कुकुरलाई पूजा गर्ने, तर मान्छेले छोएको नखाने समाजलाई माओवादीले बदलेको नबिर्सौंः मन्त्री कोइराला

गणतन्त्र समाचारदाता

कानून न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद कोइरालाले माओवादी सशस्त्र जनयुद्धकै कारण मुलुकमा गणतन्त्र आएको तथा संविधानसभाबाट नयाँ संविधान जारी भएको बताएका छन् ।

प्रतिनिधिसभामा मंगलबार सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक प्रस्तुत गर्नुअघि नेमकिपा सांसद प्रेम सुवालले उठाएका प्रश्नको जवाफ दिने क्रममा कोइरालाले सशस्त्र माओवादी जनयुद्ध गणतन्त्र र नयाँ संविधानका लागि भएको बताए । कुकुरको पूजा गर्ने तर, मानिसले छोएको खान नहुने समाजलाई माओवादी जनयुद्धले परिवर्तन गरेको नबिर्सन आग्रह गरे ।

‘समाजमा असमानता थियो । हामी कुकुरको पूजा गथ्र्यौ, तर मान्छेलाई हामी छुदैनथ्यौँ । उनीहरुले छोएको खाना हामीले खाने त परै जावस्, उनीहरुको घरतिर दाहिने नपरोस् भनेर देब्रे पारेर हिँड्ने समाज थियो । विभिन्न समुदायमा भाषाका कारणबाट, भौगोलिक कारणबाट, लिङ्गको कारणबाट समाजमा यति चरम विकृति विसंगति थियो, एउटा राजनीतिक परिवर्तनको आवाज उठ्यो त्यसपछि त्यसले युद्धको रुप लियो’, कोइरालाले भने, ‘ शान्ति सम्झौता भयो र हामीसँग संविधान आयो ।

माननीय ज्यूले सोध्नुभएको प्रश्नको जवाफ नेपालको संविधानको प्रस्तावनामै उल्लेख छ । त्यसकारण युद्ध केका लागि थियो भनेर संविधानमै प्रष्ट लेखिएको छ ।’

सांसद सुवालले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न संसदमा दर्ता भएको विधेयक प्रस्तुत नगर्न भन्दै विरोधको सूचना दर्ता गराएका थिए । सुवालले सशस्त्र जनयुद्धको लक्ष्य के थियो भन्ने गरेका थिए । यस्तै उनले पीडकलाई उन्मुक्ति दिने मनसायसहित विधेयक ल्याइएको भन्दै विरोध जनाए ।

सुवालले गठबन्धनका माध्यमबाट चुनाव जितेर सिंहदरबार कब्जा गर्ने नियतसाथ विधेयक आएको आरोप लगाए । गम्भीर मानवअधिकार उल्लंघनका घटनामा दोषी भेटिएकालाई समेत आममाफी दिने गरी विधेयक ल्याइएको आरोप लगाउँदै सुवालले मानव अधिकार उल्लंघनमा मेलमिलाप हुन नहुनेमा जोड दिए ।

जवाफमा कानुनमन्त्री कोइरालाले वर्षौंसम्म आयोग र त्यसका पदाधिकारीलाई पालेर राख्न नसक्ने भएकाले संक्रमणकालीन न्यायलाई टुंग्याउन ऐनमा संशोधन गर्न लागिएको बताए । कानुनमन्त्री कोइरालाले ‘क्रिमिनल जस्टिस‘ र ‘ट्रान्जिसनल जस्टिस’ लाई एउटै नजरले हेर्न नमिल्ने भन्दै केही गम्भीर प्रकृतिका मानवअधिकार उल्लंघनका घटनालाई अदालतमा लैजाने र सामान्य मानव अधिकार उल्लंघनको घटनालाई मेलमिलापमा लैजान लागिएको स्पष्ट गरे ।

विधेयकमा पीडित वा पीडित परिवारको परिपूर्णको विषय महत्वका साथ समावेश भएको चर्चा गर्दै मन्त्री कोइरालाले पीडक पत्ता नलागे पनि पीडित परिवारलाई सरकारले परिपूरण उपलब्ध गराउन जानकारी दिए ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID