खप्तडमा तीन वर्षपछि गंगा-दशहरा मेला, ओइरिए दर्शनार्थी

गणतन्त्र नेपाल संवाददाता

सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्या-पर्यटकीयस्थल खप्तडमा तीन वर्षपछि यसवर्ष गंगा-दशहरा मेला लागेको छ । इतिहासमा कहिल्यै नरोकिएको यो मेला कोभिड १९ को प्रभावले दुई वर्ष ठप्प भएको थियो । मेला रोकिए पनि सीमित सरोकारवालाहरूको उपस्थितिमा नियमित पूजाआजा भने निरन्तर थियो ।

यसवर्ष जनजीवन सामान्य अवस्थामा पुगेपछि खप्तडमा यो मेला सुरु भएको हो । यसवर्ष परम्पराअनुसार नै मेला हुनेछ । खप्तडमा हरेक वर्ष जेष्ठ शुक्ल पक्ष दशमीमा ‘गंगा-दशहरा’ मेला लाग्ने परम्परा छ । सोही परम्पराअनुसार मंगलबार नवमीदेखि नै खप्तडमा दर्शनार्थीहरूले मेला  भर्न सुरु गरेका छन् ।

परापूर्व कालदेखि यहाँ बाजुरा, अछाम, बझाङ र डोटीका बासिन्दाले मेला भर्दै आएका छन् । पछिल्लो समय प्रचारप्रसार व्यापक बनेसँगै यहाँ समग्र सुदूरपश्चिम प्रदेश र देशभरका हिन्दू धर्मावलम्बीहरूको आकर्षण बढेको छ । यसकारण खप्तड गंगा–दशहरा मेलालाई पछिल्लो समय देशकै ठूलोमध्ये एक धार्मिक मेलाका रुपमा लिन थालिएको छ ।

खप्तड गंगा-दशहराको महत्व

प्राकृतिक रुपले निकै सुन्दर र मनमोहक खप्तड धार्मिक हिसाबले महत्वपूर्ण तीर्थस्थल हो । मध्य पहाडी क्षेत्रको निकै उचाइमा रहेको खप्तडमा देवदेवीहरूको बास रहँदै आएको जानकारहरूको दाबी छ ।

समुन्द्र सतहदेखि करिब तीन हजार दुई सय मिटरमाथि तीनवटा नदीको संगम बनेको त्रिवेणी छ । सहश्रलिङ्गबाट बगेर आउने सोलिङ खोला (गंगा), डाँफेकोटबाट बगेर आउने डाँफेकोट खोला (यमुना) र प्राचीन धर्मशाला मुन्तिरबाट गुप्त बगेर आउने सरस्वती नदीको संगम छ ।

यही त्रिवेणीधाममा मनकामना मन्दिर छ । जसमा गणेश, अन्नपूर्ण, शिवशंकर र वसाहका मूर्ति छन् । स्कन्द पुराणको मानसखण्डमा पाण्डवहरुले कुरुक्षेत्रमा मारिएका आफ्ना सम्पूर्ण मृतात्माको शान्तिका लागि यही ठाउँमा तर्पण गरेको उल्लेख छ । सोहीअनुसार यस क्षेत्रका बासिन्दा यहाँ आफ्ना पितृको तर्पण गर्दछन् ।

यसरी तर्पणको सबैभन्दा पवित्र समयका रुपमा गंगा-दशहरा मेलालाई लिइन्छ । यो समयमा नवमीमा मेला भरेर रातभर जाग्राम बस्दै शीत खाएर दशमीको दिन त्रिवेणीमा स्नान गरेर पितृको तर्पणपछि त्रिवेणीधामको दर्शन गर्दा ठूलो पुण्य पाइने र पितृहरुको वैकुण्ठबास हुने मान्यता छ । यसैकारण खप्तड त्रिवेणीमा परापूर्वकालदेखि नै गंगा–दशहरा मेला लाग्दै आएको खप्तड मध्यवर्ती क्षेत्रमा पर्ने डोटीको पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्याय बताउँछन् ।

‘यो अचेल सुरु भएको मेला होइन’, अध्यक्ष उपाध्याय भन्छन्, ‘यहाँ यसैगरी खप्तडसँग जोडिएका चार जिल्ला र आसपासका क्षेत्रका बासिन्दाले परापूर्वकालदेखि नै मेला भर्छन् । यहाँका बासिन्दाको यो परम्परादेखिकै एकमात्र ठूलो तीर्थ हो ।’

