सँगै सुतेका पति अर्कै महिलासँग कुरा गरेपछि पत्नीद्वारा हत्या !

गणतन्त्र समाचारदाता

ओछ्यानमा सँगै सुतेका पति अर्कै महिलासँग फोनमा कुरा गरेको भेटेपछि पत्नीले पतिको हत्या गरेको खुलासा भएको छ ।बगलुङको निसीखोला ५ कामी डाँडाकी २३ वर्षीया कुमारी कामीले २५ वर्षीय पति गुनबहादुर विकको हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेकी छन् ।

गत साउन २५ गते राति उनले पतिको टाउको छिनाएर निसीखोलामा बगाएको घटना सार्वजनिक भएको हो । साउन २५ गते हत्या गरेर फाले पनि भदौ १ गते टाउको बिनाको शव खोलामा भेटिएको थियो । शव भेटिएपछि प्रहरीले गरेको अनुसन्धानमा पत्नी कुमारी र उनकी बहिनी १८ वर्षीया मनिषालाई पक्राउ गरेको छ । घटनाको १० दिनपछि मात्रै प्रहरीले कुमारीलाई पक्राउ गरेको हो ।

२५ वर्षीय विक रोजगारीका लागि मलेसिया जानका लागि भिसा लागेर बसेका थिए । भिसा लागेपछि केही दिनदेखि रक्सी पिउने, घुम्ने र मेला भर्न जाने योजना बुन्दै गरेको र सोही अनुसार साथीहरुलाई फोन गर्ने क्रममा अन्य महिलाको नाम लिएको सुनेर रिसाएकी पत्नी कुमारीले सुतेकै स्थानमा घनले हानेर बेहोस पारेकी थिइन् ।

त्यसपछि चिर्पट दाउराले हानेर हत्या गरेपछि खुकुरीले घाँटी रेटेर छिनालेको प्रहरीसँगको बयानमा बताएको प्रहरी उपरीक्षक दयानिधी ज्ञवालीले बताए ।

प्रहरी उपरीक्षक दयानिधी ज्ञवालीका अनुसार मृतकको टाउको अझै भेटिएको छैन । घटनामा मृतककी साली मनिषाले पनि साथ दिएको खुलेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानका लागि ज्ञवालीसहित अन्य चार जना प्रहरी अधिकृत खटिएका थिए । घटनास्थल पत्ता लगाउन पनि प्रहरीलाई हम्मे परेको थियो ।

‘खोलाको किनारदेखि युवाले रक्सी पिएको स्थानसम्म अनुसन्धान गर्दा पनि पत्ता लगाउन सकिएको थिएन,’ ज्ञवालीले भने, ‘पत्नीको बयानपछि मात्रै सुतेकै स्थनमा हत्या गरेको पत्ता लाग्यो ।’ हत्यापछि बहिनीसँगै मिलेर घर सफाइ गरेको, रगत लागेको सबै स्थानमा लिपपोत गरेको देखिएको उनले बताए ।

घटनास्थलबाट प्रहरीले हत्यामा प्रयोग भएको खुकुरी र घनसमेत बरामद गरेको जनाएको छ । आइतबार प्रहरीले अभियुक्तलाई सार्वजनिक समेत गरेको छ । विवाह भएको ६ वर्षमा गुनबहादुरले धेरै महिलासँग फोन र म्याजेज गर्ने र पत्नीलाई चिढ्याउने गरी भ्वाइस म्यासेज पठाएको भेटिएको प्रहरीको अनुमान छ ।

लेख्नपढ्न नजानेकी पत्नीले सुन्नसक्ने गरी भ्वाइस म्यासेज पठाउने गरेपछि पत्नी कुमारी पतिप्रति आक्रोशित थिइन् । उनले घटना भएकै दिन पनि सँगै सुतेकै स्थानबाट अर्कै महिलासँग कुराकानी गरेको र मेला घुम्न जाने योजना बनाएको कुरा सुनेपछि राति नै हत्या गरेको बयानका क्रममा बताएकी छन् । शनिबार पक्राउ परेकी कुमारीलाई प्रहरीले आइतबार अदालतबाट म्याद थप गरेर थप अनुसन्धान सुरु गरेको बताएको छ ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID