विधेयक पेश गर्ने प्रक्रियामा रास्वपा र राप्रपाले प्रश्न उठाएपछि संसद अवरुद्ध

गणतन्त्रनेपाल समाचारदाता

काठमाडौँ, ३१ असार। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विधेयक प्रस्तुत गर्ने विधिमा प्रश्न उठाएर रोष्टम घेराउ गरेपछि प्रतिनिधि सभाको आइतबारको बैठक १५ मिनेटका स्थगित भएको छ।

प्रतिनिधि सभाको आजको कार्यसूचीमा रहेको केही नेपाल ऐन संशोधन विधेयक पेश गर्नु अघि निर्णयार्थ पेश नभएको भन्दै रास्वपा र राप्रपाले विरोध गरेका हुन्।

प्रतिनिधि सभामा केही नेपाल ऐन संशोधन विधेयक पेश गर्नु अघि त्यसका विरोधका सूचनामा छलफल भएको थियो। अदालतमा विचाराधीन रहेको मुद्दा फिर्ता गर्न सक्ने गरि ल्याइएको विधेयकको एउटा प्रावधानलाई लिएर रास्ववा र राप्रपाले विरोध गरेका थिए।

राप्रपाका सांसद ज्ञानेन्द्र शाही, नेमकिपाका सांसद प्रेम सुवाल, रास्वपाकी सांसद सुमना श्रेष्ठ र सोविता गौतमले विरोधको सूचना राखेका थिए।

उनीहरुको विरोधको सूचना सभामुखले निर्णयार्थ पेश गर्दा अस्वीकृत भएको थियो।

लगत्तै सभमुखले केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०८० को विरोधको सूचना बहुमतले अस्वीकृत भएकाले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक प्रस्तुत गर्न अनुमति प्राप्त भएको घोषणा गरेका थिए। लगत्तै राप्रपाका सांसदहरुले उठेर विरोध जनाउन खोजेका थिए। तर सभामुख घिमिरेले कानुन मन्त्री धनराज गुरुङलाई विधेयक पेश गर्न अनुमति दिएका थिए।

मन्त्री गुरुङले विधेयक पेश गरेपछि रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले विधेयक पेश गर्ने बेला निर्णयार्थ पेश नभएको भन्दै आपत्ति जनाए। तर सभामुख घिमिरेले विधेयक पेश गर्ने बेला आपत्ती नजनाइएको भन्दै संसद अघि बढाउन खोजे। तर रास्वपा र राप्रपाका सांसदहरू प्रक्रियामा प्रश्न उठाउँदै अवरोध गरिरहे।

सभामुख देवराज घिमिरे पनि पक्रियामा अलमलिए। प्रतिनिधि सभाको सभामुख र प्रतिनिधि सभाका सचिव दुवै नयाँ भएका कारण सभामुख घिमिरे लगातार सचिवालयसँग परामर्शमा जुटेका थिए।

उनले रेकर्ड हेर्न सकिने जवाफ दिए। तर रास्वपाले चित्त बुझाएन। सभामुख घिमिरेले पनि आफूले विधेयक प्रस्तुत गर्ने विषय राख्दा ताली बजेर पारित भएको बताए।

‘पारित भइसकेपछि कानुन मन्त्रीले पेश गर्नुभयो। तपाईंहरुको समयमा विरोध नआएकाले र तपाईंहरुले समर्थन जनाएकाले पारित गरियो र यहाँ टेबल गरियो’, सभामुख घिमिरेले भने।

लगत्तै सभामुखले शिक्षा मन्त्री अशोक राईलाई नेपाल विश्वविद्यालय विधेयक पेश गर्न अनुमति दिए। रास्वपा र राप्रपाले लगत्तै रोष्टम घेराउ गरेपछी संसद अवरुद्ध भएको छ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID