ओली र नेपालबीच होटल मेरियटमा भेटवार्ता, संयुक्त वक्तव्यको संभावना

गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, २३ असार 

एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वान टु वान भेटवार्ता भएको छ । सुरक्षा स्रोतका अनुसार नेता नेपाल सात बजे होटल मेरियटमा पुगेका थिए । नेता नेपाल पुगेको केही बेरमा अध्यक्ष तथा प्रधानमन्त्री ओली पनि मेरियटमा पुगेका छन् । पार्टी एकताका लागि गठित १० सदस्यीय कार्यदलले मस्यौदा बनाउँदै गर्दा अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता भएको हो ।

यसअघि आजै बसेको कार्यदलको बैठकले पार्टी विवाद समाधानउन्मुख भएको र केही विषयमा छलफल गरेर अन्तिम रुप दिने निर्णय गरेको थियो । त्यसका लागि ओली र नेता नेपालबीच भेटवार्ता गर्ने नेताहरुले बताएका थिए । खासगरी संसद विघटन र सर्वोच्चमा पुगेको एमाले सांसदको हस्ताक्षरबारे मौन बसेर विवाद मिलाउनेमा नेताहरु पुगेका छन् ।

आजै संयुक्त वक्तव्य निकाल्दै

नेकपा एमालेको विवादलाई टुंगोमा पुर्‍याउन जुटेका अध्यक्ष ओली र वरिष्ठ नेता नेपालले आजै संयुक्त वक्तव्य निकाल्ने भएका छन्। होटल मेरियटमा वार्तामा जुटेका दुई नेताबीचको हस्ताक्षरसहितको संयुक्त वक्तव्य आजै आउने भएको बताइएको छ ।

नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यसमेत रहेका नेता खिमलाल भट्टराईले दुई नेताको हस्ताक्षरमा आजै सहमतिको संयुक्त वक्तव्य निकाल्ने तयारी भएको जानकारी दिएका छन्। ‘आजै दुई नेताको हस्ताक्षरसहितको संयुक्त वक्तव्य निकाल्ने तयारी भएको छ’, उनले भने, ‘त्यसकै लागि उहाँहरु वार्ताका लागि जुट्नुभएको हो।’

संयुक्त वक्तव्य निकालिने भएपछि अहिले एमालेका नेताहरु धमाधम होटल मेरियट पुग्दैछन्। वार्तापछि संयुक्त वक्तव्य जारी हुने भएपछि नेताहरु विष्णु पौडेल, खिमलाल भट्टराई र सुरेन्द्र पाण्डे अहिले मेरियट पुगिसकेका छन्।

मा प्रकाशित