अनुपम श्याम : एक ‘अनुपम’ अभिनेताकाे बिदाइ

कलाकार चर्चा

प्रभाष

अभिनेता अनुपम श्यामकाे ६३ बर्षकाे उमेरमा ‘मल्टिपल अर्गन फेलियर’ का कारण भर्खरै (सोमबार) निधन भएकाे छ। अनुपम श्याम, जाे ‘मन की आवाज़ प्रतिज्ञा, सिजन-२’ मा ठाकुर सज्जन सिँहकाे भूमिका निर्वाह गरिरहेका थिए। मृगाैलासम्बन्धी गम्भीर समस्या देखिएपछि उनलाई अस्पतालको आइसियुमा भर्ना गरिएकाे थियाे। विगत केही दिनदेखि उनलाई भेन्टिलेटरमा राखिएको थियाे तर ‘मल्टिपल अर्गन फेलियर’ का कारण उनी यो धर्तीबाट भौतिक रूपमा सधैंका लागि विदा भएका छन्।

एक बर्ष अगाडि मार्चमा पनि मृगौलासम्बन्धि गम्भीर समस्या देखिएपछि उनलाई अस्पतालमा भर्ना गरिएकाे थियाे। उनकाे भाइले त्यसबेला आर्थिक सहायताका लागि अपिलसमेत गरेका थिए किनभने उनीहरु अस्पतालकाे बिल तिर्न सङ्घर्षरत थिए। उनी रिकभर त भए, तर रिकभर भएपश्चात् पनि उनले नियमित रूपमा डायलेसिस गराउनुपर्थ्याे। जब २०२१ मा ‘मन की आवाज़ प्रतिज्ञा, सिजन-२’ काे लन्च गरियाे, उनी पनि त्यहीँ शाे मार्फत् काममा फर्किए। उनी आफ्नाे शूटिङ सकेर मात्र डायलेसिस गराउन जान्थे, हप्तामा ३ पटक। उनी स्वास्थ्यलाई भन्दा कामलाई पहिलाे प्राथमिकता दिन्थे।

अनुपम श्याम – एक अनुपम अभिनेता

अनुपम श्याम

अनुपम श्याम आफ्नाे नामजस्तै एक अनुपम अभिनेता थिए, अनि श्याम वर्णका थिए। उनी एक ‘प्यासनेट’ एक्टर थिए। अभिनयकाे नाम सुन्नेबित्तिकै उनकाे मुहारमा अनुपम आभा झल्किन्थ्याे। केटाकेटीजस्तै थिए अनुपम। दर्शकहरुबाट आफ्नाे कामका लागि सरहना पाएमा उनी आफ्ना भूमिकाहरुका लागि अझ मेहनत गर्न उद्धत हुन्थे। त्यसैले त आफ्नाे स्वास्थ्यस्थिति ठीक नहुनुकाे बावजूद पनि उनी ‘मन की आवाज़ प्रतिज्ञा, सिजन-२’ मा ठाकुर सज्जन सिँहकाे भूमिका निर्वाह गर्न तयार भए किनभने दर्शकहरुले उनकाे ठाकुर सज्जन सिँहकाे भूमिकालाई औधी मन पराएका थिए। ठाकुर सज्जन सिँहकाे भूमिकाले उनकाे सानाेतिनाे फ्यानबेस नै खडा गरिदिएकाे थियाे। त्यसैले उनी आफ्ना दर्शकहरुलाई, आफ्ना फ्यानहरुलाई निराश पार्न चाहँदैनथे। मलाई लाग्छ, उनकाे यही गुण एक इमानदार कलाकारकाे परिचायक थियाे।

उनले भनेका थिए, ‘ म मृत्युसँग जिन्दगीकाे लडाइँ लडिरहेको थिए, अब म मृत्युकाे मुखबाट फर्किएर आएकाे छु। म अब फेरि यही शाे ‘मन की आवाज़ प्रतिज्ञा, सिजन-२’ बाट दर्शकहरुलाई पुन: इंटरटेन गर्न चाहन्छु।’

थिएटरका निपुण अभिनेता

आफ्नाे थिएटरकाे प्रारम्भिक दिनमा अनुपम श्याम

अनुपम श्याम मूलत: उत्तर प्रदेश प्रतापगढ निवासी थिए। उनकाे जन्म २० सेप्टेम्बर १९५७ मा भएकाे थियाे। सन् १९९३ देखि उनी अभिनयतर्फ लागेका थिए। बलिउडमा धेरैजसाे अफ बिट एक्टर ‘नेशनल स्कुल अफ ड्रामा’ (NSD) बाट आउने गर्छन्, अनुपम पनि मूलत: ‘नेशनल स्कुल अफ ड्रामा’ का उत्पादन थिए तर त्यसअघि उनकाे स्कुलिङ थाेरै फरक थियाे।

उनी लखनऊकाे ‘भरतेन्दु एकेडेमी अफ ड्रामाटिक आर्ट’ बाट ग्रेजुएट थिए। उनी उत्पादन त ‘नेशनल स्कुल अफ ड्रामा’ का थिए तर बिऊ ‘भरतेन्दु एकेडेमी अफ ड्रामाटिक आर्ट, लखनऊ’ का थिए। प्रारम्भिक शिक्षा राज्यकाे इंटरकलेजबाट लिए पश्चात् उनी ‘भरतेन्दु एकेडेमी अफ ड्रामाटिक आर्ट, लखनऊ’ मा भर्ना भएका थिए जहाँ उनले सन् १९८३ देखि सन् १९८५ सम्म अध्ययन गरे। त्यहाँ राज विसारियाकाे डाइरेक्शनमा उनले पाँच बर्षसम्म अभिनयका बान्कीहरु सिके। त्यसपछि, उनले दिल्लीकाे ‘नेशनल स्कुल अफ ड्रामा, रेट्राेरेरी कम्पनी’ मा १० वर्षसम्म काम गरे।

भेट्रान एक्ट्रेस ज़ाेहरा सहगलसहित अन्य थिएटर आर्टिस्टहरुसँग अनुपम श्याम

उनी गाउँबाट आएका थिए। उनीजस्ता गाउँबाट, थिएटर ब्याकग्राउन्डबाट आएका कलाकारहरुका मुंबईमा कुनै ब्याकिङ हुँदैनथे, उनीहरुका काेही गडफादर हुँदैनथ्याे। उनीहरु फ्री लान्सिङ हुन्थे र जे हुन्थ्याे, उनीहरुकाे प्रतिभा र काम नै हुन्थ्याे। यस्ता कलाकारहरुले बंबईमा धेरै मेहनत गर्नुपर्थ्याें। अनुपम श्याम यसका अपवाद थिएनन्। यधपि अभिनयमा निपुण थिए अनुपम श्याम। थिएटरमा मनग्ये काम गरेका थिए उनले। उनीसँग दिल्लीकाे ‘नेशनल स्कुल अफ ड्रामा’ काे रेट्राेरेरी कम्पनीमा १० वर्षसम्म थिएटर गरेकाे अनुभव थियाे। पण्डित सत्यदेव दुबे, इब्राहिम अल्का, डा. जब्बार पटेल, एम. के. रैना, बंशी काैल, भास्कर चन्द्रावरकर, रतन थियान (मणिपूर), बी. बी. कारण, फिट्ज बेनिविड्ज (जसकाे अभिनेता पंकज कपूर समेत रहेका थिए) जस्ता थिएटरका महान् हस्तीहरुसँग उनले पर्याप्त काम गरेका थिए।

थिएटरदेखि फिल्मसम्मकाे यात्रा:-

आफ्नाे पहिलाे फिल्म ‘बैंडिट क्वीन’ मा सीमा विश्वाससँग अनुपम श्याम

अनुपम श्यामकाे पहिलाे प्रेम थिएटर थियाे। उनमा फिल्ममा काम गर्ने साेच थिएन। तर संयाेगवश उनले फिल्ममा काम गर्ने अवसर पाए, शेखर कपूरकाे ‘बेंडिट क्वीन’ (१९९५) र बर्नार्डाे बेर्टाेलुक्चीकाे ‘लिटल बुद्ध’ (१९९३) बाट। ती फिल्महरुमा उनले राेल पाए। त्यसपछि उनले बंबई जाने मन बनाए। ‘म भाग्यमानी थिए कि यहाँ (बंबई) आएपछि भट्ट साहब (महेश भट्ट) काे हात ममाथि रह्याे। उहाँले मलाई राम्रा-राम्रा कामहरु दिनुभयाे र म काम गरिरहेँ। त्यसपछि, मेरा थुप्रै -थुप्रै फिल्म आए। अनि, म बलिउडमा केही हदसम्म चिनिए। अजय देवगनसँग ‘कच्चे धागे’ (१९९९), जगमाेहन मुन्द्राकाे फिल्म ‘बबंड़र’ (२०००), आमिर खानकाे ‘लगान’ (२००१), राज कुमार सन्ताेषीकाे ‘लज्जा’ (२००१), इरफ़ान खानसँगकाे फिल्म ‘वरियर’ (२००१), सुधिर मिश्राकाे ‘हज़ाराें ख़्वाहिशें ऐसी’ (२००५) आदि फिल्महरूमा मैले काम पाए  र काम गर्दै गए।’

महेश भट्टसँग अनुपम श्याम

उनले थुप्रै-थुप्रै फिल्ममा काम गरे। ‘बेंडिट क्वीन’ (१९९५), ‘सरदारी बेगम’ (१९९६), ‘दस्तक’ (१९९६), ‘तमन्ना’ (१९९७), ‘दावा’ (१९९७), ‘हज़ार चाैरासी की माँ’ (१९९८), ‘दिल से’ (१९९८), ‘जख़्म’ (१९९८), ‘संघर्ष’ (१९९९), ‘तक्षक’ (१९९९), ‘लज्जा’ (२००१), ‘नायक-द रियल हिराे’ (२००१), ‘शक्ति-द पावर’ (२००२), ‘पाप’ (२००४), ‘हनन’ (२००४), ‘हज़ाराें ख़्वाहिशें ऐसी’ (२००५), ‘मंगल पाण्डे-द राइजिङ’ (२००५), ‘परज़ानिया’ (२००५), ‘धाेखा’ (२००७), ‘हल्ला बाेल’ (२००८), ‘राज़-द मिस्ट्री कन्टिन्युस’ (२००९), ‘वेल डन अब्बा’ (२००९), ‘रक्त चरित्र’ भाग १ र २ (२०१०), ‘गान्धीगिरी’ (२०१५), ‘मुन्ना माइकल’ (२०१७), ‘७०६’ (२०१९) आदि।

फिल्म ‘ज़ख़्म’ काे एक दृष्यमा अजय देवगन, साेनाली बेंद्रे, अवतार गिल लगायतका कलाकारहरसँग अनुपम श्याम

उनी थुप्रै हिट फिल्मका हिस्सा रहे, ‘दुश्मन’ (१९९८), ‘सत्या’ (१९९८), ‘प्यार ताे हाेना ही था’ (१९९८), ‘कच्चे धागे’ (१९९९), ‘लगान’ (२०००), ‘गाेलमाल’ (२००६), ‘स्लमडग मिल्लियनियर’ (२००८) र ‘वांटेड’ (२००९).

यसरी अनुपमले सन् १९९६ देखि सन् २०१० सम्म लगातार काम गरे र फिल्म इंडष्ट्रीमा आफ्नाे एउटा अलग मुकाम बनाए। एक अभिनेताकाे रुपमा आफ्नाे राष्ट्रिय-अन्तर्राष्ट्रिय पहिचान बनाए।

टर्निङ पाेइंट बन्याे टिभी सिरियल

‘मन की आवाज़ प्रतिज्ञा’ सिरियलकाे टिमसँग अनुपम श्याम

राज कुमार संताेषीकाे फिल्म ‘हल्ला बाेल’ (२००८), डेन्नी बाेयलकाे फिल्म ‘स्लमडग मिल्लियनियर’ (२००८) र राम गाेपाल वर्माकाे ‘रक्त चरित्र’ (२०१०) काे काम सकेपछि एकदिन अचानक कतैबाट उनलाई फाेन आयाे। फाेनमार्फत् उनलाई टिभी सिरियलमा काम गर्ने अफर दिइयाे। उनी सन् १९८६ देखि नै टिभी सिरियलहरूमा काम गर्ने गर्थे। टिभीका निकै कहलिएका निर्देशक उमेश बिष्टले उनलाई त्यतिबेलै टिभी सिरियलमा काम दिएका थिए। अनि, उनी के कुरामा स्पष्ट थिए भने, ‘सिने इंडष्ट्रीमा सर्भाइव गर्ने हाे भने काम गरिरहनु जरुरी छ। पर्दामा देखा पर्नु जरुरी छ। चाहे ठूलाे पर्दामा हाेस्, वा सानाे पर्दा (टिभी) मा हाेस् वा स्टेजमा नै किन नहाेस्, दर्शकहरुकाे सामुन्ने देखा पर्नु जरुरी छ। अनि, काम त कामै हाे। सबै काम पूजनीय छन् भने किन सानाे पर्दाकाे कामलाई अस्वीकार गर्ने?’ उनले आफ्नै आँखा अगाडि बंबईलाई मुंबई बनेकाे देखेका थिए।

अनुपम श्याम

यस्ताेमा उनले हातमा आएकाे कामलाई छाेड्न चाहेनन्। त्यसमाथि यहाँ त उनलाई टेलिफाेनबाट कामकाे अफर आइरहेकाे थियाे। उनले सानाे पर्दामा काम गर्ने अफरलाई स्वीकार गरे र स्टार प्लससँग अनुबन्ध गरेर स्टार प्लसकाे सिरियल ‘मन की आवाज़ प्रतिज्ञा’ मा काम गर्न सुरु गरे। याे सिरियल उनकाे करिअरकाे ‘टर्निङ पाेइंट’ साबित भयाे। यस सिरियलकाे उनकाे ठाकुर सज्जन सिंहकाे भूमिकाले उनलाई लाेकप्रियताकाे चरमचुलीमा पुर्‍यायाे। उनी घर-घरमा ठाकुर सज्जन सिंहकाे नामले चिनिए। यही सिरियलले उनलाई देशव्यापी रुपमा ख्याति दिलायाे।

सिरियलबाटै लाेकप्रियता 

अनुपम श्याम

फिल्महरूले उनलाई जुन पहिचान, नाम र मान्यता दिन सकेन, त्याे सिरियलहरूले उनलाई दियाे। ‘लगान’ र ‘स्लमडग मिल्लियनियर’ ले दिन नसकेकाे स्टारडम उनलाई टिभी सिरियल ‘मन की आवाज़ प्रतिज्ञा’ ले दियाे। याे टिभी सिरियलकाे पितृसत्तावादी ठाकुरकाे भूमिकाले अति कम समयमा उनलाई घर-घरमा चिनाइदियाे।

स्टार प्लसकाे टिभी सिरियल ‘मन की आवाज़ प्रतिज्ञा’ ले उनलाई फिल्महरूले भन्दा बढी नाम, मान्यता, पहिचान र स्टारडम दियाे। राैबदार, घमण्डी र दबंग ठाकुर सज्जन सिंहकाे भूमिकाबाट उनले व्यापक पहिचान पाए। राैबदार ठाकुर सज्जन सिंह नै उनकाे परिचय बन्न पुग्याे। जसबाट उनी हर्षित देखिन्थे, एकपटक अन्तर्वार्ता दिने क्रममा हर्षित हुँदै उनले भनेका थिए, ‘ठाकुर सज्जन सिंह मेराे नयाँ नाम हाे।’

ठाकुर सज्जन सिहँकाे रुपमा अनुपम श्याम

याे नाम मेराे वास्तविक नामभन्दा पनि धेरै लाेकप्रिय भइसकेकाे छ। जहाँ-जहाँ म जान्छु, मानिसहरू मलाई यही नामले चिन्छन् अनि यही नामले बाेलाउँछन्।’ यधपि उनकाे याे क्यारेक्टर नीच, घृणित, तानाशाही, घमण्डी र राैबदार थियाे, तर यसकाे बावजूद पनि उनलाई दर्शकहरुले मन पराए। आफ्नाे वास्तविक नामभन्दा बढी आफ्नाे क्यारेक्टर र क्यारेक्टरकाे नामद्वारा चिनिनुकाे पछाडिका धेरै कारणमध्ये एउटा कारण उनकाे करिस्मेटिक अभिनय पनि हाेला।

सिरियलमा रफ्तार, फिल्ममा स्पीडब्रेकर

आफ्नाे एक काे-स्टारसँग अनुपम श्याम

तीन-साढे तीन बर्षसम्म उनी स्टार प्लसकाे सिरियल ‘मन की आवाज़ प्रतिज्ञा’ मा व्यस्त भए। सिरियलमा काम गर्न थालेपछि उनी फिल्म इंडष्ट्री एक किसिमले ‘कट अफ’ भए। किनभने, सिरियलकाे शूटिङले उनकाे सबै समय खाइदिन्थ्याे। सिरियलकाे शूटिङ पुरै महिनाभरि चल्थ्याे। उनका हाेली, दिवाली, इद आदि सबै चाडहरु सिरियलकाे सेटमै बित्थे।

यसरी उनी फिल्मबाट लगभग कटे। यसबीच माहाैल पनि बदलिइसकेकाे थियाे। पहिला उनी भेट्न जाँदा सानाे देखेका फिल्ममेकरहरु अब चिन्नै नसक्ने गरि ठूला भइसकेका थिए। उनीहरु उनलाई सायदै चिन्थे। अफिसहरु पनि परिवर्तित भइसकेका थिए। कलाकारहरू चयन गर्ने सिस्टम बदलिसकेकाे थियाे। ‘कास्टिङ डाइरेक्टर’ नामक नयाँ अजूबाले इंडष्ट्रीमा धाक जमाइसकेकाे थियाे। अब उनका लागि फिल्ममा राेल पाउने बाटाे गाह्राे भएकाे थियाे। केतन मेहता, श्याम बेनेगल, गाेविन्द निहलानीजस्ता पुराना चिनेका मेकरहरूका फिल्महरू बाहेक अरूहरूका फिल्ममा काम पाउनु गाह्राे थियाे उनलाई र उनी जस्ता अन्य कलाकारहरुलाई।

‘मन कि आवाज़ प्रतिज्ञा’ का आफ्ना काे-स्टार पूजा गाेरसँग अनुपम श्याम

अर्काेतर्फ उनले सिरियलमा राम्राे धाक जमाइसकेका थिए। राेल पनि राम्राे पाएका थिए। हुन त उनी फिल्ममा काम गर्नबाट पछि हटेका त थिएनन्, तर ठाकुर सज्जन सि‌ंहकाे राेल यति ठूलाे भइसकेकाे थियाे कि त्यसलाई हटाउन उनलाई केही समय लाग्थ्याे। उनकाे लुक पनि कंटिन्युटीमा फँसेकाे थियाे। त्याे कंटिन्युटी हटेपछि लुक चेन्ज गरेर फिल्ममा काम गर्ने उनकाे साेच थियाे। उनका केही साथीहरु जाे फिल्ममा काम गरिरहेका थिए, उनीहरुले उनलाई राम्राे काम दिने वाचा गरेका थिए। उनले पनि ‘तपाईं पहिले राेल त दिनुहाेस्, त्यसपछि म कमाल देखाउनेछु’ भनेर मञ्जुरी दिएका थिए। सन् २०१० मा सिरियलतर्फ माेडिएपछि उनले गन्तीकाे तीन-चारवटा फिल्ममा मात्र काम गर्न सके वा काम गर्न पाए।

यसअघि थुप्रै फिल्ममा काम गरेका उनी सन् २०१० पछि टिभी सिरियलतर्फ माेडिए। त्यसपछि उनकाे फिल्म करिअरमा पनि ब्रेक लाग्याे। यधपि, उनकाे टिभी करिअरले भने रफ्तार समात्याे। अनुपम श्यामले ‘मन की आवाज़ प्रतिज्ञा’ को अतिरिक्त ‘वेलकम – बाज़ी मेहमान नवाज़ी की’ (२०१३), ‘हम ने लि है-सपथ’ (२०१३), ‘डाेली अरमानाें की (२०१४), ‘कृष्णा चली लंडन’ (२०१८-०१९) र ‘मन की आवाज़ प्रतिज्ञा-२’ टिभी सिरियलहरुमा काम गरे। ‘मन की आवाज़ प्रतिज्ञा’ मा काम गर्नु अघि उनले ‘अमरावती की कथायें’ (१९९५, श्याम बेनेगल), ‘अम्मा और फैमिली’ (१९९५), ‘रिश्ते – सिजन-३’ (२००५), ‘क्याेंकि जीना इसी का नाम है’ (२००८) जस्ता टीभी शाे तथा सिरियलहरुमा काम गरिसकेका थिए।

सदाबहार भिलेन

अनुपम श्याम

फिल्महरूमा उनले धेरैजसाे भिलेनकाे भूमिका निर्वाह गरे। ओस्कार अवार्ड समाराेहमा १० विधामा नामांकित भएकाे डेन्नी बाेयलकाे फिल्म ‘स्लमडग मिल्लियनियर’ (२००८) मा पनि उनले भिलेनकाे भूमिका निर्वाह गरेका छन्। याे फिल्ममा उनकाे भूमिका गुरु नामक एक यस्ताे क्रूर व्यक्तिकाे थियाे, जाे केटाकेटीहरूलाई झाेपडपट्टीबाट अपहरण गर्छन् र उनीहरूलाई भीख माग्ने काममा लगाउँछन्।

सिरियलहरूमा पनि उनी मूलत: नकारात्मक भूमिकाहरुमै देखिन्थे। सज्जन सिंह ठाकुरकाे उनकाे सर्वाधिक लाेकप्रिय भूमिका वा चरित्र पनि खलपात्र नै थियाे। खासमा उनकाे मुखाकृति नै यस्ताे थियाे कि उनी नकारात्मक भूमिकाहरूमै उपयुक्त लाग्थे।

हँसिलाे मुद्रामा अनुपम श्याम

तर, अनुहार दुष्ट, खलपात्रकाे जस्ताे देखिएता पनि उनी वास्तविक जीवनमा अत्यन्त मृदुभाषी र मिलनसार थिए। उनी भन्थे, ‘भगवानले मलाई यसरी गढेका छन् र मेरी आमाले मलाई यस्ताे अनुहारका साथ जन्माएकी छिन् कि पहिलाेपटक मेराे अनुहार हेरेर मानिसहरु मप्रति राम्राे धारणा बनाउँदैनन्। तर यदि उनीहरुले मसँग दुई शब्द बाेल्ने हाे भने म उनीहरूकाे दिमागमा यसरी कब्जा गरिदिन्छु कि त्यसपछि, उनीहरू मेराे कद्रदान बन्नेछन्।’

पर्फेक्ट इलाहाबादी एसेन्ट

इलाहाबादीकाे चरित्रमा अनुपम श्याम

प्रतापगढ़का निवासी भएर, प्रतापगढ़मै हुर्के-बढेकाे भएर पनि उनी ठाकुर सज्जन सिंहकाे रूपमा इलाहाबादी डाइलेक्ट एकदमै पर्फेक्टली बाेलिरहेका थिए। उनकाे इलाहाबादी dialect nuisance देखेर धेरै जानकारहरु आश्चर्यचकित थिए। त्यसमाथि उनकाे चाल-ढाल दुरुस्तै इलाहाबादीहरुकाे जस्ताे थियाे। अनि उनी त्याे क्षेत्रकाे भूगाेलकाे पूरै जानकारीसमेत राख्थे। याे कसरी सम्भव भयाे त?

