
कुलेखानी जलाशययुक्त आयोजनामा वर्षातको समयमै पानीको सतह १९ मिटरले घटेको छ । वर्षातको समय भए पनि पर्याप्त मात्रामा पानी नपरेका कारण कुलेखानीमा पानीको सतह घटेको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताए ।
गत वर्षको तुलनामा यो वर्ष पानी कम परेका कारण पानीको सतह घटेर १ हजार ५ सय मिटरमा झरेको छ । यो आयोजनामा जुन गतिमा पानीको सतह बढ्नुपर्ने थियो यो वर्ष त्यो भन्दा कम भएको प्राधिकरणका प्रवक्ता भट्टराईले बताए ।
गत वर्ष यो अवधिमा पानीको सतह १ हजार ५ सय १९ मिटर पुगेको थियो । यो जलाशययुक्त आयोजना पीक आवर तथा सुख्खा याममा मात्रै चलाइने गरिएको छ । प्राधिकरणले यो आयोजनालाई सुख्खा याममा मात्रै चलाउने गर्छ ।
यो आयोजनालाई १ हजार ४ सय ८५ मिटर पानीको सतह हुँदासम्म चलाउन मिल्ने भए पनि हिउँदलाई जम्मा गरिने पानी भएकोले वर्षातको समयमा भने चलाउने गरिएको छैन ।
वर्षातको समयमा नदी प्रवाही (आरओआर) आयोजनाबाट बिजुलीमा आपूर्ति बढी हुने भएकोले जलाशय चलाउनु पर्दैन । यो आयोजना वर्षातको समयमा आकस्मिक प्रयोजन भएको अवस्थामा मात्रै चल्ने भएकोले ९५ प्रतिशत समय चलाउनु नपर्ने प्राधिकरणका प्रवक्ता भट्टराईले बताए ।
३ सय मिटर चौडाइ, ७ किलोमिटर लम्बाइ र ८ करोड ५३ लाख घनमिटर क्षमताको यो कुलेखानी जलाशययुक्त आयोजना सुख्खा मौसमको लागि प्रयोग गरिने आयोजना हो ।
कुलेखानी जलाशयमा संकलित पानीबाट १०६ मेगावाटका ३ वटा जलविद्युत् आयोजना सञ्चालन हुन्छ । यस जलाशयबाट ६० मेगावाटको कुलेखानी प्रथम, ३२ मेगावाटको कुलेखानी दोस्रो र १४ मेगावाटको कुलेखानी तेस्रो जलविद्युत् आयोजना सञ्चालन भइरहेको छ ।





