
गढवा, १६ पौष ।
लुम्बिनी प्रदेशसभा सदस्यहरुले पद तथा गोपनियताको शपथ लिनुभएको छ। आईतबार लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकाको प्रदेश सभा भवनमा नवनिर्वाचित सदस्यहरुले शपत लिनु भएको हो । प्रदेश प्रमुख अमित शेरचनले पद तथा गोपनियताको शपत ग्रहण गराउनु भएको हो ।

८७ जना प्रदेशसभा सदस्यमध्ये ९ जनाले आफ्नै मातृभाषामा शपथ लिनु भएको छ भने भने अन्यले नेपाली भाषामा शपथ लिनु भएको छ ।
स्थायी राजधानी राप्ती उपत्यका देउखुरी दाङ स्थित राप्ती प्राविधिक शिक्षालय परिसरमा तयार भएको प्रदेशसभा भवनमा प्रदेश सभा सदस्यहरुले शपथ ग्रहण गर्नु भएको हो । प्रदेशसभा नियमावली २०७९ को दफा ४ को उपदफा १ बमोजिम प्रदेशसभामा निर्वाचित भइ आउने सदस्यलाई प्रदेश प्रमुखले पद तथा गोपनियताको शपथ ग्रहण गराउने व्यवस्था अनुसार प्रदेश प्रमुखबाटै शपथ ग्रहण गराइएको स्रोतले बताएको छ।

लुम्बिनी प्रदेशसभामा कुल ८७ सदस्य निर्वाचित हुनुभएको छ । जसमध्ये नेकपा एमालेबाट २९, नेपाली कांग्रेसबाट २७, माओवादी केन्द्रबाट ९, राप्रपा र नागरिक उन्मुक्ति पार्टीबाट ४र४ जना रहनु भएको छ । त्यसैगरी जसपा, लोसपा, जनमत पाटी र स्वतन्त्र ३र३ जना तथा नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबाट एक एक जना सांसद रहनु भएको छ।

प्रदेशसभामा २९ सिटसहित एमाले पहिलो दल बनेको छ । कांग्रेसले २७ सिट जितेको छ । लुम्बिनी प्रदेशसभामा प्रत्यक्षबाट ५२ र समानुपातिकबाट ३५ गरी ८७ सिट रहेको छ। प्रदेशसभाको पहिलो अधिवेशन सोमवार दिउसो १ बजे बस्ने भएकाे छ।






