निर्दयी कोरोना ! विवाहको भोलिपल्टै दुलहीलाई कोरोनाले छोयो, आठ दिनपछि अस्पतालमै बितिन

गणतन्त्र नेपाल संवाददाता

काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-११ पैंयुटारकी २३ वर्षीया युवतीको वैशाख ११ गते बिहे भएको थियो। भक्तपुर चाँगुनारायण नगरपालिका- ८ सुडालका युवकसँग उनको मागी बिहे भएको थियो।

दुबै पहिले परिचित थिएनन्। आफन्त-आफन्तबीच चिनजानको आधारमा उनीहरूको वैवाहिक सम्बन्ध जोडिन पुगेको थियो। उनीहरूको चैतमै इङ्गेजमेन्ट भएको थियो। बिहेको लगन त्यतिबेलै जुराइएको थियो।

वैशाख ११ गते बिहे सम्पन्न भयो। त्यतिबेला कोरोनाको महामारी बढिरहेको त थियो, तर अहिलेको जस्तो निषेधाज्ञा थिएन। आफन्तका अनुसार बिहे भएको भोलिपल्ट दुबै जना दुल्हन फर्काउन कपन आएका थिए।

त्यही दिन युवतीलाई खोकी लाग्न थाल्यो। बेस्सरी खोकी लागेपछि उनलाई भक्तपुर अस्पताल लगियो। ‘हामीले यहाँबाट भक्तपुर लग्यौं, त्यहाँ एन्टिजेनबाट कोरोना परीक्षण गरियो,’ बुढानिलकण्ठ-११ वडासदस्य तथा युवतीका नातेदार विमल लामाले भने, ‘त्यसपछि गाह्रो हुन थाल्यो।’

उनका अनुसार बिहेमा सीमित आफन्तहरूलाई मात्र बोलाइएको थियो। धेरै ठूलो भीडभाड हुने गरी मान्छे थिएनन्। बिहे हुनुभन्दा अगाडि युवतीमा कोरोनाको खासै लक्षण थिएन। भक्तपुर अस्पतालमा कोरोना पोजेटिभ देखिएपछि उनलाई क्रमश: समस्या थपिन थाल्यो।

श्वासप्रश्वासमा अत्याधिक समस्या देखिएपछि उनलाई १३ गते आइसियूमा राखियो। आइसियूमा राखेपछि पनि उनी निको भइनन्। सोमबार दिउँसो मृत्यु भयो।उपचारमा संलग्न डाक्टरका अनुसार ती युवतीलाई अस्पताल आउँदै सास फेर्न गाह्रो भइरहेको थियो। उनलाई ज्वरो, रुघाखोकी पनि थियो। परीक्षण रिपोर्ट पोजेटिभ त छँदैथियो, त्यसमाथि उनलाई निमोनिया भइसकेको थियो।

‘परीक्षण गर्दा फोक्सोको दुबै भाग निमोनियाले लगभग ड्यामेज भइसकेको थियो,’ भक्तपुर अस्पतालका कोभिड प्रमुख डा. सुनिल ढुंगेलले भने। भर्ना भएकै दिन आइसियू खाली थिएन। उनलाई प्रतिमिनेट पन्ध्र लिटर अक्सिजन दिएर राखियो।

बिरामी निकाल्ने अवस्थाको बेड खाली गराएपछि उनलाई भोलिपल्ट आइसियूमा भर्ना गरियो। तर, उनको स्वास्थ्य जटिल हुँदै गयो। त्यसपछि भेन्टिलेटर मेसिनको सहायताले मास्कद्वारा श्वासप्रश्वास गराइयो। त्यो प्रयास पनि काम लागेन।

‘अन्तिममा पूरै भेन्टिलेटर मुखबाट पाइप छिराएरै श्वासप्रश्वास गराइयो, ती कुनै प्रयास आशालाग्दा भएनन् र उहाँको मृत्यु भयो,’ ढुंगेलले भने।mउनका अनुसार यो बीचमा युवतीलाई कोरोना प्रत्याक्रमणका सबै औषधी चलाइयो। निमोनिया ठिक पार्ने औषधी दिइयो।

प्लाज्मा थेरापी विधिबाट पनि उपचार गरियो। ‘कोभिडको बिरामीलाई त्यसै पनि श्वाप्रश्वासको समस्या हुन्छ, त्यसमाथि उहाँको फोक्सो निमोनियाले खाइसकेको थियो,’ ढुंगेलले भने, ‘उहाँलाई भेन्टिलेटरमा राखेर शतप्रतिशत अक्सिजन चलाइयो, तर बचाउन सकिएन।’

युवतीसँग विवाह गरेका युवक इन्टेरियर डिजाइनर हुन्। बिहे भएको एक दिनमात्र उनीहरू सँगै रहे। दुलही लिएर ससुराली हिँडेका बेहुला उनलाई लिएर घर फर्किन पाएनन्। बेहुलाका परिवारले दुलही भित्र्याउने रीतिथिति पूरा त गर्‍यो तर उनी त्यो घरमा दोस्रो दिन पनि बिताउन पाइनन्।

उनी परिवारकी एक्ली छोरी थिइन्। पैयुँटारमा उनीहरूको बसोबास पहिलेदेखिको हो। वडासदस्य लामाका अनुसार उनका २० वर्षीय एक भाइ छन्। उनी ब्याचलर तेस्रो वर्षमा अध्ययन गरिरहेकी थिइन्।

‘बिहे भएको एक साताभित्रै उनले संसार छोडिन्, परिवारमा ठूलो बज्रपात परेको छ,’ लामाले भने। उनको अन्तिम संस्कार पशुपति आर्यघाटमा गरिएको छ।

डाक्टर ढुंगेलका अनुसार ती युवतीलाई बिहेपहिले नै रूघाखोकी लागेको बुझिएको छ। तर, उनले त्यसलाई सामान्य ठानेकाले समस्या बढेको हुनुपर्छ। ‘बिहे नजिक आएकाले उहाँले आफ्नो स्वास्थ्यमा सामान्य समस्या हुँदा नभनेको हुनुपर्छ, फेरि हामीले उहाँकै मुखबाट पहिले रुघाखोकी थियो भन्ने सुनेनौं पनि,’ ढुंगेलले भने।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID