सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले विश्वासको मत लिन प्रस्ताव पेस गर्दै, यस्तो छ सांसदहरुकाे अंकगणित

गणतन्त्र नेपाल संवाददाता

कैलाली । सुदूरपश्चिम प्रदेशसभाका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभामा आज (मंगलबार) विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गर्दैछन् । प्रदेशसभा सचिवालयका अनुसार बिहान १० बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री भट्टले विश्वासको मत प्राप्त गर्नेसम्बन्धी प्रस्तावलाई छलफलसहित सभामा पेस गर्ने बताइएकाे छ ।

५२ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि २७ जनाको समर्थन आवश्यक हुन्छ । प्रदेशसभामा मुख्यमन्त्री भट्टको दल नेकपा माओवादी केन्द्रका १३ संसद रहेका छन् । सबैभन्दा ठुलो दल रहेको नेकपा एमालेका २५ सांसद छन् । तर तीमध्ये ६ जना ओली पक्षका छन् ।

एमालेको खनाल–नेपाल पक्षले भने वर्तमान सरकारमै सत्ता साझेदारी गर्दै आएको छ । याे समूहले समर्थन गरेको खण्डमा मुख्यमन्त्री भट्टले प्रदेशसभामा विश्वासको मत हासिल गर्न सक्छन् ।

एमाले प्रदेश कमिटीले सरकारलाई विश्वासको मत नदिन ह्वीप जारी गर्नका लागि आफ्नो संसदीय दललाई निर्देशन दिइसकेको छ । यद्यपि संसदीय दलमा भारी बहुमत रहेको खनाल–नेपाल पक्षले उक्त निर्देशन पालना नगर्ने अडान लिएको श्राेतकाे दाबी छ ।

प्रदेशसभामा काँग्रेसका १२ र जसपाका दुई सांसद छन् । विश्वासको मतसम्बन्धी प्रस्तावमा प्रदेशसभाको प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले कस्तो भूमिका निर्वाह गर्ने भन्नेबारे निर्णय लिइसकेको छैन ।

मा प्रकाशित