
कसैको चुल्हो निभेको देख्दा
मेरो मुटु पनि चिसिन्छ,
खाली भाँडाको आवाज
मेरो आत्मामा बज्छ—
त्यसैले, मलाइ गरिबलाई रुवाउनु छैन।
ती नाङ्गा खुट्टाहरू,
धुलोमा सपना कोर्दै हिँड्छन्,
भोकले थिचिएको पेटभित्र
अझै पनि आशा बाँचिरहेकै हुन्छ—
म ती आशालाई मर्न दिन्न।
जसको आँगनमा घाम पनि
अधुरो भएर अस्ताउँछ,
जसको रात निद्राले होइन,
चिन्ताले बित्छ—
म त्यो पीडालाई गीत बनाइदिन्छु,
तर आँसु बन्न दिन्न।
धनले मात्र होइन,
मनले धनी बन्न चाहन्छु म,
एउटा रोटी बाँडेर भए पनि
कसैको मुस्कान किन्ने चाहना छ—
किनकि, साँचो सम्पन्नता
अरूको हाँसोमा लुकेको हुन्छ।
म सहरका अग्ला महलहरूलाई होइन,
झुपडीका सपनाहरूलाई उचाल्न चाहन्छु,
जहाँ आशा अझै पनि
भोकसँग लडिरहेको छ—
त्यहीँ म आफ्नो मानवता खोज्छु।
यदि म केही गर्न सक्छु भने,
त्यो केवल यत्ति हो—
कसैको आँसु पुछ्ने,
कसैको घाउमा माया राख्ने,
र भोकसँग लडिरहेका आँखामा
थोरै उज्यालो राख्ने…
किनकि,
मलाइ गरिबलाई रुवाउनु छैन ।





