
देउखुरी बचत तथा ऋण सहकारी संस्थाकाे बिभाजनकाे माग गर्दै साविकका हरियाली, बिहानी र जनजिविका सहकारीका सञ्चालक, सेयर सदस्यहरूले प्रदर्शन गरेका छन् । केही बर्ष पहिले दाङ-देउखुरीकाे राप्ती गाउँपालिकामा रहेका हरियाली, बिहानी, महाप्रभु र जनजिविका बचत तथा ऋण सहकारी संस्थाहरू मर्ज भएर देउखुरी बचत तथा ऋण संस्था बनेकाे थियाे ।
तर साविककाे महाप्रभु सहकारीमा ५ कराेड बढी रकम हिनामिना भएकाे तथ्य फेला परेपछि हाल उक्त हिनामिना सम्बन्धी मुद्दा दाङ-देउखुरी जिल्ला अदालतमा बिचारधिन अवस्थामा रहेकाे छ । यता मर्ज भएर बनेकाे देउखुरी बचत तथा ऋण सहकारी संस्थाकाे अहिले सम्म एकता प्रकृया हुन सकेकाे छैन । मर्ज भएकाे ३० महिना सम्म न त लेखापरिक्षण हुन सकेकाे छ न त साधारणसभा नै हुन सकेकाे छ । जसले गर्दा देउखुरी सहकारीकाे सम्पूर्ण काराेबार प्रभावित भएकाे छ ।

त्यसपछि साविकका चार वटै सहकारीका संञ्चालकहरू बिभाजनमा जाने सहमति भएकाे थियाे तर पछिल्लो समय महाप्रभु बिभाजनमा बाधक बनेपछि सहकारी संस्था दर्ता अधिकारीकाे कार्यालयले बिभाजन गर्न अस्बीकार गरेकाे छ । लामाे समय सम्म पनि सहकारी बिभाजन गर्न सहकारी दर्ता अधिकारी कार्यालयले अस्बीकार गरेपछि साविकका हरियाली, बिहानी र जनजिविका सहकारीका सञ्चालक, सेयर सदस्यहरूले प्रदर्शन गरेका हुन् । उनीहरूले कुनैपनि हालतमा बिभाजन हुनुपर्ने माग गरेका छन् ।






