माओवादीको नीति : कांग्रेससँग बार्गेनिङ कि एमालेसँग नयाँ सरकार ?

गणतन्त्रनेपाल डटकम

काठमाडौं, १७ मंसिर

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले नयाँ सरकार गठन गर्न जुनसुकै पार्टीसँग खुला रहने बताउनु भएकाे छ ।

शनिबार दिउँसो पार्टी पदाधिकारीहरुको अनौपचारिक छलफलपछि महराले नेकपा एमालेसँग मिलेर सरकार बनाउने विकल्पसमेत खुला रहेको बताउनु भयाे  । ‘बनाएको गठबन्धन छोड्ने निर्णय गरिएको छैन, तर अन्य विकल्प पनि खुला राखिएको छ’, महराले भन्नु भएकाे थियाे ।

पछिल्ला दिनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्रीमा आलोपालो हुनुपर्ने र पहिलो चरणको नेतृत्व आफूले पाउनुपर्ने कुरा राख्नु भएकाे थियाे  । तर देउवाले भने कुनै जवाफ नदिई मौन बसेका छन् । त्यहीमाथि एमाले अध्यक्ष केपी शर्मा ओलीका साथै अरु नेताहरुले पनि फोन गरेर सहकार्यबारे संवाद गरेका कारण प्रचण्ड निकै तरंगित भएका छन् ।

त्यस्तो बेला उपाध्यक्ष महराले एमालेसहित सबै दलसँग गठबन्धनका लागि खुला रहेको बताउनुलाई अर्थपूर्ण मानिएको छ ।

महराको अभिव्यक्तिप्रति माओवादी केन्द्रकै कतिपय पदाधिकारीहरुले भने आश्चर्य प्रकट गरेका छन् । ‘बैठक त सुरु भएकै छैन, खासमा अनौपचारिक सम्वाद हो । उहाँले (महरा) त अर्कै कुरा भन्नुभएछ’ एक पदाधिकारी भन्छन्, ‘भोलिबाट बैठक त बल्ल सुरु हुने हो ।’

यद्यपि सरकार गठनबारे भइरहेको कुराकानीबारे भने प्रचण्डले जानकारी गराएका थिए । ‘शेरबहादुर देउवा, माधव नेपालदेखि सीके राउतसँग पनि कुराकानी भएको जानकारी प्रचण्ड कमरेडले दिनुभयो’ ती पदाधिकारी भन्छन्, ‘केपी ओलीसँग पनि कुराकानी भयो भन्नुभयो ।’ तर छलफलको धेरैजसो समय चुनावी नतिजामै केन्द्रित भएको अर्का पदाधिकारी बताउँछन् । उनकाअनुसार, पाँच दलीय गठबन्धन हुँदा पनि राम्रो नतिजा आउन नसकेकोबारे खुलेर समीक्षा गर्नुपर्छ भन्नेमा नेताहरुको जोड थियो ।

गण्डकी, मधेस लगायत प्रदेशमा असाध्यै नराम्रो नतिजा आउनुको कारणबारे पनि गहिरिएर समीक्षा हुन आवश्यक रहेको प्रचण्डले भन्नु भएकाे थियाे । । ‘चुनावी समीक्षा सुरु भएको छ, अरु केही निर्णय भएको छैन भन्ने जानकारीे गराउने भन्ने थियो’, ती पदाधिकारी भन्छन् ।

तर उपाध्यक्ष महराले सरकार गठनमा खुला रहने बताउनुले प्रचण्ड यो विषयको छलफलमा पदाधिकारीले खुलेर धारणा राखुन् भन्ने चाहेको पनि हुनसक्ने अर्का एक पदाधिकारी अनुमान लगाउँछन् ।

‘केपी ओलीसँग कुराकानी भएको भन्नुभएको थियो । सायद, उहाँले (प्रचण्ड) यो विषय खुलेर सबैले राखुन् भन्ने चाहनुभएको होला’, ती नेता भन्छन्, महराको अभिव्यक्ति तिमीले दिएनौं भने अर्कोतिर पनि जान्छौं भन्ने कांग्रेसलाई चेतावनी जस्तो हो । एकातिर युद्ध, अर्कोतिर वार्ता त माओवादीको पलिहेदेखि नै गर्दै आएको हो नि !’

एमालेका कतिपय नेताहरुले पनि माओवादी र एकीकृत समाजवादीलाई समेटेर सरकार बनाउनुपर्ने सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् । त्यस्तो संकेतयुक्त अभिव्यक्ति दिनेमध्येका एक नेता सुवास नेम्बाङ, माओवादी केन्द्रले सरकार गठनमा खुला रहेको बताउनुलाई राम्रै अर्थमा लिनुपर्ने बताउँछन् । ‘यो चुनावको परिणाम भनेको सबै दलहरुको सबैसँग नै छलफल हुनुपर्छ भन्ने हो । माओवादी केन्द्रले कसैसँग नबाँधेर आफूलाई खुला राख्नु भनेको एउटा अर्थमा राम्रै हो’ नेम्बाङ भन्छन् ।

एमालेका अर्का पदाधिकारी भने माओवादी केन्द्रले गठबन्धन बदल्ने गरी निर्णय गर्ने संभावना न्यून रहेको बताउँछन् । ‘उहाँहरुको गठबन्धनसँग सामान्य बहुमत पुग्ने देखिन्छ, त्यसो हुँदा हामीसँग सहकार्यको निर्णयमै पुग्ने सम्भावना देख्दिन’, ती पदाधिकारी भन्छन् ।

प्रचण्डले एमालेसँग सरकार बनाउने प्रचार गरेर कांग्रेससँग बार्गेनिङ बढाउन चाहेको हुनसक्ने ती पदाधिकारी आशंका गर्छन् । यसअघिका घटनाक्रम, माओवादी पदाधिकारीहरुको अनौपचारिक छलफल र महराको सार्वजनिक अभिव्यक्तिले पनि एमालेका यी नेताकै आशंकालाई बल पुग्ने देखिन्छ । किनकि प्रचण्डले चुनाव अगाडि नै माओवादी केन्द्र तेस्रो, तर निर्णायक शक्ति बन्ने बताएका थिए । तर नतिजा भने त्यस्तो आएन ।

लगत्तै प्रचण्डले एकीकृत समाजवादीसँग एकताको सम्वाद बढाए, तर एकीकृत समाजवादीभित्र पनि तत्काल एकताको माहोल बन्न सकेको छैन । पार्टीभित्रै एउटा पक्षले माओवादी केन्द्रसँग तत्काल एकता नगर्ने अडान लिएपछि अध्यक्ष माधव नेपाल नै दबावमा परेका छन् ।

चुनावी समीक्षा : केन्द्रमा अपेक्षित नतिजा आएन

बैठकमा प्रचण्डले चुनावी परिणमबारे प्रारम्भिक समीक्षा पेश गर्नु भएकाे थियाे  । उहांले प्रदेशमा सन्तोषजनक परिणाम आए पनि प्रतिनिधिसभामा भने सोचेजस्तो परिणाम नआएको बताउनु भएकाे थियाे।

‘प्रदेशमा सन्तोषजकन परिणाम आयो, तर संघमा अपेक्षाकृत परिणाम आएन,’ प्रचण्डको भनाइ थियो, ‘यस्तो परिणाम किन आयो, यसको कारण खोज्नुपर्छ ।’

बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष महरा, महासचिव देव गुरुङ र उपमहासचिव पम्झा भुसालले पनि भनाइ राख्नु भएकाे थियाे ।

श्रेष्ठले आफ्नो संगठनको तागतबिना राम्रो परिणाम नआउने भन्दै संगठन सुदृढीकरणमा जोड दिनु भएकाे थियाे । ‘जबसम्म पार्टीको संगठन सुदृढ हुँदैन तबसम्म राम्रो नतिजा आउँदैन’, बैठकमा उनको भनाइ थियो, ‘अरुमा भर पर्ने भन्दा पनि आफ्नै संगठनमा भर पर्नुपर्छ ।’

महासचिव देव गुरुङले भन्नु भयाे  ‘माओवादी मन नपराउने राष्ट्रिय, अन्तर्राष्ट्रिय शक्ति लागेर पराजित गरेको’ बताउनु भएकाे थियाे ।

चुनावको विस्तृत समीक्षा भने सबै परिणाम आएपछि गर्ने प्रवक्ता महराले जानकारी  दिनु भयाे  । बैठक भोलि दिउँसो २ बजेदेखि पुनः बस्ने छ ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID