राष्ट्रपतिसमक्ष विपक्षी गठबन्धनकाे माग–सांसदलाई उपस्थित गराएरमात्रै निर्णय गर

गणतन्त्र नेपाल संवाददाता

काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री प्रस्ताव गरेको विपक्षी गठबन्धनका नेताहरुले आफ्नो पक्षमा भएका सांसदहरुलाई सशरीर उपस्थित गराएरमात्रै निर्णय लिन माग गरेका छन्। शुक्रबार दिउँसो १४९ जना सांसदको हस्ताक्षरसहित देउवालाई धारा ७६ (५) अनुसार प्रधानमन्त्री बनाउन दाबी पेश गर्दै नेताहरुले सांसदलाई आफैँ उपस्थित गराएर मात्रै निर्णय लिन सुझाव दिएका हुन्।

देउवाकोे पक्षमा कांग्रेसका ६१, माओवादीका ४८, जसपा उपेन्द्र यादव पक्षका १२, एमाले माधव नेपाल पक्षका २६ र जनमोर्चा १ गरी १४९ जना सांसदको हस्ताक्षर बुझाइएको छ। विपक्षी गठबन्धनका नेताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीलाई हस्ताक्षर बुझाएपछि उनले किर्ते भएको सुनिन्छ नि भनेर प्रश्न गरेको कांग्रेस नेता गोपालमान श्रेष्ठले जानकारी दिए।

जवाफमा नेताहरुले ‘हामीले पनि सुनेकाले अब सांसदहरुलाई स्वयम् उपस्थित गराएर मात्रै निर्णय लिनुहोस्’ भनेको श्रेष्ठले बताए । जवाफमा राष्ट्रपतिले ‘म हस्ताक्षर अध्ययन गर्छु। त्यसपछि मात्रै निर्णय लिन्छु’ भनेर नेताहरुलाई फिर्ता पठाएकी छिन्।

राष्ट्रपति कार्यालयका अनुसार विपक्षी गठबन्धनका तर्फबाट धेरै नेताहरु शितल निवास पुगे पनि जम्मा आठ जनालाई मात्रै राष्ट्रपतिसँग भेट्न दिइएको थियो । ‘कोरोनाका कारण सबै नेताहरुलाई भेट गराउन सकिएन । शीर्ष तहका आठजना नेताहरुले प्रत्यक्ष भेट्नुभयो,’ स्रोतले भन्यो।

विपक्षी गठबन्धनमा माओवादी अध्यक्ष प्रचण्ड, नारायण काजी श्रेष्ठ, पम्फा भुसाल, देव गुरुङ शीतल निवास पुगेका थिए।  त्यस्तै नेपाल समूहबाट नेता नेपाल र भीम रावल सहभागी थिए । कांग्रेसबाट सभापति देउवा, रामचन्द्र पौडेल, शशांक कोइराला, कृष्ण सिटौला, पूर्णबहादुर खड्का, विमलेन्द्र निधिलगायत सहभागी थिए।

विपक्षी गठबन्धन अघि एमाले अध्यक्ष ओलीले आफ्नो पार्टीका १२१ र जसपाका ३२ जनाको समर्थन रहेको संसदीय दलको निर्णय बुझाएर फर्किएका थिए। दुवैले दलको नेताको हैसियतले गरेको निर्णय बुझाए पनि सांसदहरुको व्यक्तिगत हस्ताक्षर बुझाएका छैनन् । धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दाबी गर्न साँझ ५ बजेसम्मको समय दिइएको थियाे। उक्त समयमा केपी ओली र देउवाको दाबी पेश भएको छ।

मा प्रकाशित