बलिउडकाे रिमेक फिल्महरुमा प्रकट भइरहेको ब्राह्मणवादी परियाेजना

लेख

अक्षित जैन

सन् १९९२ मा प्रदर्शित फिल्म ‘A FEW GOOD MAN’ काे प्रख्यात संवाद ‘तिमी सत्यकाे सामना गर्न सक्दैनाै’ ती औसत अमेरिकीहरुका बारेमा थियाे जो चाहन्छन् कि उनीहरुकाे देश सुरक्षित र स्वतन्त्र दुवै हाेऊन्, तर याे परिस्थितिकाे आधारभूत अन्तर्विरोधहरुलाई भने वेवास्ता गर्छन्। फिल्मकाे क्लाइमेक्समा Colonel Nathan R. Jessup निर्मम यातना दिएर एक नाैसेनालाई मारेकाे मामिलामा अदालतकाे सुनवाईका दौरान मानिसहरुबाट घेरिएकाे हुन्छ। नौसेनाहरुमा अनुशासन ल्याउने आफ्नाे तरिकाकाे बचाऊ गर्दै ऊ आफुसँग साेधपुछ गरिरहेकाे वकील Lieutenant Daniel Kaffee लाई भन्छ, ‘उनी याे वास्तविकतालाई पचाउन सक्दैनन् कि युवककाे मृत्यु दुखद् हाे तर यसबाट सायद कैयौंकाे ज्यान बच्नेछ।’

Jessup आरोप लगाउँछ कि मनकाे गहिराईमा हरेक अमेरिकी जान्दछ कि एक क्रियाशील सेना उसकाे स्वतन्त्रताकाे मूल्य हाे जसकाे अलोकतान्त्रिक रवैया सिस्टमलाई कायमै राखिरहनकाे लागि आवश्यक हुन्छ। तर ऊ आफ्नाे याे सत्यलाई स्वीकार गर्न सक्दैन। अन्त्यमा, Jessup लाई जेल हालेर दर्शकहरुमा याे छाप छोडिन्छ कि यस किसिमकाे ज्यादती गर्ने वा तिनीहरुकाे बचाऊ गर्ने अधिकृतहरु, यस्ता खराब मानिसहरु सेनाभित्र सानाे सँख्यामा हुन्छन्, जसलाई सेनाभित्रका असल मानिसहरुद्वारा हटाइन्छ। समीक्षकहरु तथा मानवाधिकारवादी संगठनहरुले यस फिल्मकाे बारेमा लेखेका छन् कि याे एक खुल्ला झुठ हाे किनभने Jessup अपवाद हाेइन, बरु नियम हाे।

‘अ फ्यु गुड म्यान’ र ‘साैर्य’

यस फिल्मकाे भारतीय रूपान्तरण ‘शौर्य’ (२००८) मा Jessup काे चरित्रलाई ब्रिगेडियर रुद्र प्रताप सिंहकाे रुपमा ढालिएकाे छ। के. के. मेननले ब्रिगेडियर रुद्र प्रताप सिंहकाे याे चरित्रलाई निभाएकाे छ। ऊ पनि जोड दिएर भन्छ कि ‘तपाईं हिन्दुस्तानी सत्यलाई सहन सक्नुहुन्न।’ ब्रिगेडियर सिंह, जसलाई कश्मीरमा मानव अधिकारकाे हनन गरेकाे देखाइएकाे छ, एक इस्लामोफोबिक हाे, जो दाबी गर्छ कि, ‘मुसलमानहरुमाथि भरोसा गर्न सकिन्न किनभने उनीहरु केवल आफ्नाे समुदायप्रति वफादार हुन्छन्।’ यसकारण कसै न कसैले, स्वयं ब्रिगेडियरले नै, देशकाे सुरक्षाकाे लागि यस खतरालाई समाप्त पार्ने जिम्मेदारी उठाउनुपर्छ।

यस मामिलामा दु:खद् सत्य याे हाे कि एक अलोकतान्त्रिक सेना अमेरिकाकाे शक्तिलाई कायम राखिराख्छ। यसकाे तुलनामा भारतकाे सत्य याे हाे कि एक धर्मान्ध सेना सबै मुसलमानलाई राष्ट्रीय सुरक्षाकाे नाममा संदिग्ध राष्ट्रद्रोहीकाे रूपमा हेर्छ। केन्द्र सरकारकाे विपरीत दाबीहरुका बावजूद याे पूर्वाग्रह कश्मीरमा जारी छ। ‘शौर्य’ मा, ब्रिगेडियर सिंहलाई कश्मीरीहरुका विरुद्ध उसले गरेकाे ज्यादतीकाे लागि दण्डित गरिन्छ, एक यस्ताे सजाँय दिइन्छ जो आजसम्म वास्तविक भारतीय सेनाकाे कुनै पनि वरिष्ठ अधिकारीले पाएकाे छैन।

फिल्महरुलाई राष्ट्रिय संस्कृतिकाे भण्डारकाे रूपमा अध्ययन गरिएकाे छ। मनोविश्लेषक सुधीर कक्कड़ हिन्दी सिनेमालाई एक यस्ताे प्रिज्म भन्छन्, जो सिनेमालाई चाहनेहरु र त्यसप्रति समर्पित लाखाैं पुरुष र महिलाहरुकाे प्रमुख मनोवैज्ञानिक चिन्तालाई दर्शाउँछ। यसले कथाकाे समृद्ध र प्राचीन परम्पराकाे पालना गर्दै कथाहरुका माध्यमबाट वास्तविक सामाजिक समस्याहरुकाे समाधान देखाउँछ। कक्कड़का अनुसार, ‘हिन्दी फिल्महरुले नयाँ राजनीतिक, आर्थिक र सामाजिक शक्तिहरुद्वारा उत्पन्न संघर्षहरुकाे समाधान प्रस्तुत गर्नका लागि नयाँ कथाहरु तयार गर्छन्।’ उनी भन्छन्, ‘फिल्महरु एक सामुहिक कल्पना हुन् जो दर्शकहरुका इच्छाहरुलाई पर्दामा उतार्छन्, जो अक्सर वास्तविकतासँग बाँधिएका हुन्छन्।’

कक्कड़ लेख्छन्, ‘तब, कल्पना/कथाकाे शक्ति हाम्राे बचाऊमा आउँछ। भारतीयहरु जसरी सँसारलाई बदल्ने इच्छा राख्छन्, साेही अनुरुपका कथाहरुलाई हिन्दी सिनेमामा देखाइन्छ। अतीतकाे पूननिर्माण र भविष्यकाे खोजले यसलाई अझ बढी सन्ताेषजनक बनाइदिन्छ।’

कक्कड़ याे पनि लेख्छन्, ‘हिन्दी फिल्महरु प्रमुख जातिका हिन्दुहरुकाे कल्पनाहरुलाई दर्शाउने हिन्दू सांस्कृतिक आदर्शकाे एक विनम्र नमूना हाे।’ तर त्याे आदर्श के हाे? हिन्दी सिनेमा ती आदर्श वा कल्पनाहरुलाई कसरी अघि बढाउँछ? त्याे के तत्व हाे जसले भारतीय फिल्महरुलाई वैश्विक संस्कृतिबाट अलग गर्छ? विदेशी फिल्महरुकाे भारतीय रूपान्तरण याे विश्लेषण गर्नका लागि राम्राे स्राेत हाे।

फिल्म निर्माता राकेश रोशनले एकपटक भनेका थिए, ‘विदेशी फिल्महरुकाे फ्रेम-टू-फ्रेम कपीले यहाँ पटक्कै काम गर्दैन। सफल फिल्म बनाउनका लागि हामीले भारतीय दर्शकहरुकाे स्वादलाई चिन्नुपर्ने र साेहीअनुरुप फिल्महरुमा परिवर्तन गर्नुपर्ने आवश्यकता छ।’ याे परिवर्तनले भारतीयहरुकाे सोच र उनीहरुकाे सांस्कृतिक आकाँक्षालाई प्रकट गर्छ। अक्सर याे परिवर्तनले ब्राह्मणवादी मान्यताहरुलाई प्रतिध्वनित गर्छ जसभित्र प्रमुख रुपमा लोकतन्त्रलाई नकार्नुका अतिरिक्त मुसलमानहरुलाई दानव बनाउनु, जातिलाई अदृश्य गर्नु र महिलाहरुलाई नियन्त्रण गर्नु वा काबुमा राख्नु पर्दछ।

उदाहरणकाे रुपमा हालै प्रदर्शिनमा आएकाे ‘लाल सिंह चड्ढा’ लाई नै लि‌ऊँ। सन् १९९४ काे हलिउड क्लासिक ‘FORREST GUMP’ काे आधिकारिक रूपान्तरण (रिमेक) हाे याे फिल्म। मूल फिल्म एक साधारण श्वेत व्यक्तिमाथि आधारित छ जसकाे दयालुपनाले अन्जानमा अमेरिकी इतिहासलाई प्रभावित गर्छ। याे श्वेत व्यक्तिकाे सबैभन्दा स्वाभाविक भारतीय विकल्प उत्तर प्रदेश वा हरियाणाकाे एक प्रमुख जातिकाे हिन्दु हुन सक्थ्याे तर आमिर खानले निभाएकाे चड्ढाकाे चरित्र ग्रामीण पञ्जाबकाे एक सिख व्यक्तिकाे हाे। याे चुनाव केवल यस तथ्यबाट प्रेरित भएकाे प्रतीत हुन्छ कि अमेरिकी पपुलर कल्चरमा दक्षिणका गोरा केटाहरुलाई मन्दबुद्धिकाे मानिन्छ जबकि भारतमा सिखहरुलाई। भारतमा शिखहरुकाे मन्दबुद्धिलाई लिएर बनेका चुटकिलाहरु विख्यात छन्।

‘फरेस्ट गम्प’ र ‘लाल सिहँ चड्ढा’

गंपकाे बच्चाकाे जस्तो अबाेधपनाले उनलाई अमेरिकी समाजकाे नश्लवादजस्ताे खराबीहरुबाट टाढा राख्नमा भूमिका निभाउँछ। उनकाे नाम उनकाे एक पूर्वजकाे नामबाट राखिएको थियाे जो श्वेत-वर्चस्ववादी ‘कू क्लक्स क्लान’ का संस्थापकहरुमध्ये एक थिए तर जब उनकाे पाेष्टिङ भियतनाममा हुन्छ, तब उनी उनकै राज्यकाे एक अश्वेत व्यक्ति बुब्बासँग उनीहरुकाे समुदायहरुका बीचमा रहेकाे नश्लीय तनाव र इतिहासलाई साइड लगाउँदै मित्रता गाँस्छन्। ‘लाल सिंह चड्ढा’ मा बडाे सजिलैसँग याे प्रगतिशील सोचलाई साइड लगाइएकाे छ। बुब्बालाई एक दलितकाे रुपमा देखाउन सकिन्थ्याे, ताकि दुवैलाई भारतीय समाजमा व्याप्त सबैभन्दा ठूलाे सामुदायिक विभाजनलाई मेट्न खाेज्ने पात्रहरुकाे रुपमा चित्रित गर्न सकियाेस्। तर यसकाे साटाे बुब्बा आन्ध्र प्रदेशकाे एक सवर्ण पुरुष हुन्छ। यसरी यस फिल्ममा पनि मूलधारका अधिकाँश हिन्दी फिल्महरुमा जसरी जातिकाे प्रश्नलाई पूर्ण रुपले वेवास्ता वा अनदेखा गरिएकाे छ।

यस अर्थमा विदेशी फिल्महरुकाे रिमेक साँस्कृतिक रूपले मूल हिन्दी फिल्महरुभन्दा अलग हुँदैन र जब हिन्दी रिमेकलाई मूल अन्तर्राष्ट्रिय फिल्महरुसँग तुलना गरिन्छ तब बलिउडकाे ब्राह्मणवादी प्राेजेक्ट सामुन्ने आउँछ। याे फिल्म हिन्दु सेन्टिमेन्ट्सका अनुरूप अन्य पात्रहरुले भरिएकाे छ। गंपकी प्रेमिका जेनी, बाल्यकालमा उत्पीडन झेलेकी एक युद्ध-विरोधी हिप्पी हुन्छिन् जो हिन्दी रूपान्तरणमा गलत मानिसहरुकाे संगतमा परेकी एक महत्वाकांक्षी अभिनेत्री रूपा डिसूजा बन्न पुग्छिन्। जेनीकाे श्वेत पिता उनलाई गाली-गलौज गर्छ र पिट्छ, यसकाे विपरीत, रूपा एक अन्तरधार्मिक विवाहबाट जन्मिएकी सन्तान हुन्छिन्। उनकाे पिता एक इसाई हुन्छन् जो उनकी आमालाई पिट्छन्। यसले अन्तरधार्मिक विवाह र धर्मान्तरणकाे विरुद्ध थाेरै अगाडिकाे विचारलाई देखाउँछ। यसैगरि जेनी एक कम्युनिष्ट बुद्धिजीवीलाई डेट गर्छिन् जो उनकाे शारीरिक शोषण पनि गर्छ, यसले कम्युनिजमप्रति अमेरिकी दृष्टिकोणलाई देखाउँछ जबकि रूपालाई दु:ख दिने व्यक्ति एक मुस्लिम गैंगस्टार हुन्छ।

‘FORREST GUMP’ काे लेफ्टिनेन्ट डेन एक विशेषाधिकार प्राप्त सक्षम व्यक्ति हाे जो युद्धमा अपांग हुन्छ अनि फेरि आफ्नाे अपांगताका साथ जिउनका लागि बाध्य हुन्छ। उसकाे भारतीय रूपान्तरण मोहम्मदलाई पाकिस्तान वा कश्मीरकाे कुनै सैन्य संगठनकाे नेता देखाइएको छ। फिल्ममा उसकाे उत्पत्ति अस्पष्ट छ। दुश्मन हुनुकाे बावजूद चड्ढा युद्धकाे दौरान मोहम्मदकाे ज्यान बचाउँछ। चड्ढाकाे दयालुपनाले मोहम्मदलाई भारतसँग घृणा गर्ने व्यक्तिबाट भारतकाे प्रशंसकमा बदलिदिन्छ, जो त्यसपछि आफ्नाे देशमा आफुजस्तै अन्य मानिसहरुलाई शिक्षित गर्नुलाई आफ्नाे जीवनकाे लक्ष्य बनाउँछ। माेहम्मदकाे याे चित्रणले उसकाे मुस्लिम पहचानकाे कुनै पनि जटिलतालाई देखाएकाे छैन, बरु मुस्लिम चरित्र वा पहिचानकाे सबै खाले जटिलतालाई पूर्णतया गायब पारेकाे छ, चाहे त्याे पाकिस्तानी होस् वा कश्मीरी। साथै दयालु चड्ढालाई भारतीयहरुका प्रतिनिधिकाे रूपमा प्रस्तुत गरेर भारतीयहरुकाे इस्लामफाेबियालाई लुकाएकाे छ। ‘भारतीयहरु रतिभर पनि इस्लामफाेबिक हुँदैनन्’ भन्ने झुठो भाष्यलाई स्थापित गरेकाे छ। यसप्रकार ‘लाल सिंह चड्ढा’ फिल्ममा बडाे सहजताका साथ सजिलैसँग मूल फिल्मकाे प्रगतिशील विचारलाई हटाएर हिन्दु राष्ट्रवादी विचारलाई भरिएकाे छ।

मुसलमानहरुप्रति हिन्दुहरुका दूरीकाे कैयौं कारण छन्, जब सन् १९९५ काे फिल्म ‘THE USUAL SUSPECTS’ लाई सन् २००५ मा भारतीय फिल्म ‘चकलेट’ मा ढाल्दै हिन्दुत्व प्रचारक निर्देशक विवेक अग्निहोत्रीले टर्कीकाे एक ड्रग बैरन Keyser Soze लाई एक आतंकवादी मुर्तजा अरजईमा बदलिदियाे जो विश्वकाे कुनै पनि मुस्लिम देशबाट हुन सक्थ्याे। ‘THE USUAL SUSPECTS’ काे कथा Soze काे अस्तित्वकाे विश्वसनीयतामाथि टिकेकाे छ। ड्रग्सकाे विरुद्ध आफ्नाे युद्धकाे दौरान अमेरिकाकाे राजनीतिक फाइदाले अन्तर्राष्ट्रिय ड्रग बैरनलाई एक मास्टरमाइन्ड बनाइदियाे। यस दौरान भारतकाे राजनीतिक परिवेशमा सदैव शक्तिशाली मुसलमानहरुलाई आशंकाले भरिएकाे नजरले हेर्ने गरिएकाे छ, जसलाई लिएर अक्सर आतंकवादी संगठनहरुभित्र पहुँच भएकाे र पशुवादी प्रवृत्तिकाे भएको आभास दिने गरिएकाे छ। सन् १९९० काे दशकमा याे प्रवृत्ति अझ तीब्र भयाे। मुसलमानहरुप्रति घृणाकाे एउटा ठूलाे कारण १९९३ मा भएको बम्बे बम बिस्फोट पनि बन्याे। अर्काे प्रमुख कारण कश्मीरमा उग्रवादी आन्दोलनकाे उदय थियाे जसका लागि पूर्ण रुपले हिंस्रक इस्लामवादीहरुलाई जिम्मेदार ठहराइयाे। हिन्दुहरुले मुसलमान आतंकवादीहरुबाट राष्ट्रका लागि उत्पन्न भएकाे खतराकाे हवाला दिदै ‘आतंकवाद निरोधक अधिनियम, २००२’ जस्ताे कठोर कानूनलाई पनि उचित ठहरायाे। यससँगै ११ सेप्टेम्बर २००१ काे घटना पनि जाेडियाे। यदि मुसलमान संयुक्त राज्य अमेरिकामाथि हमला गर्न सक्थे भने, उनीहरु के गर्न सक्दैनथे?

‘दि युजल सस्पेक्ट्स’ र ‘चकलेट’

‘चकलेट’ मा अरजईकाे चरित्रचित्रणले याे डरलाई फेरि बढाइदियाे। इरफान खानद्वारा निभाइएकाे पात्र पिपीले भने कि कुनै पनि मुसलमान, यहाँसम्म ​​कि जो गधाकाे सवारी गर्छ, ऊ ओसामा बन्न सक्छ। फेरि ऊ आफ्नाे वकील र दर्शकहरुसँग ‘अल काइदा’, ‘लिबरेशन टाइगर्स अफ तमिल ईलम’ र ‘प्यालेस्टाइन लिबरेशन अर्गनाइजेशन’हरुका बीचकाे सम्बन्धका बारेमा साेध्छ। ऊ दाबी गर्छ कि मुर्तजा अरजई विश्वकाे सबै आतंकवादी हमलाहरुलाई जोड्ने कडी हाे। याे एक यस्ताे दाबी थियाे जसलाई अविश्वसनीय र बकम्फुसे मानिनेछ। किनभने, भारतीय दर्शकहरु र फिल्मकाे काल्पनिक हिन्दु वकीलले एक सर्वशक्तिमान, आपराधिक मुस्लिम मास्टरमाइन्डकाे अस्तित्वकाे बारेमा बुझ्न सक्नु सम्भव थिएन। याे भन्नु धेरै सजिलाे हुन्थ्याे कि त्याे मुस्लिम वा सुपर क्रिमिनल काेही अरु पनि हुन सक्छ, तपाईंको छिमेकी, तपाईंको साथी, यहाँसम्म कि स्वयं पिपी पनि।

भारतीय सांस्कृतिक दर्शन अक्सर कानून र व्यवस्थाविरोधी, तानाशाह टाइप शासकहरुलाई नायकहरु जसरी हेर्छ। याे हिन्दु आदर्शहरुका अनुरूप छ, जहाँ धर्मकाे स्वयम्भु रक्षकहरुमा अन्तर्निहित विशेषताहरुलाई हेरिन्छ जो उनीहरुलाई न केवल समाजमाथि शासन गर्न, बरु यसकाे कानुनहरुभन्दा बाहिर काम गर्न पनि सक्षम बनाउँछ।

सन् १९७२ काे फिल्म ‘THE GODFATHER’ र सन् २००५ मा प्रदर्शित यसकाे हिन्दी रूपान्तरण, ‘सरकार’ काे एकैजस्ताे दृश्य यस विचारमाथि सटीक ठहरिन्छ। टिटुलर गैंगस्टारकाे छाेरा Michael Corleone र शंकर नागरेकाे सामना उनीहरुका प्रेमिकाहरुसँग हुन्छ। जब माइकलकी प्रेमिका उनलाई बताउँछिन्, ‘उनलाई आशा थिएन कि उनी पनि आफ्नाे पिता जस्तै बन्नेछन्’, Michael आफ्नाे पिता Vito Corleone काे बचाऊ गर्दै भन्छ, ‘मेराे पिता कुनै पनि अन्य शक्तिशाली व्यक्तिभन्दा अलग छैनन्। उनी पनि एक सिनेटर वा राष्ट्रपति जस्तै, कुनै पनि जिम्मेदार व्यक्ति जस्तै नै हुन्/छन्।’ ऊ भन्छ कि उनकाे पिता कुनै पनि युद्ध छेड़ने राष्ट्रपति जसरी आफ्नाे शक्तिलाई कायमै राखिरहनका लागि हत्याहरु गर्छन्। (याे फिल्म तब रिलीज भएकाे थियाे, जब भियतनाम युद्ध चरममा थियाे। जससँग याे तुलना त्यसबेलाको शक्तिहरुकाे एक महत्वपूर्ण आलोचना गरिरहेको थियाे)। उनकाे प्रेमिका Kay Adams उनकाे कुरामा विश्वस्त हुन सक्दिनन्। त्यसैले, माइकल उनलाई बताउँछ कि उनकाे परिवार (Corleone Family) पाँच बर्षमा पूर्ण रुपले वैध हुन गइरहेकाे छ। अनि फेरि ऊ यस्ताे गर्ने कोशिशमा आफ्नाे सारा जीवन व्यतीत गरिदिन्छ। यहाँसम्म की जब ऊ कानुन तोड्छ तब कोरलियोन परिवार लोकतन्त्र र कानूनकाे शासनलाई सत्ताकाे एकमात्र वैध रूप मान्छ, उनकाे याे अवधारणा त्रुटिपूर्ण पनि हुन सक्छ।

यसकाे उल्टाे ‘सरकार’ फिल्ममा शंकर स्पष्ट रूपले भन्छ कि उसकाे पिता सुभाष नागरे बाँकी शक्तिशाली मानिसहरुभन्दा माथि छन् किनभने उनी गैरकानूनी कामहरुलाई पनि असल उद्देश्यका लागि गर्छन्। शंकर आफ्नाे प्रेमिका पूजालाई भन्छ (जसकाे पिता एक व्यवसायी हुन्), ‘तिम्रो पिता सिस्टममा बसेर आफ्नाे लागि काम गर्नुहुन्छ तर मेरे पिता सिस्टमदेखि बाहिर बसेर अर्काकाे लागि काम गर्नुहुन्छ।’

‘द गडफादर’ र ‘सरकार’

कक्कड़ लेख्छन्, ‘हिन्दु सँस्कृतिकाे दृष्टिमा न त राज्य, न त बहुसंख्यक मानिस, न त सरकार नै सम्प्रभु हाे। जो शक्ति यिनीहरु सबैभन्दामाथि छ, त्याे धर्म हाे।’ ‘सरकार’ फिल्मकाे सुभाष नागरे यसैकाे एउटा रूप हाे, जनताकाे रक्षक जो कानून-व्यवस्थालाई किनारा लगाएर एक समानान्तर सत्ता वा व्यवस्था चलाउँछन्। जब पूजा शंकरसँग साेध्छिन्, ‘के उसलाई लाग्छ कि उसकाे पिता कानूनभन्दा माथि छ?’ तब शंकर जवाब दिन्छ, ‘मेराे पिता यस्ताे सोच्नुहुन्न तर जुन मानिसहरुलाई उहाँले मदत गर्नुभएकाे छ, उनीहरु यस्तो मान्छन्।’ सुभाषकाे त्याे ईश्वरीय रूप उनी पर्दामा प्रकट हुदाँ पार्श्वमा बज्ने ‘गोविन्दा, गाेविन्दा’ नामक मन्त्रहरुद्वारा दर्शाइन्छ। सवर्ण जातिसँग सम्बन्धित नागरे परिवार नराम्रो कार्यकाे सजाँयकाे बारेमा साेच्दैन, उनकाे ‘धार्मिक’ प्रवृ्त्तिकाे कारण उनले यसबारे चिन्तित हुनुपर्ने आवश्यकता पनि हुँदैन।

सन् १९९९ मा प्रदर्शित हलिउड फिल्म ‘FIGHT CLUB’ ती व्यक्तिहरुका बारेमा छ, जो सभ्यता र पुँजीवादद्वारा ठगिएकाे महसुस गर्छ। याे ‘अमेरिकी ड्रिम’ काे वाचा थियाे कि कोही पनि व्यक्ति कडा मेहनत गरेर भौतिक सफलता प्राप्त गर्न सक्छ अनि याे असफल हुनुकाे अर्थ थियाे कि मानिसहरु ती जागिरहरुमा फँसिरहे जसकाे उनीहरुलाई आवश्यकता नै थिएन। किनभने, उनीहरूकाे अवस्थामा कुनै सुधार हुनेवाला थिएन। चाहे उनीहरुले जतिसुकै मेहनत गरेका हाेऊन्। फिल्ममा यिनै व्यक्तिहरुकाे प्रतिनिधित्व गरिएकाे छ जो अशान्ति चाहन्थे, किनभने उनीहरूले आफ्नाे समाजमा आफ्नाे लागि कुनै भविष्य देखेनन् वा पाएनन्।

अँग्रेजी ‘फाइट क्लब’ र हिन्दी ‘फाइट क्लब’

यसकाे हिन्दी रूपान्तरण वा हिन्दी अनुवादमा यसकाे बागी पक्षलाई हटाइएको छ। हिन्दु आफ्नाे जातिकाे आधारमा सुम्पिएकाे कार्यलाई गर्न आफ्नाे स्वधर्म र सामाजिक कर्तव्य मान्छन्, जो कि कर्मकाे आधारमा निर्धारित गरिन्छ। हिन्दु धर्मले कहिल्यै पनि कुनै पनि किसिमकाे वाचा गरेन। त्यसैले, मानिसहरु आफ्नाे दु:खकाे लागि समाजकाे दमनकारी ढाँचालाई जिम्मेवार ठहराउँदैनन्। यही कारण हाे कि सन् २००६ काे हिन्दी फिल्म ‘फाइट क्लब : मेम्बर्स ओनली’ का नायकहरु विद्राेह गर्दैनन्, भलै उनीहरुमध्ये अधिकांश सेवा क्षेत्रकाे कामहरुसँग जाेडिएका हाेऊन्, दुईजना बारटेन्डर, एकजना जिम ट्रेनर र अर्काे एकजना बाउन्सर। यसकाे साटाे उनीहरु आफ्नाे अवस्थाकाे पूरै फाइदा उठाएर पैसा कमाउनतर्फ लाग्छन्।

यहाँसम्म ​​​​कि वर्तमान समयमा बनाइएका प्रगतिशील फिल्महरुका रिमेकलाई रूढिवादी हिन्दु विचारहरुद्वारा ओतप्राेत गरेर प्रस्तुत गरिएकाे छ। सन् १९९८ मा आएकाे जर्मन थ्रिलर फिल्म ‘रन लोला रन’ मा नायक र उनकाे साथी एक आपराधिक कार्य गरेपश्चात् आफ्नो ज्यान बचाउने कोशिश गर्छन्। लोला यस फिल्मकाे एक प्रमुख पात्र हाे। र उनी आफ्नो प्रेमी मन्नीसँग त्यस घटनामा बराबरकाे भागिदार हुन्छिन्। फिल्म त्यही बीस मिनटकाे पूरै यात्रालाई देखाउँछ। पहिलाे दुई भागमा लोला मदत माग्नका लागि आफ्नाे पिताकहाँ जान्छिन् तर आफुले चाहेजस्ताे मदत प्राप्त गर्न सक्दिनन्। केवल तेस्राे भागमा जब उनी पिताकहाँ जान असमर्थ हुन्छिन्, तब उनी मन्नीलाई बचाउन सफल हुन्छिन्। लोलाकाे सफलतामा उनकाे जीवनमा पुरुषहरुकाे अधिकार वा मदत नहुनु सामेल छ जसमा उनकाे व्यक्तिगत राेजाईलाई अधिक महत्व दिइएकाे छ।

‘रन लाेला रन’ र ‘लूप लपेटा’

यस बर्षकाे सुरुवातमा रिलिज भएकाे यसकाे रिमेक ‘लूप लपेटा’ मा मुख्य नायिका तापसी पन्नू (सावी) आफ्नाे प्रेमी सत्याकाे अपराधबाट अन्जान हुन्छिन् तर फेरि पनि उनी आफ्नाे प्रेमी सत्यालाई उसले गरेकाे अपराधकाे सजाँयबाट बचाउँछिन्। उदार विचार राख्ने सावी र सत्या गोवामा बस्ने जवान युवा-युवती हुन् जाे ड्रग्सकाे सेवन गर्छन् र बिहे नगरि सँगै बस्छन्। तर पनि सावीलाई अन्ततोगत्वा आदर्श पत्नी जसरी देखाइन्छ, जो केवल आफ्नाे पुरुष साथी वा प्रेमीलाई अपराधकाे सजाँयबाट बचाउनमा मदत गर्छिन्। सावी र सत्याकाे पात्रहरु सावित्री र सत्यवानकाे हिन्दु पौराणिक कथामाथि आधारित छ। सावित्री एक पतिव्रता पत्नी हुन् जो आफ्नाे बुद्धिकाे उपयोग आफ्नाे पति सत्यवानलाई एक असामयिक मृत्युबाट बचाउनका लागि गर्छिन्।

लोलाकाे उल्टाे सावी तीनै भागमा आफ्नाे पिता कहाँ जान्छिन्। फिल्मकाे अन्तिम भागमा उनी आफ्नाे पिताकाे राैबलाई अस्वीकार गर्नुकाे साटाे माफी माँगेर आफ्नाे सम्बन्धका लागि उनकाे आशीर्वाद लिन्छिन्, तबमात्र उनी सत्याकाे ज्यान बचाउन सफल हुन्छिन्। सार्वभौमिक नैतिकताकाे अवधारणाकाे अभावमा हिन्दुहरुका लागि नैतिकताकाे प्रश्न व्यक्तिकाे पहचानसँग अमिट रूपले जाेडिएकाे हुन्छ। उच्च जातिकाे हिन्दुकाे पहिचानमाथि उठाइएकाे प्रश्नलाई अनैतिक मानिन्छ। ‘सरकार’ फिल्ममा आफ्नाे हिन्दु अनुयायीहरुकाे रक्षाका लागि हिंसाकाे प्रयाेग गर्ने नागरेलाई राम्राे मानिन्छ तर कश्मीरी नेताहरुले यसाे गरेमा उनीहरुलाई यसाे गर्नुलाई खराब प्रवृत्तिकाे रुपमा देखाइन्छ।

याे नैतिकता हिन्दु मान्यताहरुमा गहिराेसँग अन्तर्निहित छ। ‘ओल्डबॉय’ (२००३) र ‘माेमेन्टो’ (२०००) मा बदला लिने नायक एक जटिल पात्र हाे जसकाे सुरुमा असल उद्देश्य हुनुकाे बावजूद पछि गरिएका कार्यहरुबाट उनकाे चरित्र अकल्पनीय रूपमा बदलिन्छ। तर ‘जिंदा’ (२००६) र ‘गजनी’ (२००५) मा उनकाे उच्च जातिकाे हिन्दु प्रतिरूपहरुलाई सजिलैसँग असल पुरुषहरुकाे रूपमा दर्शाइएकाे छ जो हिंसक बदला लिएपश्चात् आफ्नाे सम्मानजनक जीवनमा फर्किन्छन्। एक समाजमा विधमान न्यायप्राप्तिकाे असँगतिमाथि प्रहार गर्नुकाे साटाे धार्मिक समाजकाे सन्तुलनलाई कायम राख्नका लागि बदला एक साधन बन्न जान्छ।

हिंदू धर्म एक यस्ताे धर्म हाे जसमा अलग-अलग मानिसहरुसँग अलग-अलग व्यवहार गरिन्छ। जहाँ केही शक्तिशाली उच्च जातिका हिन्दु पुरुष बाँकी सबैमाथि शासन गर्छन्। हिन्दु राष्ट्रमा याे न केवल सम्भव हुन्छ अपितु सरकरद्वारा प्राधिकृत पनि हुन्छ। यस हिन्दु सांस्कृतिक आदर्शलाई भरण-पोषण गरेर हिन्दी सिनेमाले लामाे समयदेखि याे परियोजनालाई सफल बनाएकाे छ। यस अर्थमा विदेशी फिल्महरुका रिमेकहरु सांस्कृतिक रूपले मूल हिन्दी फिल्महरुभन्दा अलग हुँदैनन् र जब हिन्दी रिमेकहरुलाई मूल अन्तरराष्ट्रिय फिल्महरुसँग तुलना गरिन्छ, तब बलिउडकाे ब्राह्मणवादी प्राेजेक्ट सामुन्ने आउँछ।

मा प्रकाशित