
घोराही उपमहानगरपालिका वडा नं. ४ सिस्नेखोलाको किनारमा रहेको खाली जग्गामा बृक्षारोपण गरिएको छ । वर्षौंदेखि पराम्परागत खुला चरिचरनको रुपमा रहेको नांगो पाखामा उपभोक्ताहरुले बृक्षारोपण गरेका हुन् ।
स्थानीय बसन्तापुर र स्यालापानी सामुदायिक वन क्षेत्रमा पर्ने सिस्नेखोलाको किनारमा रहेको जग्गामा दुई सयबढी उपभोक्ताले बिरुवा लगाएका हुन् । उक्त बिरुवाको संरक्षणका लागि डिभिजन वन कार्यालय दाङले पाँच सय ४५ मिटर काँडेतारबार समेत गरिदिएको छ ।
करिव २० हेक्टर खाली वन क्षेत्रमा असना, हर्रो, बर्रो, अमला, सुगन्धकोकिला, बडहर प्रजातिका तीन हजार दुई सय बिरुवा लगाइएको डिभिजन वन कार्यालयका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिनुभयो । वर्षांैदेखि खेर गइरहेको र भूक्षयको जोखिम समेत रहेको उक्त क्षेत्रमा संरक्षणमुखी बिरुवा रोपण गरी नमूनायोग्य वन बनाउने योजनाका साथ कार्यक्रम थालिएको कार्यालयले जनाएको छ ।
बसन्तापुर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पदम योगीको अध्यक्षता एवं डिभिजन वन अधिकृत मोहनप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नं. ४ का अध्यक्ष मुनाल घिमिरे, सहायक वन अधिकृत भक्तबहादुर चौधरी, अनन्त डाँगीलगायतले बोल्नुभएको थियो । कार्यक्रमको सहजीकरण सूचना अधिकारी खिमबहादुर केसीले गर्नुभएको थियो ।
दाङमा नयाँ मोडेलको बृक्षारोपण कार्यक्रम शुरु
डिभिजन वन कार्यालयले दाङमा संरक्षणमुखी बृक्षारोपण कार्यक्रम शुरु गरेको छ । वर्षेनि बिरुवा लगाउने तर लगाएको बिरुवा हुर्काउने र संरक्षणमा चुनौती बढ्दै गएपछि यो वर्षदेखि संरक्षणमुखी बृक्षारोपण कार्यक्रम थालिएको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।
अभियानकै रुपमा बृक्षारोपण गरेर थोरै मात्रै बिरुवा हुर्काउनेभन्दा बरु थोरै लगाउने र धेरै हुर्काउने लक्ष्यका साथ यो वर्ष दाङमा करिब दुई सय हेक्टरमा करिव दुई लाख बिरुवा लगाइएको डिभिजन वन अधिकृत मोहनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
संरक्षमुखी कार्यक्रमअनुसार अतिक्रमित वन क्षेत्र खाली गरी घोराहीको मघै, रामपुरको चरिङ्गेदह, तुलसीपुरको कटकुइँया, भ्यूडर सुनपुर र बबईमा गरी नौ हेक्टर वनमा तारबारसहितको बृक्षारोपण कार्य सम्पन्न गरिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिनुभयो ।
सूचना अधिकारी केसीका अनुसार तुलसीपुरको मोतीपुर, दंगीशरणको सिमठाना र महालक्ष्मी, नारायणपुरको सरजुगंगा र बबई नदी, अम्बिकेश्वरीको क्वाडी र शान्ति सामुदायिक वन क्षेत्रको करिव २० हेक्टर नदीले कटान गरेको क्षेत्रलाई तारबार गरी बृक्षारोपण गरिएको छ ।
डिभिजन वन कार्यालयले एक पालिका एक कृषि वनको अवधारणाअनुसार स्थानीय किसानहरुलाई सहभागी गराई दाङका घोराही र तुलसीपुर उपमहानगरपालिका, बंगलाचुली, शान्तिनगर र दंगीशरण गाउँपालिका गरी पाँचवटा पालिकामा १० हेक्टरका दरले ५० हेक्टरमा कृषि वन बनाउने काम गरेको कार्यालय प्रमुख मोहनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
यसैगरी घोराहीका शान्ति र कर्जाही, पुरन्धाराको झारगजेरी, दंगीशरणको बालकल्याण सामुदायिक वन क्षेत्रको करिव २० हेक्टर जग्गामा बिरुवा लगाई संरक्षणको काम अघि बढाइएको कार्यालयले जनाएको छ ।
त्यस्तै जिल्लाका पहाडी भेगमा जडीबुटी विस्तारको काम अघि बढाइएको छ । बंगलाचुली गाउँपालिकाको १० हेक्टर, घोराहीको पहाडी भेगमा छ हेक्टर र तुलसीपुरको चार हेक्टरमा टिमुर, मालागेडी, सुगन्धकोकिला लगायतका जडीबुटीका बिरुवा लगाइएको छ । त्यस्तै, समूह र सहकारीमार्फत यो वर्ष करिव २० हेक्टर जमिनमा जडीबुटी खेती विस्तार गरिएको कार्यालयले जानकारी दिएको छ ।