यसकाे रहस्य उनैले खाेले। खासमा इलाहाबाद उनकाे ससुराली रहेछ। अनि, उनकाे नगर प्रतापगढकाे छिमेकी नगर इलाहाबाद भएकाेले उनी इलाहाबादी बाेली-चाली, रहन-सहन र जीवनशैलीसँग यति मज्जाले परिचित भएका रहेछन्। अर्काे राेचक कुरा, अनुपमकाे रानीगन्ज एरियाकाे पुर्ख्याैली घर प्रसिद्ध कवि हरिवंश रायकाे मूल गाउँकाे धेरै नजिक रहेछ।

प्रतापगढ़देखि आएर मुंबईमा जमेका बाबा

अनुपम श्याम

प्रतापगढ़देखि मुंबईसम्मकाे लामाे यात्रा तय गरे अनुपमले। उतारचढावले भरिएकाे उनकाे याे यात्रा अनुपम रह्याे। ठूलाे पर्दादेखि लिएर सानाे पर्दासम्म उनले काम गरे। हिन्दी, भाेजपुरी र अवधि भाषाका फिल्ममा काम गरे। तर चम्किन चाहिँ सबभन्दा बढी सानाे पर्दामै चम्किए।

अनुपम सिने जगतभित्र ‘बाबा’ काे नामले बाेलाइन्थे र उनी आफ्नाे केयरफ्री र रिल्याक्स लाइफ स्टाइलकाे लागि चिनिन्थे। फिल्महरूमा क्रूर र घमण्डी व्यक्तिकाे रूपमा देखिए पनि राजनीतिक रुपमा उनी २७ डिसेम्बर २०११ बाट सुरू भएकाे अन्ना हजारे आन्दाेलनकाे समर्थनमा देखिएका थिए।

गडफादर हैन, ट्यालेन्टमा विश्वास

ताज़महलकाे अगाडि फाेटाे खिचाउँदै अनुपम श्याम

अनुपम श्याम कुनै गड्फादर, रिलेशन, चिनजान वा भनसुनमा विश्वास गर्दैनथे। उनी मात्र आफ्नाे ट्यालेन्टमा, मात्र आफ्नाे अभिनय क्षमतामा विश्वास गर्थे। गडफादरबारे प्रश्न गर्दा उनी भन्थे ‘हाम्राे गड अलग छ, फादर अलग। गडफादर भन्ने कुनै चीज छैन।’

हिराेहरूसँग नजिकिएर, निकटकाे सम्बन्ध राखेर फिल्महरूमा राेल पाउने ‘निन्जा ट्याक्निक’ बाट उनी सँधै टाढै रहे। भन्थे, ‘मेराे पिताजीले भन्नुभएकाे छ, पत्रमा लेखेकाे कुरामा वा कसैले भनेकाे कुरामा विश्वास नगर्नु। पत्रवाहक मेराे अत्यन्त राम्राे साथी हाे र यसलाई काम दिनु भनेर गरिएका सिफारिस पत्रहरूमाथि विश्वास नगर्नु। मात्र आफ्नाे ट्यालेन्टमा विश्वास गर्नु । किनभने अन्तत: पत्र वा सिफारिस बाेल्दैन, तिम्राे ट्यालेन्ट बाेल्छ।’

अनुपम श्याम

आफ्नाे कुरा पुष्टि गर्न उनी अमिताभ बच्चनकाे उदाहरण दिँदै भन्थे, ‘इन्दिरा गान्धीजी, नर्गीस दत्तजी र तेजी बच्चनजी (अमिताभका माता) बीच पनि राम्राे सम्बन्ध थियाे तर बच्चन साहब (अमिताभ बच्चन) ले जुन पहिलाे राेल पाए त्याे राेल लाटाकाे थियाे। कतिपय कलाकारहरुलाई त पहिलाे राेलमा बाेराभित्र हालेर बाँधिएकाे थियाे। तर पछि उनीहरु ठूला स्टार बने।’ अर्थात्, ‘ट्यालेन्ट बाेल्छ’ भन्ने उनकाे जाेड थियाे।

त्यसैले उनी फिल्ममा काम पाउन निर्दैशकहरुकाे चाकडी गर्दैनथे। हिराेसँग नजिकिएर उनकाे फेवर लिएर राेल हथ्याउन चाहन्दैनथे। चाकडी र चाप्लुसी उनलाई पसन्द थिएन बरु उनी आफ्ना अन्तर्वार्तामार्फत् सीधै अपिल गर्थे, ‘हाम्राे फिल्म इंडष्ट्रीमा जाे-जाे माननीय निर्देशकहरु हुनुहुन्छ, उहाँहरुलाई म विनम्र अनुराेध गर्दछु कि यदि उहाँहरूका फिल्महरूमा राम्रा भूमिकाहरु छन् भने मलाई दिनुहाेस्। मेराे अनुहारमा नजानुहाेस्, मेराे क्षमता हेर्नुहाेस्।’

राम्रा सह-कलाकारहरुका कदर

‘मन की आवाज़ प्रतिज्ञा’ काे आफ्ना काे-स्टार पूजा गाेरसँग अनुपम श्याम

उनी आफ्ना फिल्महरुमा राम्रा सह-कलाकारसँग काम गर्न पाउँदा खुशी हुन्थे। राम्राे कलाकारसँग अभिनय गर्दा उनीहरूकाे पर्फमेन्सकाे कारण आफ्नाे पर्फमेन्स पनि खुलेर र अझ निखारिएर बाहिर आउने उनकाे भनाइ थियाे। ‘हज़ाराें ख़्वाहिशें ऐसी’ मा जया भादुड़ी (बच्चन), ‘वारियर’ मा इरफ़ान खान, ‘शक्ति’ मा नाना पाटेकर र ‘हल्ला बाेल’ मा पंकज कपूरजस्ता अब्बल कलाकारहरु आफ्नाे सामुन्ने भएकै कारण आफ्नाे अभिनय निखारिएर आएको उनकाे अनुभव थियाे। उनी आफ्ना राम्रा सह-कलाकारहरूका मुक्तकण्ठले प्रशंसा गर्थे।

सरहनाबाट सन्तुष्टि

एक बाल कलाकारसँग अनुपम श्याम

सिरियलमा काम गरेर प्रख्यात भएपश्चात् पनि जब मानिसहरु उनी कहाँ आएर उनलाई भन्थे कि, ‘सर, ‘वांटेड’ मा तपाईंकाे एक सिन मात्र थियाे तर धेरै राम्राे थियाे’ तब उनलाई सन्तुष्टि मिल्थ्याे। जब मानिसहरु उनीकहाँ आएर भन्थे कि ‘कच्चे धागे’ मा तपाईंकाे काम राम्राे थियाे वा ‘हल्ला बाेल’ मा तपाईंकाे अभिनय सशक्त थियाे वा ‘रक्त चरित्र’ मा तपाईंकाे पर्फमेन्स दमदार थियाे। तब उनलाई मन भित्रैदेखि असीम सन्तुष्टि प्राप्त हुन्थ्याे। ‘इंडिया टुडे’ ले ‘रक्त चरित्र’ मा उनकाे अभिनयकाे प्रशंसा गर्दा उनलाई त्यस्तै सन्तुष्टि महसुस भएकाे थियाे। त्यस्तै सन्तुष्टि उनलाई ‘स्लमडग मिलेनियर’ बाट सरहना पाउँदा मिलेकाे थियाे।

आफ्ना कामहरूबाट पाएकाे सरहनाले उनलाई उनकाे कर्मकाे सार्थकताबाेध गराउँथ्याे। उनलाई ‘म सार्थक कर्म गरिरहेकाे छु’ भन्ने महसुस गराउँथ्याे। अनि आफ्नाे मेहनतकाे मीठाे फल पाएकाे मीठाे अनुभूति दिलाउँथ्याे। उनलाई लाग्थ्याे, ‘भारतीय सिनेमाकाे विशाल आकाशमा सानै सही, म पनि एउटा चम्किलाे तारा हाे जाे आफ्नाे सामर्थ्यअनुसार चम्किरहेकाे छ। मैले पनि आफ्नै मेहनतले धेरथाेर मान, पहिचान र इज्जत कमाएकाे छु। सिनेमाकाे इतिहासमा सानै नै सही एक अभिनेताकाे रूपमा मेराे पनि नाम लेखिनेछ’ आदि। यही अनुभूतिले उनलाई हर्षित बनाउँथ्याे। यसका लागि उनी भारतीय फिल्म इंडष्ट्री र दर्शकहरूप्रति आभारी पनि थिए।

अनुपम श्याम

उनकाे ध्येय यही थियाे कि एक सक्षम अभिनेताकाे रूपमा देश-विदेशमा उनकाे सुनाम फ‌ैलियाेस्। राष्ट्रिय-अन्तर्राष्ट्रिय रूपमा एक राम्राे अभिनेता भनेर उनकाे पहिचान बनाेस्। उनी मान्थे, उनी फिल्महरु मात्र खेलिरहेका छैनन्, बरु देश-विदेशमा आफुलाई चिनाउन पूरा लेख (archive) तयार पारिरहेका छन्।