तीनवर्षपछिको मेलामा उत्साह

कोरोनाले २ वर्ष रोकिएको खप्तड गंगा-दशहरा मेला यस वर्ष सुरु भएपछि धार्मिक आस्था बोक्नेहरू उत्साहित भएका छन् । ‘आस्थाका हिसाबले हरेक वर्ष खप्तड भ्रमण गर्नेहरूका लागि दुईवर्ष हुन नसकेको मेला तेस्रो वर्ष हुने भएपछि निश्चय नै उत्साहजनक हुने भयो’, डोटी उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नरेन्द्र खड्का भन्छन् ।

उनले विगतभन्दा यसवर्ष खप्तडमा उल्लेख्य भीड लागिरहेको जानकारी दिए । ‘स्थानीयको भीडभाड त थामिनसक्नु नै भइसक्यो । देशको आन्तरिक र बाह्य क्षेत्रका पर्यटकको आगमन पनि यसपटक बढी छ’, उनले थपे ।

खप्तड घुमघामको उत्कृष्ट समय

गंगा-दशहरा मेला धार्मिक आस्था बोक्नेहरूका लागि निकै महत्वपूर्ण मानिन्छ, जुन जेठमै पर्छ । यो मेला आस्तिकहरूका लागि जति महत्वपूर्ण छ, त्यत्तिकै खप्तड घुम्न चाहनेका लागि वैशाख-जेठ महिना मौसम मानिन्छ ।

खप्तड पर्यावरणीय सुन्दरतामा नेपालकै अब्बल गन्तव्य मानिन्छ । सरकारले यसलाई राष्ट्रिय निकुञ्ज बनाएर संरक्षण गरेको छ । पछिल्लो समय खप्तड आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको केन्द्र पनि बनेको छ । खप्तडमा असारबाट भारी वर्षा हुन्छ । वर्षा लगभग कार्तिकसम्मै रहने जानकारहरू बताउँछन् । त्यसपछि हिउँ पर्छ । जुन झण्डै चैत मसान्तसम्म रहन्छ । यो समय पनि खप्तड भ्रमणको लागि उपयुक्त मानिँदैन । मौसमका हिसाबले बैशाख-जेठ खप्तड भ्रमण गर्ने उत्कृष्ट समय हो ।

तर, हिउँमा भ्रमण गर्न चाहनेका लागि हिउँदे समय र वर्षाको वन्यजीवन, फूलहरूको रंगीचंगी सुन्दरता र पर्यावरणीय सुन्दरता हेर्न चाहनेका लागि वर्षाको समय पनि उत्तिकै महत्वपूर्ण मानिन्छ । यस्ता दृश्य हेर्ने पर्यटकहरू सोही सिजन पारेर आउने होटल तथा पर्यटन व्यवसायी दीपकबहादुर खड्का बताउँछन् ।

‘वैशाख-जेठ सबैखाले पर्यटकका लागि उपयुक्त छ । सहज पनि हुन्छ’, उनले भने, ‘तर, एडभेन्चर अनुभव गर्न चाहने र साविकभन्दा भिन्नै किसिमको आनन्द लिन चाहनेका लागि आफ्नो रोजाइअनुसारको मौसम छनोट गर्न सकिन्छ । जुन पर्यटकहरूले गर्दै आएका पनि छन् ।’

मेलाका अवसरमा म्याराथन प्रतियोगिता

खप्तड गंगा–दशहरा मेलाकै अवसरमा खप्तडमा यसपटक बृहत प्रतियोगितात्मक कार्यक्रमहरू पनि भइरहेका छन् । मेलाका अवसरमा डोटी उद्योग वाणिज्य संघको अगुवाइमा विगतदेखि नै विविध कार्यक्रम भइरहेको छ । यसपटक नेपाली सेनाको श्री भैरवप्रसाद गण सिलगढी र श्री नं ५ बाहिनी अड्डा राजपुरले पनि सहयोगी भूमिका निर्वाह गर्दैछन् ।

यसपटक विशिष्ट प्रतियोगिताका रुपमा म्याराथन प्रतियोगिता राखिएको छ । ‘सुन्दर सुदूरपश्चिम खप्तड-शैलेश्वरी म्याराथन २०७९’ नाममा यो प्रतियोगिता आयोजना गरिँदै छ । म्याराथनमा ४० जना प्रतियोगी र अन्य ८० जना गरेर १२० जना सहभागी हुने डोटी उद्योग वाणिज्य संघले जनाएको छ । म्याराथन प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाबाट दुई/दुई जना र मध्यवर्ती क्षेत्रका दुई जना गरी २० जना सहभागी हुनेछन् ।

यस्तै नेपाली सेनाको विभिन्न गुल्म तथा गणबाट २० जना प्रतियोगी सहभागी हुने भैरवगप्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्कीले बताए । म्याराथनसँगै खप्तडमा भलिबल, डेउडा गीत प्रतियोगिता र योग शिविरसमेत आयोजना गरिने आयोजक संस्थाहरूले जनाएका छन् ।

मा प्रकाशित