अक्टोबर क्रान्तिपछि जनताको नाममा क. लेनिनको पहिलो सम्बोधन

भि.आई. लेनिन

मजदुर साथीहरू, सैनिकहरू, किसानहरू, तमाम श्रमिकहरू !

पेत्रोग्रादमा मजदुर एवं किसानहरूको क्रान्ति अन्तिम रुपले विजयी भएको छ । केरेन्स्कीद्वारा ठगिएका कजाकहरूको नगण्य संख्यामध्ये बचेखुचेको अन्तिमांश समेत तितरबितर पारिएका छन् र गिरफ्तार गरिएका छन् । मस्कोमा पनि क्रान्तिले विजय प्राप्त गरेको छ । पेत्रोग्रादबाट पठाइएका सशस्त्र सेनाहरूसहित केही रेलहरूपुग्नुभन्दा अगावै मस्कोमा युन्केरहरू र अन्य कोर्निलोभको फौजका अफिसरहरूले शान्तिसम्बन्धी प्रस्तावमा हस्ताक्षर गरिसकेका थिए, जसअनुसार युन्केरहरू निरस्त्र गरिएका थिए र सुरक्षा समिति विघटित गरिएको थियो ।

ट्रेन्चमा रहेका अत्यधिक बहुसंख्यक सिपाहीहरू र उयेज्दहरूमा किसानहरूले नयाँ सरकारको साथै शान्तिको सुझाउबारे तथा किसानहरूलाई तुरुन्तै जग्गा प्रदान गर्नेबारेमा उसले जारी गरेका कानूनहरूको समर्थन जनाइरहेका छन् भन्नेबारेमा मोर्चाबाट र गाउँघरबाट दिनहुँ र हरघडी सूचनाहरू प्राप्त भइरहेका छन् । मजदुर तथा किसानहरूको क्रान्तिको विजय अवश्यंभावी छ, किनभने बहुसंख्यक जनता त्यसको पक्षमा खडा भइसकेका छन् ।

भूमिपतिहरू र पुँजीपतिहरू, पुँजीजीवी वर्गसित घनिष्ट रुपले सम्बन्धित भएका उच्च ओहदामा रहेका कर्मचारीहरू र सरकारी पदाधिकारीहरू, छोटकरीमा भन्ने हो भने सारा धनीमानीहरू र धनीहरूबाट मद्दत पाइरहेका मानिसहरू नयाँ क्रान्तिप्रति दुश्मनीपूर्ण व्यवहार गर्दछन्, क्रान्तिको विजयमा प्रतिरोध गर्दछन्, बैङ्कहरूको काम रोक्ने धम्की दिन्छन्, विभिन्न संस्थाहरूको काम बिगार्दछन् अथवा रोक्दछन्, हरेक प्रकारले क्रान्तिलाई बाधा पुर्‍याउँछन्, प्रत्यक्ष वा परोक्ष रुपले क्रान्तिलाई अवरुद्ध गर्दछन् भन्ने कुरा सहजै बुझ्न सकिन्छ । हामीले यस किसिमका प्रतिरोधहरूको अवश्यंभावी रुपले सामना गर्नुपर्ने छ भन्ने कुरा जुनसुकै सचेत मजदुरले राम्रोसित बुझेको थियो । बोल्शेभिकहरूको सम्पूर्ण पार्टी प्रेसले कैयौं पटक यस कुरातर्फ औंल्याएको थियो । श्रमिक वर्गहरूलाई यस प्रतिरोधले एक छिनको निम्ति पनि तर्साउन सक्दैन । उनीहरू पुँजीजीवी वर्गका समर्थकहरूका धम्कीहरू र हड्तालहरूको समक्ष अलिकति पनि डराउँदैनन् ।

सारा धनीमानीहरु र धनीहरुबाट मद्दत पाइरहेका मानिसहरु नयाँ क्रान्तिप्रति दुश्मनीपूर्ण व्यवहार गर्दछन्, क्रान्तिको विजयमा प्रतिरोध गर्दछन्, बैङ्कहरुको काम रोक्ने धम्की दिन्छन्, विभिन्न संस्थाहरुको काम बिगार्दछन् अथवा रोक्दछन्, हरेक प्रकारले क्रान्तिलाई बाधा पुर्याउँछन्, प्रत्यक्ष वा परोक्ष रुपले क्रान्तिलाई अवरुद्ध गर्दछन् ।

बहुसंख्यक जनता हाम्रो पक्षमा छ । समस्त संसारका बहुसंख्यक श्रमिकहरू र पददलितहरू हाम्रो पक्षमा छन् । न्यायको कार्य नै हाम्रो पक्षमा छ । हाम्रो विजय अवश्यंभावी छ ।

पुँजीपतिहरू र ठूल्ठूला ओहदामा रहेका कर्मचारीहरूको प्रतिरोध दबाइने छ । बैङ्कहरू र सिंडिकेटहरूको राष्ट्रियकरणबारे विशेष राजकीय ऐन कानून बिना कुनै पनि मानिसलाई सम्पत्तिबाट बञ्चित गरिने छैन । यो कानून तयार पारिँदै छ । कुनै पनि श्रमिक र कामदारले एक कोपेक पनि गुमाउने छैन । यसको उल्टो, उसलाई सहायता प्रदान गरिने छ । कडा हिसाब–किताब राख्नु र नियन्त्रण गर्नु, अनि पहिले निर्धारित गरिएका करहरूको हिनामिना रहित असूलउपर गर्नु सिवाय सरकारे कुनै पनि अरु कदम चाल्न खोजेको छैन ।

यी न्यायोचित मागहरूको समर्थनमा मजदुर तथा किसानहरूको सरकारको वरिपरि जनताको अत्यधिक बहुमत एकबद्ध भएको थियो ।

श्रमिक साथीहरू !

