बढ्दाे प्रचण्ड प्रभाव

गणतन्त्रनेपाल संवाददाता, काठमाडाैँ/ १७ भदाै

प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र प्रतिनिधि सभामा तेस्रो ठूलो दल हो । संगठनका हिसाबले पनि माओवादी तेस्रो स्थितिमै देखिन्छ । तर, केन्द्रदेखि देशभरको प्रभावलाई केलाउँदा प्रचण्ड पहिलो नम्बरमा छन् ।

केन्द्र सरकारमा अर्थ र ऊर्जाजस्ता महत्वपूर्ण मन्त्रालय माओवादीका छन् । सरकारमा प्रचण्डको प्रभाव बलियो भएको छ ।

७ प्रदेशमध्ये माओवादी नेतृत्वको सरकार ३ वटा प्रदेशमा छन् । कर्णाली र सुदूरपश्चिम प्रदेशमा प्रचण्डनिकट मुख्यमन्त्रीहरु रहेको साढे तीन वर्ष बितिसकेको छ । दुवै प्रदेशमा माओवादीका मुख्यमन्त्रीहरुले नै पूरा कार्यकाल सरकार चलाउने निश्चितप्रायः बनेको छ । रोचक त यो छ कि दुवै प्रदेशमा माओवादी पहिलो ठूलो दल होइन । तर, सरकार उसकै नेतृत्वमा चलिरहेको छ ।

लुम्बिनी प्रदेशमा एमाले सरकार ढालेर माओवादीका कुलप्रसाद केसी मुख्यमन्त्री बनेका छन् । एमालेको गढ मानिने लुम्बिनीमा माओवादी नेतृत्वको सरकार बनेको छ । लुम्बिनीमा तेस्रो ठूलो दल रहेर पनि माओवादीले सरकारको नेतृत्व लिएको छ ।

गण्डकी र प्रदेश नं २ मा पनि माओवादी गठबन्धन दलका रुपमा सरकारमा सहभागी छ । अब एमाले नेतृत्वको सरकार ढल्ने अवस्थामा रहेको बागमती र प्रदेश नं १ मा पनि माओवादी सरकारमा सहभागी हुने निश्चित छ ।

यसरी प्रचण्डको रणनीतिक चार्तुयताले माओवादी फेरि बलियो शक्ति बनेको छ । नेकपा एमालेसँग एकीकरण भई बनेको नेकपाको अध्यक्ष बन्दा प्रचण्ड यति बलियो थिएनन् जति अहिले छन् । नेकपामा हुँदा दुई प्रदेशमा उनीनिकटहरु मुख्यमन्त्री थिए । अहिले तीनजना भएका छन् ।

केन्द्र सरकारमा प्रचण्डको प्रभाव पहिलेभन्दा बढी बनेको छ । प्रचण्ड नै सत्ता सञ्चालनको अघोषित संयन्त्रको प्रमुखजस्तै छन् ।

माओवादीबाट अग्निप्रसाद सापकोटा सभमुख छन् । त्यो प्रचण्डका लागि मुख्य हतियार बनेको छ । उनले यही अस्त्रबाट राजनीतिक लाभ लिइरहेका छन् । सभामुखले १४ सांसदमाथि एमालेले गरेको निष्काशनको सिफारिश नरोकेको भए एमाले फुट्ने थिएन । प्रचण्डले यसको जस लिन सके ।

सत्ता साझेदार दलको अध्यक्ष भएकाले भविष्यमा हुने राजनीतिक नियुक्तिमा पनि प्रचण्डको भूमिका देखिने निश्चित छ । संवैधानिक परिषदको नियुक्ति अदालतले बदर गरिदिएमा नयाँ प्रक्रियाबाट नियुक्ति हुन सक्छ । त्यति बेला प्रचण्डले राम्रै हिस्सा पाउने योजना बनिसकेको बुझिएको छ । प्रचण्ड जताततै प्रभावशाली हुनेतर्फ बढिरहेका छन् ।

 

मा प्रकाशित