
गढवा,३१ असार । गढवा गाउँपालिका न्यायिक समितिले आर्थिक वर्ष २०७९/ ०८० मा एक सय नौ वटा विवाद फर्च्योट गरेको छ। गत वर्षको २६ वटा उजुरी र आर्थिक वर्ष २०८० साल असार २९ गते सम्म १ सय २४ वटा विवाद दर्ता भएका थिए । जस मध्ये १ सय नौ वटा विवाद फर्च्योट गरेको र १५ वटा विवाद मिलाउनको लागि दुबै पक्षहरु संग छलफल चलिरहेको गढवा गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक शारदा कुमारी चौधरीले जानकारी दिनुभयो।
त्यस्तै गत वर्षको निरुपण हुन बाँकी थप २६ वटा विवाद गरि कुल १ सय २४ वटा विवाद उपर छलफल गराई निरुपण गर्न सफल भएको पालिकाकी उपाध्यक्ष तथा न्यायिक समितिकी संयोजक चौधरीले बताउनुभयो।
गढवा गाउँपालिकाको न्यायिक समितिमा सबै भन्दा बढी जग्गाको वादविवादको उजुरी पर्ने गरेको संयोजक चौधरीले बताउनुभयो । सा-सानो बिषयमा समेत ठुलो विवाद हुने गरेको तर न्यायिक समितिले जटिल विवाद समेत मिलाउने गरेको बताउनु भयो । न्यायिक समितिले १८ बर्ष सम्म पनि मिल्न नसकेको विवाद समेत सहजै फर्च्यौट गरेको पालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक शारदा कुमारी चौधरीले जानकारी दिनुभयो।
आर्थिक वर्ष २०७९/०८० जग्गा विवाद सम्बन्धी ४५ वटा उजुरी दर्ता भएका थिए जस मध्ये ४१ वटा उजुरीको मेलमिलाप गराई फर्च्योट भएको छ । त्यसैगरी विवाह सम्बन्धी ७ वटा उजुरी परेको थियो जस मध्ये ६ वटा उजुरी फर्च्योट भएको छ। त्यसैगरी लेनदेन सम्बन्धी विवाद ३२ वटा उजुरी परेको थीयो भने ३१ वटा उजुरी मेलमिलाप बाटै फर्च्योट भएको छ। त्यसैगरी अंश विवादमा २८ वटा र विविधमा १२ वटा उजुरी दर्ता भएको थियो। गत वर्षको २६ वटा उजुरी र आर्थिक वर्ष २०७९/०८० मा परेको जम्मा उजुरी सहित कुल १ सय २४ उजुरी मध्ये १ सय नौ उजुरी फर्च्योट गरिएको छ भने १५ वटा उजुरीको बारेमा छलफल चलिरहेको र केही समयमा फर्च्योट हुने बिश्वास न्यायिक समितिको रहेको न्यायिक समितिका सदस्य देविलाल थारु कुमाल बताउनुभयो। न्यायिक समितिले आर्थिक वर्षको असार २९ गतेसम्म मेलमिलापको माध्यमवाट ती विवादहरु निरुपन गरेको जनाएको छ ।
हाल सम्म ४ वटा मुद्दा इलाका प्रहरी कार्यालयमा सिफारिस गरिएको छ। त्यसैगरी जिल्ला प्रशासन कार्यालयमा पठाईएको ३वटा ,अन्य निकायमा सिफारिस गरिएको संख्या ३२वटा , मिलापत्र भएको ४१ र आदेश तथा निर्णयबाट भएको २९ वटा मुद्दाहरु रहेको गढवा गाउँपालिका न्यायिक समितिले जानकारी दिएको छ।
गाउँपालिकामा उपाध्यक्ष शारदा कुमारी चौधरीको संयोजकत्वमा ३ सदस्य न्यायिक समिति रहेको छ । जसको सदस्यहरुमा वडा नं १ का वडा सदस्य देविलाल थारु कुमाल, ७ नम्वर वडा सदस्य रेखा थापा रहनु भएको छ। त्यसैगरी उजुरी प्रशासकमा शुरेश पौडेल रहनु भएको छ।





