
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा रहँदा प्रधानमन्त्री नरेन्द्र मोदीले भेट्न समय दिएनन् । यो घटनाले राजनीतिक चर्चा तातेको छ ।
३ दिने भारत भ्रमण सम्पन्न गरेर स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा प्रचण्डले मोदी व्यस्त भएर भेट नभएको हुनसक्ने बताएका छन्
आफूहरूलाई मोदीसँग भेट हुन्छ भनिएको भए पनि पछि सम्भव भएन भन्ने कुरा आएको उनले बताए । ‘लास्ट आवरमा के कारणले भेट सम्भव भएन भन्ने मलाई पनि तपाईंहरूलाई जस्तै थाहा छैन । भारतमा बाढी आएर ठूलो जनधनको क्षति भएर प्रधानमन्त्री काममा व्यस्त भएर हो कि ?’ उनले भने, ‘पार्टी अध्यक्षले निम्ता दिएकाले अध्यक्षले भेटिसकेपछि हुन्छ भनेर हो । कारण मलाई पनि थाहा छैन ।’
अध्यक्ष प्रचण्ड भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा शुक्रवार भारत भ्रमणमा गएका थिए । उनले भारतीय पक्षसँग सौहार्दपूर्ण वातावरणमा कुराकानी भएको बताए ।
आफ्नो भ्रमणपछि २ देशबीचको सम्बन्धमा सकारात्मक परिणाम आउने उल्लेख गर्दै पूर्व प्रधानमन्त्री प्रचण्डले भ्रमणका क्रममा भएको भेटघाटले नेपालले भोग्दै आएको समस्या समाधानमा सघाउ पुग्ने बताए । ‘हिजोदेखि बाँकी रहेका विषय र वर्तमानका सम्भावनाबारे राम्रो कुराकानी भयो,’ उनले भने, ‘विदेशमन्त्री र विदेश सचिवसँगको छलफल पनि फलदायी रह्यो ।’
भारतमा रहँदा नेपाल–भारतबीच भएको १९५० सन्धि पुनरावलोकन, नेपाल–भारत प्रबुद्ध व्यक्तिहरूको समूह (ईपीजी) प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयन गर्ने, सीमा समस्या समाधान, डुबानसँग सम्बन्धित समस्याको दीर्घकालीन समाधान, व्यापार घाटा न्यूनीकरण गर्ने विषयमा आफूले भारतीय राजनीतिक नेतृत्वसँग कुराकानी गरेको बताए ।
‘नेपालको विकासका सम्भावना, अवसर र चुनौतीका बारेमा खुलेर कुराकानी भयो,’ उनले भने, ‘रुसबाट कच्चा तेल सस्तोमा आउँछ, तपाईंहरूले त्यसबाट नेपाललाई दिने ढंगबाट सोच्नुभयो भने नेपाली जनतालाई सहयोग हुन्छ भन्ने विषयलाई मैले कुरा राखें ।’
आफूले नेपालको विकासका लागि भारतीय पक्षसमक्ष राखेको विषय छिट्टै कार्यान्वयनमा आउने विश्वास व्यक्त गरे । ‘म धेरै नै आशावादी र विश्वस्त भएर आएको छु, हामीले समस्याका रूपमा चित्रित गर्दै आएको विषय सकारात्मकरूपमा समाधान हुनेछन्,’ उनले भने ।
नयाँदिल्लीमा रहँदा अध्यक्ष दाहालले त्यहाँस्थित नेपाली समुुदायका प्रतिनिधिसँग अन्तर्क्रिया गरेका थिए । उक्त अवसरमा नेपाली समुुदायका प्रतिनिधिले भारत सरकारले अखिल भारत नेपाली एकता समाजलाई लगाएको पोटा कानून खारेज गर्नुपर्ने, प्रवासी नेपालीहरूलाई पनि मताधिकारको व्यवस्था गर्नुपर्ने र प्रवासी नेपालीहरूलाई सरकारले गर्ने विभेदपूर्ण व्यवहार सच्याउनुपर्ने लगायत विषय उठाएका थिए ।
शनिवार उनले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेट गरी २ देशबीचका २ पक्षीय हितका विषयमा कुुराकानी गरेका थिए । अध्यक्ष दाहालले शनिवार नै फाउन्डेसन फर पब्लिक अवारनेस एन्ड पोलिसीको आयोजनामा नेपाल–भारत सम्बन्ध विषयमा आफ्ना विचार व्यक्त गरेका थिए ।





