
पाँच देशका विज्ञहरु सहभागी ‘भोलिको शहर’ सम्बन्धी सम्मेलनमा लुम्बिनी प्रदेशको राजधानी रहने पालिकाका प्रमुखहरु पनि सहभागी हुने भएका छन् ।
लुम्बिनी प्रदेशको राजधानी शहर बसाल्ने तयारी भइरहेको बेला दाङका राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको शितगंगा नगरपालिकाका प्रमुखहरु सम्मेलनमा सहभागी हुन काठमाडौं पुगिसक्नु भएको छ ।
राप्ती गाउँपालिका प्रमुख प्रकाश विष्ट, गढवा गाउँपालिका प्रमुख यमनारायण पोख्रेल (विश्वास), शितगंगा नगरपालिका प्रमुख छविलाल पौडेल र लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका सीईओ छवि पोखरेलसहितको टोली काठमाडौंमा पुगेको छ । ललितपुरको हिमालय होटलमा आयोजित सम्मेलनमा राप्ती, गढवा र अर्घाखाँचीका जनप्रतिनिधिको टोली बुधबार सहभागी हुने कार्यक्रम रहेको छ।
विकासको नाममा अव्यवस्थित शहरीकरण बढीरहेका बेला ‘भोलिको शहर’लाई जोखिम मुक्त बनाउने अभियानमा संलग्न विभिन्न ५ देशका विषय विज्ञहरुको सम्मेलनलाई ‘टुमरो सिटी अर्वान रिक्स इन ट्रान्जिसन’ नाम दिइएको छ ।
दाङको राप्ती उपत्यकामा लुम्बिनी प्रदेशको व्यवस्थित राजधानी शहर बसाल्ने तयारी भइरहेको बेला यो सम्मेलन उपलब्धिपूर्ण हुने राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले जानकारी दिनु भएको छ।
गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले सम्मेलनबाट प्राप्त राय, सुझावका आधारमा राजधानी शहरका पूर्वाधार निर्माणमा ध्यान दिन सहायकसिद्ध हुने बताउनु भएको छ।
राप्ती गाउँपालिका पूरै, गढवा गाउँपालिकाका वडा नं. १, २ र ३ तथा अर्घाखाँचीको शितगंगा नगरपालिकाका ८ र ९ नम्बर वडाले चर्चेको क्षेत्रमा लुम्बिनीको राजधानी रहने निर्णय प्रदेश सरकारले गरेको थियो । राजधानी शहरको गुरूयोजना तयार भइसकेको छ ।
सम्मेलनमा नेपालसहित टर्की, केन्या, इक्वेडर र बेलायतका वैज्ञानिकहरु सहभागी रहनु भएको छ। ५ दिनसम्म चल्ने सम्मेलनमा विषय विज्ञहरुले आ–आफ्नो देशमा भोलिको शहर परियोजना अन्तर्गत अध्ययनका क्रममा प्राप्त भएका उपलब्धि र चुनौतिबारे छलफल गर्नु हुनेछ।
युके रिसर्च एण्ड इनोभेसन, बेलायतका विश्वविद्यालय, प्राक्टिकल एक्सन, नेपाल विकास अनुसन्धान संस्था, एनसेट लगायत विभिन्न संस्थाहरुको संयुक्त पहलमा शुरु भएको भोलिको शहर परियोजनाले पूर्वाधार निर्माण गर्दा भविष्यमा पर्नसक्ने विपद् र जोखिमको पूर्व आँकलन गर्नेछन् ।
सम्मेलनमा सहभागी एनसेटका उपकार्यकारी निर्देशक डा. रमेश गुरागाईंले नयाँ पूर्वाधार र बस्तीहरुलाई जोखिममुक्त बनाउने अभियानका साथ भोलिको शहर (टुमरो सिटी) परियोजनाले नेपाल लगायत विभिन्न ४ वटा मुलुकका केही शहरमा अध्ययन गरिरहेको जानकारी दिनुभयो । यो परियोजनाले हाल ललितपुरको खोकना र बुंगमतीमा अध्ययन अनुसन्धान गरिरहेको छ । सम्मेलन शुक्रबारसम्म चल्ने छ ।





