स्वर्गद्धारी गुठि पीडित किसानहरु निर्णायक आन्दोलनमा

बिधेयक निर्माण गरी लालपूर्जा दिन माग

गणतन्त्रनेपाल समाचारदाता

घोराही ३ मंसिर । स्वर्गद्धारी आश्रमसँग सम्बन्धित किसानहरु हातमा लालपूर्जाको माग गर्दै निर्णायक संघर्षमा उत्रिएका छन् । स्वर्गद्धारी गुठिसँग सम्बन्धित करीब तीन हजार बढि घरधुरी रहेका किसानहरुले जोतभोग गरिरहेको मध्य आधा जग्गा पाउनुपर्ने माग गर्दै निर्णायक आन्दोलन गर्न लागि रहेका हुन् । वर्षौवर्ष देखि स्वर्गद्धारी गुठिको जग्गा जोतभोग गरेर पुस्तौपुस्ता बिताउँदा पनि आफूहरुले जग्गा नपाएको स्वर्गद्धारी गुठि पीडित किसानहरुको गुनासो छ । पुस्तौपुस्ताले खेती किसानी गरेर जीवन यापन गरिरहेको र हाल आउँदा सम्म पनि सोही काम गर्दा समेत विभिन्न कारणले गर्दा गुठिको जग्गा मोही वापत पाउन नसकेको किसानहरुको गुनासो छ ।

तीन हजार बढि किसानले परापूर्व कालदेखि स्वर्गद्धारी गुठिको १२ मौजामा फैलिएको करीब ७ सय बिगाहा बढि जग्गा जोतभोग गरिरहेका छन् । तीन हजार किसानको १५ हजार बढि परिवारको जीवन हाल घर न घाटको अवस्थामा बिति रहेको छ । आफूहरुसँग जग्गाको लाजपूर्जा नहुँदा खानपान, अध्ययन, व्यापार व्यवसाय देखि सबै खाले गतिविधिहरुबाट बञ्चित हुनु परेको किसानहरुको भनाइँ छ । यही कारण निर्णायक संघर्षमा स्वर्गद्धारी गुठि पीडित किसानहरु होमिएका छन् । सरकारले मुक्त कमैयादेखि सुकुम्बासीलगायतका पछाडी परेका समुदायका लागि विभिन्न कानून निर्माण गरेर समस्या सम्बोधन गर्ने प्रयास गरेको तर स्वर्गद्धारी गुठि पीडित किसानको पक्षमा कुनै पनि कानून निर्माण नभएकाले विधेयक मार्फत भएपनि आफूहरुलाई राज्यले जग्गाको लालपूर्जा प्रदान गर्ने योजना बनाउन पीडित किसानहरुले माग गरेका छन् । स्वर्गद्धारी गुठि पीडित संघर्ष समितिले १२ वटै मौजामा विशेष छलफल र भेला गरेर अब सबैको संयुक्त प्रयासमा कडा संघर्षका कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको संघर्ष मूल समितिका संयोजक प्रभु चौधरीले जानकारी दिनुभयो । छलफल कार्यक्रम अन्गर्त स्वर्गद्धारी गुठि पीडित संघर्ष समिति झिंगौरा मौजा उपसमितिको आयोजनामा झिंगौरामा विशेष भेलाको आयोजना गरिएको छ । भेलाले मूल समितिको आयोजना गर्न लागि रहेको निर्णायक आन्दोलनमा आफूहरुको सक्रिय सहभागिता रहने निष्कर्ष निकालेको छ ।

‘कि मुक्ति, कि हातमा लालपूर्जा मोही अधिकारी प्राप्तीको लागि अन्तिम लडाई’ नाराका साथ स्वर्गद्धारी गुठि पीडित संघर्ष मूल समितिले अगाडी बढाएको संघर्षको कार्यक्रम अन्तगर्त झिंगौरा मौजामा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले सरकारले विधेयक निर्माण गरेर भएपनि पीडित किसानहरुको समस्या सम्बोधन गर्नुपर्नेमा जोड दिएका थिए । झिंगौरा मौजाका संयोजक जगत चौधरीको अध्यक्षत्तामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि वडा सदस्य रचना कुमाल, विशिष्ठ अतिथि नेपाल पत्रकार महासंघ दाङका निर्वतमान अध्यक्ष सविन प्रियासन, संघर्ष मूल समितिका पूर्व अध्यक्ष शहदेव चौधरी, प्रविण चौधरी, लालबहादुर चौधरीलगायतकाले बोल्नु भएको थियो ।

संघर्ष समितिले आव्हान गरेको संघर्षका कार्यक्रम अन्तगर्त मंगलबार रामपुरमा रामपुर मौजाले विशेष भेलाको आयोजना गरेको छ । एकसाताभित्र सबै मौजामा भेलाको आयोजना गरी त्यसपछि जिल्ला, प्रदेश अनि केन्द्रसम्म दबाब सिर्जना गर्ने उद्देश्य सहित मूल संघर्ष समितिले कडा संघर्षको कार्यक्रम बनाउने तयारी गरेको छ ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID