‘अत्यधिक’ गर्मी, मंगलबारसम्म तापक्रम बढ्ने

गणतन्त्र नेपाल समाचारदाता

पछिल्लो समय काठमाडौं उपत्यकालगायत देशभरका विभिन्न स्थानमा अत्यधिक गर्मी महसुस गरिएको छ ।

मनसुन सिजनमा पानी नपर्दा र न्यूनचापीय प्रणाली सरदरभन्दा दक्षिणतर्फ सक्रिय रहेकाले गर्मी बढेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार तराई, पहाड र हिमाल तीनै क्षेत्रमा गर्मी बढ्दो क्रममा छ ।

आज काठमाडौं उपत्यकाको अधिकतम तापक्रम ३१.५ र न्यूनतम तापक्रम २१ डिग्री सेल्सियस मापन गरिएको छ ।

महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार अहिले हिमाल, पहाड र तराईमा तापक्रम बढ्दो क्रममा छ । उनी भन्छिन्, “यसपटक मनसुनको सिजनमा पनि पानी परिदिएन । पानी परे पनि केही समयको लागि मात्रै पर्ने भइरहेको छ । गर्मी बढ्नुको मुख्य कारण नै सक्रिय मनसुनमा पानी नपर्नु हो ।”

उनका अनुसार अघिल्लो साता देशभर वर्षा भएकाले तापक्रम घटेको र कम गर्मी महसुस गरिएको थियो ।

महाशाखाको पछिल्लो विवरणानुसार दिपायलको अधिकम तापक्रम ३६ डिग्री सेल्सियस, धनगढीको ३७.८, नेपालगन्जको ३७, डडेलधुराको २८.८, विराटनगरको ३४.२, पोखराको ३४.५, जुम्लाको २७.४ डिग्री सेल्सियस मापन गरिएको छ ।

मौसमविद् मानन्धरका अनुसार आउँदो मंगलबारसम्म तापक्रम केही बढ्नेछ । “मंगलबारसम्म यस्तै प्रकारको गर्मी हुने देखिएको छ । त्यसपछि देशभर पानी पर्ने सम्भावना छ । त्यसपछि तापक्रमसँगै कम गर्मी महसुस गर्न सकिनेछ,” उनले गणतन्त्रनेपालसित भनिन् ।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID