के हो ग्लोबल आइएमई बैंकको दुई वर्षमै मुद्दती बचत दोब्बर हुने योजना ?

गणतन्त्रनेपाल समाचारदाता

ग्लोबल आइएमई बैंकले दुई वर्षमै दुई गुणा हुने मुद्दती योजना ल्याएको छ। ‘ग्लोबल आइएमई धनवृष्टि मुद्दती योजना’ अन्तर्गत ग्राहकले दुई वर्षमै आफ्नो मुद्दती निक्षेप दोब्बर गर्न सक्ने बैंकले जनाएको छ।

कसरी हुन्छ त ग्राहकको रकम दुई वर्षमा दोब्बर?

यो भनेको कसैले बैंकमा एक लाख रूपैयाँ बचत गर्दा दुई वर्षपछि आफैं दुई लाख हुने होइन।

कसरी हुन्छ त दोब्बर?

बैंकका अनुसार यो योजना अन्तर्गत ग्राहकले सबभन्दा सुरूमा मुद्दती निक्षेप खाता खोल्न कुनै निश्चित रकम छनोट गर्नुपर्नेछ। यस्तो रकम कम्तीमा दस हजार रूपैयाँ हुनुपर्छ।

यो पैसा जम्मा गरेपछि हरेक तीन/तीन महिनामा छनौट गरेको रकमको १० प्रतिशत रकम जम्मा गर्नुपर्छ। अर्थात् वर्षको चार पटक। दुई वर्षको योजना भएकाले यस हिसाबले जाँदा आठ पटक यसरी रकम जम्मा गर्नुपर्ने हुन्थ्यो। तर बैंकले अन्तिम त्रैमासमा रकम जम्मा गर्न नपर्ने गरी यो योजना ल्याएको हो।

त्यसैले दुई वर्षमा तीन/तीन महिनामा गरेर सात पटक आफूले जम्मा गरेको कुल रकमको दस प्रतिशत रकम जम्मा गर्दै जानुपर्नेछ।

यसलाई उदाहरणबाट बुझौं

मानौं तपाईंले यो योजना अन्तर्गत मुद्दती निक्षेप खाता खोलेर एक लाख रूपैयाँ जम्मा गर्नुभयो। अब यसको १० प्रतिशत हुने भयो १० हजार रूपैयाँ। अब नियमअनुसार हरेक तीन/तीन महिनामा दस/दस हजार जम्मा गर्दै जानुपर्‍यो।

दुई वर्षमा सात पटक यसरी दस हजार रूपैयाँ जम्मा गर्दा ७० हजार रूपैयाँ पुग्छ। सुरूमा राखेको एक लाख रूपैयाँ त छँदैछ।

अब मुद्दती योजनाको दुई वर्ष पुगेपछि बैंकले सुरूमा राखेको एक लाख रूपैयाँ, हरेक त्रैमासमा जम्मा गरेर भएको ७० हजार रूपैयाँ र ब्याजका रूपमा ३० हजार रूपैयाँ थपेर दुई लाख रूपैयाँ दिनेछ।

बैंकका अनुसार यो मुद्दती योजना विशेष जागिरे मानिसहरूका लागि उपयुक्त र फाइदाजनक छ। यो योजना चाडपर्व विशेष भएकाले छठ पर्वसम्म लागू हुने बैंकले बताएको छ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID