देशकाे राजनीति लिकबाहिर पुग्याे: नेता राजेन्द्र लिङ्देन

शिखा पाैडेल, २४ मंसीर

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले देशको राजनीति लिक बाहिर पुगेको बताएका छन् । शुक्रबार काठमाडाैंकाे भृकुटीमण्डपमा आयाेजित उद्घाटन कार्यक्रममा बाेल्दै सरकार सरकारजस्तो, संसद संसदजस्तो र अदालत अदालतजस्तो हुन नसकेको भन्दै अध्यक्ष लिङ्देनले राजनीतिलाई ठिक ठाउँमा ल्याउनुपर्ने नेताहरूले नै जनताकाे विश्वास गुमाइसकेको भन्दै बिग्रँदै गएकाे मुलुककाे राजनीतिप्रति चिन्ता व्यक्त गरे ।

नेपाली काँग्रेसकाे १४ ओैं महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले भने, ‘देशको राजनीति अहिले आम जनताको दृष्टिकोणमा लिकबाट बाहिर गएको देखिन्छ । सरकार सरकार जस्तो छैन । संसद् संसद्जस्तो छैन अदालत अदालत जस्तो छैन । यो सबैलाई ठिक लगाउने राजनीतिले हो ।  तर राजनीतिलाई ठिक ठाउँमा ल्याउने नेताहरूले विश्वास गुमाएको अवस्था छ ।’

जनताको नजरमा नेताहरूप्रति विश्वास हराएको पनि उनले बताए । गाउँमा कुनै नेता जाँदा कार्यकर्ताले सम्मान नगरी कुन चोर आएछ भन्ने अवस्था रहेको उनले टिप्पणी गरे ।  ‘गाउँघरमा नेता लगेर कुनै एक ठाउँ वा चौतारोमा राखेर छिमेकीहरू बोलाउन जाँदा गाउँलेले नेताको नाम सम्झिँदैनन् । कुनचाहिँ चोर आएछ त्यहाँ भन्छन् मान्छेहरूले’, उनले भने । महाधिवेशनलाई नेतृत्वको छवि सुधार्ने अवसरका रूपमा लिन पनि आग्रह गर्दै उनले विगतका गल्ती कमजोरीहरूलाई सुधारेर अघि बढ्नुपर्ने बताए । एक फरक प्रसंगमा चर्चा गर्दै उनले देशमा राजसंस्था जरुरी रहेको बताए ।

‘अब देशका राष्ट्र प्रमुखको रूपमा राजसंस्था, जनताले सोझै निर्वाचित गर्ने प्रधानमन्त्री, पूर्ण समानुपातिक संसद्, सांसदले मन्त्री हुन नपाउने नयाँ व्यवस्था लागु गरेर जाऔँ’, लिङ्देनले भने । उनले काँग्रेसको १४ औँ महाधिवेशनको पूर्ण सफलताको पनि कामना गरे ।

मा प्रकाशित