दुर्घटनास्थलमा रहेकाे प्रहरी भन्छ–शवबाट मानिसको पहिचान गर्न सकिन्छ

१२ शव संकलन, दुई शव जहाजमुनि थिचिएको अवस्थामा 

गणतन्त्रनेपाल समाचारदाता, काठमाडौं

तारा एयरको जहाज दुर्घटनास्थलबाट शव संकलनकार्य जारी छ । घटनास्थलमा नेपाली सेना र प्रहरीको टोली पुगेको छ । आज बिहान मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ स्थित पटकेलेक, सानोसोरा भन्ने ठाउँमा क्षतविक्षत अवस्थामा जहाज भेटिएको हो ।

घटनास्थलमा रहेका प्रहरीका अनुसार १२ जनाको शव संकलन भएको छ । शव पहिचान हुन सक्ने अवस्थामा छन् । घटनास्थलमा रहेका प्रहरीको भनाइ उदृत गर्दै प्रहरी उच्च स्रोतले भन्यो, “संकलन भएका शवहरू पहिचान हुने प्रकृतिका छन् । दुई शव जहाजले किचेको देखिन्छ । जहाजको ठूलो भाग भीरमा रहेकाले शव संकलनमा कठिनाइ छ । अरू शव पनि जहाजमुनि दबिएका हुनसक्छन् ।”

घटनास्थलमा सेनाको ठूलो हेलिकोप्टर अवतरण गर्न सकेको छैन । मौसम प्रतिकूलता भएकाले सर्च अपरेसनमा केही कठिनाइ भइरहेको छ । घटनास्थलमा मुचुल्का संकलन गर्ने टोली पनि पुग्न सकेको छैन । पैदलमार्गबाट सेना, प्रहरी र सशस्त्र प्रहरीको थप टोली घटनास्थलतर्फ गइरहेको छ ।

आइतबार बिहान पोखराबाट ९ः५५ बजे जोमसोमका लागि उडेको उक्त ९ एनएईटी विमान विहान १०ः०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्कविच्छेद भएको थियो । विमानमा चालक दलका तीनसहित २२ जना सवार थिए ।

 

मा प्रकाशित