
राप्ती बगरटोलकी सुजिता भण्डारीकोे हत्या प्रकरण सेलाउन नपाउँदै चितवनमा फेरि अर्को घटना बाहिरिएको छ। घटना हो– नवलपुर गैंडाकोट नगरपालिका झपर्दीको।
दुवै घटनामा एउटा कुरा मिलेको छ। त्योे हो दुवै जना केहीछिनमा आउँछु भनेर घरबाट निस्केका थिए। तर दुवै फर्केनन्। सुजिता बेपत्ता भएको ९ दिनपछि सुजिताको शव फेला पर्यो। विनाको नौ दिनसम्म कुनै पत्ता लाग्न सकेको छैन। सुजिता घरबाट भिण्डी लिन जान्छु भनेर बेपत्ता भएकी थिइन भने विना आधा घण्टामा आउँछु भनेर।
गैंडाकोटकी विना असार १४ गते साढे चार बजे घरबाट निस्किएकी थिइन्। तर उनी नौ दिन बित्दासमेत घर फर्केकी छैनन्। २१ वर्षीया विना गैंडाकोटको जनक कलेजमा बिबिएस तेस्रो वर्षमा अध्ययनरत थिइन्।
विनाका बुबाले छोरी हराएको सूचना प्रहरीलाई दिएपछि प्रहरीले अनुसन्धान गरिरहेको छ। अनुसन्धानका लागि प्रहरीले विनाका प्रेमी भरतपुर महानगरपालिका–४ का प्रवेश कँडेललाई नियन्त्रणमा लिइएको छ। विना बेपत्ता भएको दिन प्रवेशले विनालाई उनकै घरबाट बाइकमा राखेर लगेका थिए।
जिल्ला प्रहरी कार्यालयका एसपी ओम अधिकारीले प्रहरीले घटनाबारे अध्ययन अनुसन्धान गरिरहेको र विनाकोे खोजी गर्ने कार्यलाई तिव्रता दिएको बताए। ‘विना हराएकोे दिन उनका प्रेमीले लगेर गएकोे हुँदा उनलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेका छौं, विनाकोे मोबाइल पनि भेटिएको छ,’ एसपी अधिकारीले गणतन्त्र नेपालसँग भने।
प्रवेश र विना लामो समयदेखि प्रेममा रहेको बताइएको छ। उनीहरुको सम्बन्धबारे घरपरिवारलाई पनि थाहा थियो। विना र प्रवेशले एकअर्काको प्रेम सामाजिक सञ्जाल फेसबुकमा पनि सार्वजनिक गरेका थिए।

विनाले ‘रिलेसनसिप विथ प्रवेश कँडेल’ लेखेकी थिइन् भने प्रवेशले पनि ‘रिलेसन विथ विना सापकोटा’ लेखेका थिए। प्रवेश बेलाबेला विनाकोे घर आउजाउ गरिरहन्थे। विना हराएको असार १४ गते अपरान्ह विनाले नैै प्रवेशलाई आफ्नो घर बोलाएकी थिइन्। प्रवेशको साथबाट प्रहरीले फुटेको अवस्थामा विनाले चलाउँदै आएको मोबाइल फेला पारेको छ। उनलाई जिल्ला प्रहरी कार्यालय चितवनमा राखिएकोे छ।
‘विना र प्रवेश प्रेम सम्बन्धमा रहेको कुरा परिवारले स्वीकार गरेको र प्रवेशको साथबाट विनाको मोबाइल पनि प्राप्त भएको छ। अन्य प्रमाण नभेटिँदासम्म यसैका आधारमा अनुसन्धान गरिरहेका छौं,’ एसपी अधिकारीले भने।