पछिल्लाे चरणमा उनकाे याे सपना केही हदसम्म पूरा भएकाे थियाे। उनका थुप्रै-थुप्रै फिल्मसँगै ‘मन की आवाज़ प्रतिज्ञा’ ले उनलाई देशभरि र ‘स्लमडग मिलेनियर’ ले उनलाई विदेशमा पनि चिनाएकाे थियाे। याे फिल्म ओस्करकाे मञ्चसम्म पुगेकाे थियाे जहाँ दसवटा विधामा याे फिल्म नाेमिनेट भएर आठवटा विधामा पुरस्कृत भएकाे थियाे।

घमण्ड नगर्ने कलाकार

अनुपम श्याम

यसरी राष्ट्रिय र (केही हदसम्म) अन्तर्राष्ट्रिय ख्याति कमाए पनि उनी आफुलाई ‘स्टार’ ठान्दैनथे। ‘म स्टार हैन, एक अभिनेता मात्र हाे’ भन्थे। जमिनसँग जाेडिएका मानिस थिए अनुपम। उनी फुर्सद निकालेर गाउँमा धान राेप्न, गहुँ काट्न जान्थे। मुंबईकाे हाेहल्ला र प्रदुषणबाट टाढा गाउँमा बस्दा उनलाई सुकुन मिल्थ्याे। मानसिक शान्ति प्राप्त हुन्थ्याे। केही दिन गाउँमा गाउँलेका बीचमा बसेर आफैलाई तराेताजा बनाएर फेरि मुंबई फर्केर आउँथे उनी।

फिल्महरूमा अहंकारी, घमण्डी व्यक्तिकाे भूमिका निभाए पनि वास्तविक जीवनमा अनुपम पटक्कै पनि घमण्डी थिएनन्। बरु उनी भन्थे, ‘तपाईं स्टार बन्नुहाेस् तर स्टार बनेपछि तपाईंमा घमण्ड आउनुभएन। किनभने, तपाईं जुन हाँगामाथि बस्नुभएकाे छ, त्याे हाँगा कुनै पनि समय भाँचिन सक्छ।’

अनुपम भन्ने गर्थे, ‘म त सानाे मान्छे हुँ। शीर झुकाउनमा मलाई त कुनै समस्या छैन तर तपाईं ठूला-बडाहरू जाे हुनुहुन्छ, पहिले आपसमा याे फैसला त गर्नुस् कि काे ठूलाे हुनुहुन्छ?’

 

कामकाे तीब्र भाेक

एक कार्यक्रमलाई सम्बाेधन गर्दै अनुपम श्याम

कामकाे तीब्र भाेक थियाे अनुपममा, यस्ताे लाग्थ्याे उनी अभिनय गरेर अघाएका छैनन्। धेरैभन्दा धेरै काम गर्न चाहन्थे अनुपम। सधै नयाँ चुनाैती, नयाँ चरित्र र नयाँ अवसरकाे खाेजीमा हुन्थे अनुपम। याे उनकाे अभिनयप्रतिकाे प्यासन थियाे।

अन्त्यमा, अनुपमजीकाे एउटा अन्तर्वार्ता सम्झन्छु, अन्तर्वार्ताकार भन्छन्, ‘तपाईंले यत्राे नाम कमाउनुभयाे, ख्याति कमाउनुभयाे। याे देखेर तपाईंलाई कस्ताे लाग्छ?’

विनम्रताका साथ अनुपमजी जवाफ दिन्छन्, ‘अहिलेसम्म त मैले केही गरेकै छुइन। समय कम छ, तर गर्नुपर्ने काम धेरै छ। र अझै धेरै थाेक गर्न बाँकी छ, म ती धेरैथाेक गर्न चाहन्छु र यस लायक बन्न चाहन्छु कि अब आउने पुस्ताले भनुन्, हामीले ‘फिराक’ लाई देखेका थियाैँ। अहिलेसम्म म ‘फिराक’ बन्न सकेकाे छुइन। म त्यही ‘फिराक’ बन्ने ‘फिराक’ मा छु।’

अनुपम श्याम

अलविदा अनुपमजी। तपाईंले हाम्राे मनभित्र अनुपम यादहरु छाेडेर जानुभएकाे छ।

अनुपमजीका परिवार, इष्टमित्रहरु, शुभचिन्तकहरु र कद्रदानहरु सबैप्रति मेराे भावपूर्ण संवेदना।

अनुपमजीलाई मेराे हार्दिक श्रद्धाञ्जली ! 🌹🌹🌹

 

@prabhas733

मा प्रकाशित