नहरमा पानी आएपछि बाजागाजासहित मनाएको खुशीयाली २४ घण्टा नबित्दै विपत्तिमा परिणत

गणतन्त्र नेपाल समाचारदाता

वर्षाैंदेखि पानीको हाहाकार भोगिरहेको गाउँमा नहरबाट पानी आएपछि को खुशी नहोला ? भारतको गुजरातस्थित कच्छको मांडवीमा नहरबाट पानी आउँदा स्थानीयले बाजागाजासहित खुशीयाली मनाए ।

नर्मदा जिल्लामा ४०० किलोमिटर लामो नहरबाट गाउँमा पानी पुगेको थियो । स्थानीयमा खुशीको कुनै सीमा नै थिएन । तर त्यो खुशीयाली एकाएक विपत्तिमा परिणत भयो ।

वर्षाैंदेखिको सपनाका रूपमा रहेको नहर भत्किएपछि पानी बस्तीमा पस्यो । स्थानीयका घरखेत डुबानमा परे । स्थानीयले नसोचेको भयो । पानी आएको २४ घण्टा नबित्दै नहर भत्किएपछि स्थानीयले नहर निर्माणमा भ्रष्टाचार भएको आशंका गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

नर्मदा नहरको पानी कच्छ पुर्‍याउने सपना तत्कालीन मुख्यमन्त्री नरेन्द्र मोदीले देखेका थिए । नहरबाट पानी पुगेपछि मुख्यमन्त्री भूपेन्द्र पटेलले ट्वीट गर्दै खुशी व्यक्त गरेका थिए । उनले लेखे, ‘यो केवल पानी मात्रै होइन, कैयौं परिवारको खुशी र समृद्ध जीवनको सौगात हो ।’ अहिले नहर भत्किएर विपत्ति आएपछि स्थानीय आक्रोशित बनेका छन् ।

 

मा प्रकाशित