१९ वर्षीया किशोरी बनिन् काँग्रेस वडा सभापति

शिखा पौडेल/काठमाडाैं, २० भदौ

मुलुकको ठूलो पार्टी नेपाली काँग्रेस महाधिवेशनको चटारोमा छ । काँग्रेसले देशैभर एकैसाथ वडा सम्मेलनहरू गरिरहेको छ ।

यसै सिलसिलामा काँग्रेस वडा सभापतिमा एक जना १९ वर्षीया किशोरी निर्वाचित भएपछि यस विषयलाई लिएर चर्चा परिचर्चा सुरु भएको छ । नयाँ पुस्ता राजनीतिमा आउनु र उचित स्थान दिइनु सकारात्मक भएको भन्दै चर्चा सुरु भएको हो ।

बिहीबार भएको वडा तहको अधिवेशनमा दैलेखको दुल्लु नगरपालिका वडा नम्बर – ३ को वडा सभापतिमा १९ वर्षिया स्वस्तिका महत सर्वसम्मत निर्वाचित भएकी थिइन् ।

कलिलो उमेरमै वडाध्यक्षमा उनी निर्वाचित भएपछि यो विषयले राष्ट्रिय चर्चा पाएको हो ।

राजनीतिमा युवा पुस्ताको सहभागिता हुँदै जानु सकारात्मक भएको भन्दै सामाजिक सञ्जालमा उनको प्रशंसा चुलिएको छ ।

धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले महतलाई बधाईसहितका सकारात्मक कमेन्टहरू लेखिरहेका छन् ।

महतले आफू सभापति निर्वाचित भएपछि बधाइसहितका सकारात्मक प्रतिक्रिया पाएको बताएकी छिन् । राजनीतिक परिवारकी चेली उनमा सानैदेखि राजनीतिमा लाग्ने सोच पलाएको र अहिले जिम्मेवारी पाएपछि उत्साहित भएको उनको भनाइ छ ।

उनका बुबा दैलेख जिल्लाको पार्टी उपसभापति थिए, जसको २०७६ सालमा निधन भएको थियो ।

उनले अन्तरवार्ताहरुमा भनेकी छिन् , ‘बुबा समाज रुपान्तरणका लागि र समाज सुधारको लागि केही काम गर्छु भनेर अगाडि बढ्नुभएको थियो । त्यो पुरा नुहुँदै उहाँको स्वर्गबास भयो । त्यसकारण बुबाको सपना पुरा गर्नका लागि म राजनीतिमा आउन खोजेकी हुँ ।’

उनको यो सफलतालाई लिएर काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, प्रधानमन्त्री पत्नी आरजु राणा समेतले दिल खोलेर प्रशंशा गरेका छन् ।

महत युवा पुस्ता मूलत: युवतीहरुका लागि एक प्रेरणाको पात्र बनेकी छन् ।

मा प्रकाशित