मध्यरातमा किन भेटे प्रधानमन्त्री ओलीले काँग्रेस नेताद्वय निधि र कोइरालालाई ?

सन्दर्भः काँग्रेस महाधिवेशन

आस्था केसी/काठमाडाैं, १३ असार

पटक पटक विवादित निर्णय गर्ने र अदालतबाट निर्णय उल्टाइदिने परिबन्धमा परेका कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता संकट जाेगाउन मध्यरातमा विपक्षी पार्टीका नेताहरुसँग भेटघाट गरेका छन् ।  पछिलाे पटक  नेपाली काँग्रेसका नेताहरु बिमलेन्द्र निधि र शेखर कोइरालालाई बालुवाटार बाेलाएर प्रधानमन्त्री ओलीले सत्ता संकटको गर्जाे टार्न खाेजेको खबर गणतन्त्र नेपाललाई प्राप्त हुन आएको छ ।

श्रोतका अनुसार  शनिबार राति बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेताद्वय निधि र कोइरालालाई बालुवाटार बोलाएर समसामयिक विषयमा छलफल गरेका थिए । क्याविनेटले धमाधम सरकारका विवादित र गैरसंवैधानिक निर्णयहरु उल्टाइदिएपछि ओली चिन्तित बनेका खबर सार्वजनिक भइरहेका छन् । अदालत र काम चलाउ सरकारको जुहारी चलिरहँदा कतै अदालतले फ्याट्ट काँग्रेस सभापति शेर बहादुर देेउवालाई प्रधानमन्त्री घोषणा गरिदिने त हाेइन भनेर ओली छटपटाइरहेकाे जानकारहरु बताउँछन् ।

शनिबार दिउँसाे विपक्षी गठबन्धनले गरेको पत्रकार सम्मेलनमा गठबन्धनका नेताहरुले एक अर्कालाई कुनै हालतमा पनि धाेका नदिने र साथ साथ अगाडि बढ्ने कुरा बताइसकेका छन् । विपक्षी गठबन्धनको यो एकताले पनि कामचलाउ सरकारका प्रधानमन्त्री ओली तनावमा रहेकाे बताइन्छ । अदालतमा सेटिङ चलिरहेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिले उनको मनमा रहेको छटपटी व्यक्त गरेको राजनीतिक विश्लेषकहरुको तर्क छ ।

यहाँनिर स्मरण गर्नुपर्ने कुरा के छ भने भदौ महिनामा महाधिवेशन गर्ने भन्दै नेपाली काँग्रेसले पार्टीका सम्पूर्ण गतिविधि महाधिवेशनमा केन्द्रित गरिरहेको छ । सभापति देउवालगायत दर्जन बढी नेताहरु सभापतिको दाैडमा सामेल छन् । यस्तो अवस्थामा काँग्रेसको आसन्न अधिवेशनमा देउवालाई सभापतिको दौडमा पछार्ने  र सभापति पद आफूले हात पार्ने होडका साथ काँग्रेसका केही वरिष्ठ नेताहरु जाेडतोडले शक्तिकेन्द्र धाइरहेकाे चर्चा सर्वत्र चुलिएको छ ।

यसै सिलसिलामा शनिवार काँग्रेस नेताद्वय निधि र कोइराला प्रधानमन्त्री ओली भेट्न मध्यरातमा बालुवाटार गएको श्राेतले बताएको छ । सर्वाेच्च अदालतले असंवैधानिक तबरले प्रधानमन्त्री बनेका अल्पमतका ओलीलाई हटाएर बहुमत सांसदको हस्ताक्षर सहित प्रधानमन्त्रीको दाैडमा सामेल काँग्रेस सभापति देउवालाई प्रधानमन्त्री घोषणा गरिदिएको अवस्थामा कसरी देउवालाई प्रधानमन्त्री हुनबाट राेक्न सकिन्छ भन्ने चिन्तामा नेताद्वय निधि र कोइरालाले प्रधानमन्त्री भेटेको श्राेतको दावी छ ।

देउवा प्रधानमन्त्री बनेको अवस्थामा सत्ताको आडमा काँग्रेसको महाधिवेशनलाई प्रभाव पार्न सक्ने र सभापतिमा पुनः देउवा नै आउन सक्ने आँकलन गरेर नै नेताद्वय निधि र कोइराला अहिलेदेखि नै शक्तिकेन्द्र धाइरहेकाे बताइन्छ । नेपाली काँग्रेसको यो टिम प्रधानमन्त्रीमा ओलीलाई नै टिकाइरहन र आफ्नै पार्टीका सभापति देउवालाई प्रधानमन्त्री र पार्टी सभापति दुबै ठाउँमा हराउन चाहेको श्राेत बताउँछ ।

हिजै (शनिवार) नेताद्वय बालुवाटारमा प्रधानमन्त्रीसँगको भेटघाटपछि सिधै भारतीय  दुताबाससमेत छिरेको श्राेतले जनाएको छ । यस विषयमा गणतन्त्र नेपालले नेताहरु निधि र कोइरालासँग  प्रतिकृया लिन खाेज्दा उहाँहरुको फाेन उठेन ।

 

मा प्रकाशित