कस्तो रहन्छ आज देशभरको मौसम, ताउ–ते चक्रवातको प्रभाव कहाँ कस्तो ?

सो प्रणालीका कारण मंगलबारबाट देशका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदलीको हुने मौसमविदले बताए । यस्तै बुधबार बेलुकादेखि शुक्रबारसम्म कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानमा भारी वर्षा हुने छ ।

गणतन्त्र नेपाल संवाददाता

काठमाडौँ  । देशभरको मौसम मंगलबार सामान्यदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणाली तथा पूर्वीमध्य अरब सागरमा बनेको अति शक्तिशाली चक्रवात ‘ताउ–ते’ को प्रभावले मौसम बदली भएको हो ।

मौसमविद प्रतिभा मानन्धरका अनुसार ताउ–ते चक्रवातको प्रत्यक्ष प्रभाव नेपालमा नपरे पनि विशेष गरि पश्चिम तथा उच्च हिमाली क्षेत्रमा अप्रत्यक्ष प्रभाव परेको छ । अहिले देशभर सामान्य बदलीको अवस्था छ ।

मंगलबार देशभर सामान्यदेखि पूर्ण बदली रहने महाशाखाले जनाएको छ । देशको पहाडी भू–भाग तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना छ ।

यस्तै राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशको पहाडी भू–भाग तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद मानन्धरले बताएकी छन् । उच्च हिमाली भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना छ ।

यसैबिच शक्तिशाली चक्रवात ताउ–ते उत्तर–उत्तरपश्चिम हुँदै सोमबार राति गुजरात पुगेर ठोक्किएको छ । चक्रवातको प्रत्यक्ष प्रभाब नेपालमा नपरे तापनि केही असर नेपालको भू–भागमा पनि पर्ने सम्भावना छ ।

सो प्रणालीका कारण मंगलबारबाट देशका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदलीको हुने मौसमविदले बताए । यस्तै बुधबार बेलुकादेखि शुक्रबारसम्म कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानमा भारी वर्षा हुने छ ।

यस्तै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश को १–२ स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद मानन्धरले बताइन् ।

यो सिजनमा मेघ गर्जन र चट्याङ्ग र हावाहुरी तथा असिना–पानीको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।

मा प्रकाशित