तथा विपत व्यवस्थापन कोष बनाउने मुख्य लक्ष्य सहित महोत्सव सञ्चालन गर्न लागेको संयोजक खड्काले बताए । महोत्सवले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकका भित्र रहेका अपार सम्भावना रहेका र अवसरको खोजी रहेका पर्यटकीय क्षेत्रको विकास र प्रवद्धना थप टेवा पुग्ने आयोजकको दावी रहेको छ । महोत्सवमा यस क्षेत्रको पर्यटन तथा कृषि समेतको विकास र विस्तार गर्नका लागि स्थानीय स्तरमा उत्पादित कृषि, हस्तकला प्रर्दशनी, चर्के पिङ, बाल उद्यान रहेका छन् ।

महोत्सव अवधीभर सर्वसाधारणका लागि प्रवेश शुल्क प्रति व्यक्ति ९० रुपैया, विद्यार्थीका लागि परिचय—पत्रका आधारमा ७० रुपैयाँ र जेष्ठ नागरिक तथा अपाङगतालाई परिचय—पत्रका आधारमा निशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जानकारी दिएको छ । महोत्सव अवधीभर न्यु डान्स क्रेशनको साथै ख्याती प्राप्त राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको प्रस्तुती रहेको छ ।

मा प्रकाशित