अब तपाईंहरू आफैं राज्यको संचालन गर्नुहुन्छ भन्ने कुरा याद राख्नोस् । यदि तपाईंहरू स्वयं एकजुट भएर राज्यको सारा कार्यभार आफ्नो हातमा लिनु हुन्न भने अरु कसैले पनि तपाईंहरूलाई मद्दत गर्ने छैन । अब तपाईंहरूकै सोभियतहरू नै राज्यका शासन–अंगहरू हुन्, सर्वाधिकारसम्पन्न र निर्णायक अंगहरू हुन् ।

आफ्ना सोभियतहरूको वरिपरि एकजुट हुनुहोस् ! सोभियतहरूलाई दरिलो तुल्याउनु होस् ! कसैलाई नपर्खिकन आफूले नै काम गर्न थाल्नुहोस् ! कठोर क्रान्तिकारी सुव्यवस्था कायम गर्नुहोस् ! जँड्याहाहरू, बदमासहरू, प्रतिक्रान्तिकारी युन्केरहरू, कोर्निलोभका समर्थकहरू इत्यादिको तर्फबाट हुने अराजकताको प्रयासलाई निर्ममतापूर्वक दमन गर्नुहोस् !

उत्पादनमा र उत्पादित वस्तुहरूको लेखाजोखामा कडा नियन्त्रण कायम गर्नुहोस् । जनताको कार्यमा क्षति पुर्‍याउन खोज्ने जोसुकैलाई पनि गिरफ्तार गरेर जनताको क्रान्तिकारी न्यायालयमा सुम्पिदिनु होस्, चाहे उत्पादनको अन्तध्र्वंस (विनाश, विघ्न वाधा, हानिनोक्सानी) मा अथवा खाद्यान्न र सामग्रीहरूको जगेडा लुकाउने या अन्नका भारीहरू रोक्ने कार्यमा अथवा रेलमार्ग, हुलाक, टेलिग्राफ, टेलिफोनको काम नै ठप गर्ने कुरामा र सामान्यतया शान्तिको महान कार्य, किसानहरूलाई जग्गा दिलाउने कार्य, वस्तुहरूको उत्पादन तथा वितरणमा मजदूरहरूको नियन्त्रण कायम गर्ने कार्यको विरुद्ध लक्षित जुनुसुकै पनि किसिमको प्रतिरोधमा यस्तो क्षतिको अभिव्यक्ति हुन जाओस् !

मजदुर साथीहरू, सैनिकहरू, किसानहरू र तमाम श्रमजीवीहरू !

सारा सत्ता आफ्ना सोभियतहरूमा कायम राख्नुहोस् ! आँखाको नानीलाई जस्तै गरी जग्गा जमिन, खाद्यान्न, कलकारखाना, यन्त्र–औजार, सरसामान, यातायातको बचाउ र सुरक्षा गर्नुहोस् ! यी सबै कुराहरू अब पूर्ण रुपमा तपाईंहरूकै, आम जनताकै सम्पति हुने छ !

बिस्तारै बहुसंख्यक किसानहरूको सहमति र समर्थन प्राप्त गर्दै, किसानहरू र मजदुरहरूको व्यावहारिक अनुभवका निर्देशनहरू अनुसार हामी दृढतापूर्वक र अनवरत रुपले समाजवादको विजयतर्फ लम्कँदै रहनेछौँ । यस विजयलाई अति उन्नत सभ्य मुलुकहरूका प्रगतिशील मजदुरहरूले दरिलो पार्नेछन् र त्यसले जनतालाई अटल शान्ति प्रदान गर्नेछ, हरेक प्रकारको उत्पीडन तथा हरेक प्रकारको शोषणबाट मुक्त तुल्याउने छ ।

५ नोभेम्बर, १९१७, पेत्रोग्राद ।
अध्यक्ष, जन–कमिसार परिषद् 

(अनुवादः कृष्णप्रकाश श्रेष्ठ)

‘लेनिन संकलित रचना खण्ड ३५, पृ. ६५–६७’ मा रहेको रूसी क्रान्तिका महानायक क. लेनिनले अक्टोवर क्रान्तिपश्चात जनताको नाममा गर्नुभएको यो सम्बोधनलाई प्रगति प्रकाशन मस्कोद्वारा प्रकाशित “सोभियत सत्ता के हो ?” शीर्षकको लेनिनका संकलित रचनाहरूको नेपाली अनुवादबाट लिइएको हो – सम्पादक ।

लेफ्टरिभ्यू अनलाइनबाट

 

मा प्रकाशित