विनाका बुवा जयश्वरले विना र प्रवेशको प्रेम सम्बन्ध रहेको कुरा प्रहरीसमक्ष पनि बताएका छन्। उनका अनुसार विनाले प्रवेशकोे अर्की केटीसँग सम्बन्ध रहेकोे चाल पाएपछि कुरा गर्न घरमा बोलाएकी थिइन्। अर्की युवतीको घर नजिकै तीनै जनाको कुराकानी भएको कुरा प्रवेशले जिल्ला प्रहरी कार्यालय चितवनलाई दिएकोे बयानमा बताएका छन्। ‘तीन जना बसेपछि प्रवेशले विना र अर्की युवती (कुसुम) कुरा गरुन् भनेर चुप बसेको बेला दुवैबीच बाझाबाझ हुँदा विना बेहोस भएको र विनालाई कुसुमको घर लगेर प्रवेशले जयश्वरलाई जानकारी गराएछन्,’ प्रवेशको बयान उद्धृत गर्दैै एसपी अधिकारीले भने।
साँझ साढे ६ बजे जयश्वरले खबर सुनेपछि आत्तिएर विना कहाँ छे घर ल्याइदेऊ भने प्रवेशलाई। प्रवेशले भने ठेगाना बताएनन्। कारण– उनले विनालाई कुसुमकोे घर राखेका थिए। जयश्वरले प्रवेशसँग सवारीसाधन नभए गाडी बुक गरेर भए पनि छोेरी ल्याउन भन्दै बुक गर्न पैसा नभए पैसासमेत पठाइदिने बताएका थिए।
प्रवेशले त्यो दिन आफूले साथीको स्कुटर चढेको जिकिर गरेका छन्। प्रवेशले विनालाई घर छोड्न स्कुटर चलाए पनि विनाले बस्न नमानेको र केही परसम्म हिँडेरै गएको बयान दिएका छन्। प्रवेशले स्कुटरमा पु¥याइदिने भने पनि विना हिँड्दै चौबिसकोठीसम्म पुगेपछि प्रवेश पैसा निकाल्न एटिएम छिरेको प्रहरीले बताएको छ।
‘प्रवेश एटिएममा छिरेपछि विनालाई नदेखेको बताएका छन्,’ एसपी अधिकारी भन्छन्, ‘प्रवेशले एटिएमबाट पैसा भने ननिस्किएको बयान दिएको छ।’ छोरी नआएपछि जयश्वरले प्रवेशलाई फोन गरे। प्रवेशले आफू चौबिसकोठीमा रहेको तर विना आफूसँग नभएकोे जानकारी दिएपछि उनी आत्तिए। जयश्वर र प्रवेशले राति दुई बजेसम्म विनालाई खोजेका थिए।
१५, १६ र १७ गते पनि विनाको खोजी भयो। १८ गते बल्ल प्रवेशले विनालाई घरबाटै लगेर गएको र त्यही दिनबाट हराएको भन्दै प्रहरीलाई खबर गरे। अनि त्यही साँझ बुबा जयश्वरले पनि छोरी हराएको भन्दै फेसबुकमा स्टाटस लेखे।
प्रहरीले प्रवेशको स्कुटर लिन आएका दुई युवकलाई पनि सोधपुछ गरी अनुसन्धान गरिरहेको जानकारी दिएको छ। चौबिसकोठी क्षेत्रमा सिसिटिभी नभएका कारण प्रवेशले बयान दिएका कुराहरु प्रमाणित गर्न गाह्रो भएको चितवन प्रहरीको भनाइ छ। एटिएमभित्र पसेको कुरा सिसिटिभीमा देखिए पनि विना र स्कुटी लिन आएका अन्य दुई युवाकोे गतिविधि देख्न नपाएको एसपी अधिकारीले जानकारी दिएका छन्।
बेलायत बस्ने प्रवेश वैशाख दोस्रो सातामात्रै नेपाल फर्किएका थिए। उनको जुलाई १२ तारिखका लागि बेलायत फर्किने टिकट छ। बेलायतबाट फर्किएपछि प्रवेश चार दिन विनाकै घरमा बसेका थिए। प्रवेशले बिहेको कुरा राख्दा विनाको उमेर कम भएकाले बुबा जयश्वरले दुई वर्ष कुर्न भनेका थिए।





