सडकमै घर बनाउन थालेपछि…

गणतन्त्र नेपाल समाचारदाता

दाङमा सडकको बीचमै घर बनाउन थालेपछि विवाद निम्तिएको छ । घोराही उपमहानगरपालिका वडा नं–१० स्थित सौरिकुला सडकखण्डमा सोही ठाउँ निवासी सुुकदेव लहरेले सडककोबीचमै घर बनाउन जग (खाडल) खनेपछि विवाद निम्तिएको हो । घोराही–तुलसीपुर सडकखण्ड अन्तरगत सौरिकुलाबाट उत्तरतर्फ गएको सडकको बीचमा लहरेले आफ्नो जग्गा पर्ने भन्दै घर बनाउन खाडल खन्नुभएको छ । खाडल खनेपछि सौरिकुलादेखि उत्तरतर्फका नागरिकलाई सवारी सधान सञ्चालन गर्नसमेत समस्या भएको छ । ‘सडकको बीचमै खाडल खनिदिएपछि अहिले सवारी सधान सञ्चालन गर्न पनि समस्या भएको छ ।’ स्थानीय सिसहनिया टोलका अध्यक्ष गोविन्द बहादुर न्यौपाने भन्नुभयो । उहाँका अनुसार लहरेले शुक्रबार खडल खन्नुभएको हो । त्यसपछि विद्यार्थी लिनलाई बससमेत सौरिकुलादेखि उत्तरतर्फ जान सकेको छैन । ‘बस नगएपछि विद्यार्थीलाई समस्या भएको छ । अहिले खेतिपाती गर्ने समय हो । ट्याक्टर खेतमा लग्न नपाइएको छैन ।’ टोलअध्यक्ष न्यौपानले भन्नुभयो । अहिले हाल सौरिकुलादेखि उत्तरतर्फ ठाँटी गाउँ, धैरेनी, हापुर विजौरी, अर्गु, गुर्जे, मलघारी हुँदै रोल्पाको होलेरीसम्म पुग्न सकिन्छ ।

अदालतको आदेशको अवेज्ञा

सुकदेव लहरेले अदालतको आदेशको अवेज्ञा गर्दै सडकको बीचमा घर बनाउन खाडल खन्नुभएको छ । लहरेको उक्त सडकखण्डमा ९१८ कित्ता नम्बरको जग्गा पर्छ । उहाँको उक्त सडकमा जग्गा परेको भएपनि पहिलेदेखिनै सडक बनाइएकाले अब उहाँले उक्त सडकमा अवरोध हुने गरी कुनै संरचना बनाउन नपाइने अदालतको आदेश छ । जिल्ला अदालत र पुरावेदन अदालतले नै परापूर्वककालदेखि सडकका रुपमा रहेको उक्त जग्गामा अवरोध गर्न नपाइने आदेश दिएको हो।

स्थानीय न्याय खोज्दै सरकारको दैलोमा

बीच सडकमै लहरेले पटक–पटक खाडल खन्दा आफूहरु मर्कामा परेको भन्दै स्थानीयहरु न्याय खोज्न स्थानीय सरकार गुहार्न पुगेका छन् । विस २०७३ सालदेखिको यो विवादले अझै पनि किनारा लाग्न सकेको छैन । अदालतको आदेशका विरुद्धमा लहरे गएको र मेलमिलापका लागि स्थानीय सरकारकहाँ आएको स्थानीय गौरी टोलका अध्यक्ष गोपिलाल थारुले बताउनुभयो । घोराही उपमहानगरपालिकामा मेलमिलाप गर्न भन्दै नगरप्रमुखलाई भेट्न गौरी टोलका स्थानीय मंगलबार दिउँसो १ बजे उपमहानगर आउनुभएको थियो । ‘पहिला नगरप्रमुखसँग हाम्रो विषयका बारेमा भन्छौँ । यहाँबाट भएन भने प्रशासनमा जान्छौँ,’ अध्यक्ष थारुले भन्नुभयो, ‘यदि प्रशासनबाट पनि कुनै टुंगो भएन भने फेरि अदालतमा जाने सोचेका छौँ ।’

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID