
म दिनहुँ कार्यालयमा काम गर्दा प्राय सेवाग्राहीबाट सुनिने एउटा वाक्य हो “मैले तिरेको करले तलब खाएका छौँ।” यो वाक्य म दिनहुँ जस्तो सुन्छु कसैले केही पछाडी बाट अली पर नसुनियोस भन्ने शैलीमा भन्नुहुन्छ त कसैले सिधै अगाडी नै भन्नुहुन्छ। कसैकसैले मनमनमा भन्नुहुन्छ होला । तर यो कार्यालयमा दिनहुँ जस्तो सुनिने वाक्य हो। यो वाक्य सुन्न लागेको पनि छ वर्ष पुग्न पुग्न लाग्दा समेत यो वाक्य ले मन चसक्क हुन भने अझै छोडेको नै छैन। त्यो वाक्यले मलाई के म कर तिरेको छैन र? के सेवाग्राही ले तिरेको करले कर्मचारीकै तलब भत्ताकै लागि मात्रै हो त? उहाँहरुले तिरेको कर प्रत्यक्ष अप्रत्यक्ष रुपमा उहाँहरुकै जिवनमा प्रत्येक दिन प्रयोग भएको छैन र? भनेर सोच्न बाध्य बनाउँछ।
एउटा कर्मचारी जिवनको धैरै समय त आम नागरिकको रुपमा नै रहने गर्दछ। उ पनि आम नागरिक सरह कहिले सरकारी कर्मचारी त कहिले सेवाग्राही त कहिले उपभोक्ता जस्तो विविध भुमिकामा रहेको हुन्छ। प्रत्येक भूमिकामा रहदाँ उसले पनी नियमअनुसार कर तिर्ने नै गर्दछ।
नेपालको कर प्रणालीलाई मुख्यतया दुई भागमा वर्गिकरण गरिएको छ। प्रत्यक्ष कर र अप्रत्यक्ष कर । प्रत्यक्ष करमा व्याक्तीको आम्दानी वा व्यवसायको नाफामा लाग्ने कर हो। यो कर अरुमा हस्तान्तरण हुन सक्दैन। कर्मचारीले पनि पारीश्रमिक करको रुपमा तलबबाटै निश्चित रकम कट्टी हुन्छ। नेपाल सरकारका कर्मचारीहरूको पारिश्रमिकमा आयकर ऐन, २०५८ अनुसार तलबी आयको रूपमा कर लाग्छ। एकल व्यक्तिका लागि वार्षिक रु. ५,००,००० र विवाहित कर्मचारीका लागि रु. ६,००,००० सम्मको आयमा १% कर (सामाजिक सुरक्षा कर) लाग्छ। यसभन्दा बढी आयमा क्रमश: १०%, २०%, ३०%, र३६% सम्मको दरले आयकर कट्टी गरिन्। प्रत्यक्ष करकै रुपमै उसले सम्पती कर पनी तिर्छ।
प्रत्यक्ष करमा मात्रै होईन अप्रत्यक्ष करमा पनि कर्मचारीको सहभागिता हुन्छ नै। जब उ उपभोक्ताको रुपमा बजारमा गएर दैनिक उपभोग्य वस्तुहरु वा विलासिताका सामाग्री खरिद गर्छ, उसले पनि आम नागरीक सरह नै १३% मुल्य अभिवृद्धि कर र अन्तशुल्क तिरिरहेकै हुन्छ।यति मात्रै होइन, भान्सामा प्रयोग हुने ग्याँस देखी चढ्ने सवारी साधनको इन्धन सम्ममा कर्मचारिले पनी कर बुझाईरहेको हुन्छन्।
कर्मचारी सेवाप्रदायक मात्रै होइन उ सेवाग्राही पनि हो। उसले सरकारी सेवा प्रप्त गर्नको लागी करका अतिरिक्त राज्यले लिने विभिन्न प्रशासनिक शुल्क वा गैर- कर राजश्व पनी तिर्ने गर्दछ।आफ्नो जन्म देखी मृत्यु सम्मका व्याक्तिगत घटना दर्ता होस् वा राहदानी बनाउदा होस् की सवारी चालक अनुमती पत्र नविकरण गर्दा होस् की आफ्ना सन्तानलाई शिक्षण संस्थामा भर्ना गर्दा होस् कर्मचारीले प्रचलित नियम अनुसार आम नागरिक सरह शुल्क वा दस्तुर त बुझाउनै पर्छ।यसरी कर्मचारीलाइ केवल उपभोक्ता मात्रै देख्नु पनी दृष्टी दोष पो हो की ।
विडम्बना के छ भने, जुन कर्मचारीलाई करको उपभोक्ता मात्रै देखिन्छ। तिनै कर्मचारी राज्यको कर संकलनका मुख्य इन्जिन हुन्। भन्सारका झरि- बादल हुन् वा मालपोत र वडा को भिडभाड कर्मचारीले नै नागरिकको करलाई राज्यकोषसम्म पुर्याउने पुलको काम गर्दछन्। कर्मचारी केवल करबाट पालिएका होइनन्, उनिहरु त राज्यको ढुकुटी भर्ने र रक्षा गर्ने पहरेदार पनि हुन्। राज्यले करका नीतिहरु त बनाउछँ, तर ति नीतिहरुलाई व्यावहारमा उतार्ने काम कर्मचारी कै हो।
पारिश्रमिक वा तलब कसैले दिएको उपहार होइन। यो त एउटा राष्ट्र सेवकले आफ्नो जिवनको उर्वर समय, सीप र क्षमाता राज्यलाई बेचेबापत पाएको न्यूनतम मूल्य हो। जसरी एउटा मजदुरले ज्याला लिन्छ वा एउटा डाक्टरले शुल्क लिन्छ, त्यसरी नै कर्मचारीले आफ्नो श्रमको मूल्य लिन्छ। के कसैले आफ्नो श्रमको मूल्य लिँदा ” अरुको करले पालिएको” भन्नु न्यायोचित हुन्छ?
जब सेवाग्राहीबाट मेरो करबाट तलब खाएका छौँ भन्ने वाक्य प्रयोग हुन्छ सायद उसले के विर्सेको हुन्छ, भने कर त त्यो कर्मचारिले पनि तिरेको छ। त्यो कर संयुक्त रुपमा संचित कोषमा गएर जम्मा हुन्छ। त्यही संचितकोष बाट राज्यको बजेट बन्छ। त्यही बजेटले उसको गाँउमा बाटो पुगेको छ, उसले अस्पतालमा निःशुल्क खोप पाएको छ, उसको बच्चाले सरकारी विद्यालयमा किताब पाएको छ। कर्मचारी त केवल करलाई सेवामा बदल्ने एउटा माध्यम मात्र हो। करले कर्मचारी मात्रै पालीएको छैनन् करले त सिंगो राज्य र यसका सिंगो राज्य र यसका हरेक नागरिकले सुविधा पाएको छ। कर्मचारिले त आफ्नो करको सानो हिस्सा पारिश्रमिकका रुपमा लिन्छ, जसको केही मात्रा त उसले पनि पुनः करको विभिन्न रुपमा राज्यलाई नै फिर्ता गर्छ।
मलाई लाग्छ मैले पनि त कर तिरेको छु। मेरो पनि पसिनाको कर त्यही संचित कोषमै जम्मा हुन्छ। मेरो कर पनि त राष्ट्रिय बजेटको एउटा हिस्सा बन्न पुग्छ। त्यो बजेट पनि त गाउँ गाउँमा पुग्छ त्यसै बाट सरकारले आम नागरिकलाई सेवा र सुविधा प्रदान गर्छ। विकास निर्माण गर्छ। बाटो बन्छ खानेपानी आउँछ, स्वास्थ्य संस्था बन्छ, आम नागरिकले त्यसको प्रयोग गर्छन् मैले पनि पारिश्रमिक पाउँछु तर यदि मैले लेरेको करले यो देशको विकासमा एउटा इँटा थपेको छ भने, मैले चाहिँ किन गर्वका साथ मैले तिरेको करले गर्दा तिमी यो बाटो हिडेका छौँ भन्न किन नपाउने, मैले तिरेको करले गर्दा मैले तलब पाएको छु किन भन्न नपाउने अथवा कुनै सेवाग्राही आएर हामिले तिरको करले गर्दा मैले सेवा पाए किन नभन्ने ?
के म कर्मचारी भएकै नाताले मेरो करदाताको हैसियत र सम्मान समाप्त हुन्छ र? अहँ हुदैन। म पहिले नागरिक हुँ, सेवाग्राही हुँ, त्यस पछी मात्र राष्ट्र सेवक। त्यसैले, सेवाग्राहीले कर तिरेर सेवा पाउनु उसको अधिकार हो र मेरो पनि सेवा प्राप्त गर्ने अधिकार हो भने, मैले श्रम गरेर पारिक्षमिक पाउनु पनि मेरो हक हो। हामी दुवै करदाता हौँ र हामी दुवै यो राज्य प्रणालीका अभिन्न अंग हौं। -सामाजिक सञ्जालबाट





