
दर्शकहरुबाट मलाई आएका चिट्ठीहरुलाई पढेर म खुशीका साथ भन्न सक्छु कि फिल्म हेर्ने आम मानिस आज फिल्महरु वा फिल्मी स्टारहरुलाई केवल चटके ठान्दैनन्। उसलाई अब सिनेमाकाे साँस्कृतिक र सामाजिक महत्वकाे बाेध हुन थालेकाे छ। आजका दर्शकहरु प्रगतिशील फिल्ममेकरहरुलाई सम्मान दिन्छन् र मान्छन् कि उनीहरुकाे उत्साहवर्धन भइरहनुपर्छ। यस देशकाे फिल्मोद्योगका लागि याे एक शुभ संकेत हाे। मानिसहरु अब कुनै कलाकारकाे हेयरस्टाइल वा कपडाहरुकाे साटाे उनकाे चरित्रमा लुकेकाे सन्देश र आदर्शमाथि बढी ध्यान दिन थालेका छन्। यदि यस्तै पछि (भविष्य) मा पनि भइरह्यो भने यसकाे परिणाम याे हुनेछ कि हाम्रो फिल्म इंडस्ट्रीलाई केवल सपना बेच्ने कारखानाकाे रुपमा हेरिने छैन। मानिसहरु याे कुरालाई मान्नेछन् कि याे (सिनेमा) एक शक्ति हाे जो उनीहरुकाे सत्यहरुलाई सामुन्ने राखिरहेकाे छ र देशकाे विकासलाई दिशा दिइरहेकाे छ।
कैयौं बर्षदेखि फिल्ममेकरहरुलाई ‘ड्रिम मर्चेन्ट’ (सपनाकाे व्यापारी) भन्ने गरिएकाे छ। म यस लेखका पाठकहरुलाई बताउन चाहन्छु कि याे शब्द केवल केही मानिसहरुमाथि लागू हुन्छ। जो मानिसहरु सपना बेच्छन्, उनीहरुका आँखाहरु अक्सर यथार्थलाई देख्न सक्दैनन्। जो मानिसहरु आफ्नाे चारैतर्फ फैलिएकाे पीडा र गरीबीकाे बारेमा जान्दछन्, जसलाई यस देशकाे मानिसहरुका दैनन्दिन जीवनमा फैलिएकाे कठिनाइहरुकाे अनुभूति छ, जो वास्तवमै जीवनलाई त्यसकाे सक्कली रूपमा पर्दामा देखाउन चाहन्छन्, उनीहरु कहिल्यै सपना बेच्ने छैनन्। यस्ता सपनाहरु जसलाई पलायनवादी मनोरन्जन भन्नुपर्छ।
हालैमा मैले पुरानाे दिल्लीमा सिनेमाका केही दर्शकहरुसँग साक्षात्कार गर्ने मौका पाए। मैले उनीहरूलाई भने कि त्याे समय आएकाे छ जहाँ फिल्महरुलाई केवल मनोरन्जनकाे साधन ठानिने छैन। हाम्राे देशमा लोकतन्त्र छ, सिनेमा देशकाे हाे र देशले सिनेमामा सक्रिय रूपले रुचि लिनुपर्छ र यसकाे विकासलाई सही दिशामा प्रोत्साहित गर्नुपर्छ।
मेरा श्रोताहरु पनि पूर्ण रुपले यस कुरासँग सहमत थिए। म उनीहरुकाे सामुन्ने आउनु एक किसिमले एक नयाँ युगकाे प्रतीक पनि थियाे। त्यस युगकाे जसले जनता र कलाकारहरुलाई नजिक ल्याएकाे छ। आज मानिसहरु फिल्ममेकरहरुलाई त्यही आदर दिन्छन् जुन अन्य क्षेत्रहरुका अगुवा हस्तीहरुले पाउँछन्। यस्तो ती निर्माता-निर्देशकहरुका कारणले भएकाे हाे जो यथार्थवादी, प्रगतिशील र आफ्नो समाजप्रति सचेत थिए। उनीहरुकाे उक्त सोच उनीहरुकाे फिल्महरुमा पनि देखियाे। आफ्ना आदर्शहरुका लागि उनीहरुले बक्स-अफिसमा निकै जोखिम उठाए। आज भारतीय फिल्मोद्योगलाई देश-विदेशमा जुन सम्मान मिलेकाे छ, त्याे तिनै केही मानिसहरुकाे देन हाे जसले नयाँ सोचका साथ नि:स्वार्थ भावले काम गरे।
राजनीतिक स्वतन्त्रताका कारण आज फिल्म निर्माताहरुका लागि याे सम्भव छ कि उनीहरु आफ्नाे युगकाे संवेदनालाई देखाउने फिल्महरु बनाउन्। उनीहरुलाई किस्सा-कहानीहरु देखाउनुपर्ने आवश्यकता छैन। तर के हामी फिल्ममेकरहरुले यस स्वतन्त्रताकाे फाइदा उठाउन सकेका छाैं त? कैयौं निर्माता आफैले रचेकाे दुनियाँमा जिउँछन् अनि उनीहरू पर्दामा पनि धेरै हदसम्म त्यही दुनियाँलाई उतार्छन्। हालैमा कैयौं यस्ता फिल्महरु आए जो प्रगतिकाे यस रथकाे पाङ्ग्रालाई रोक्ने खालका छन्, जो न केवल ‘कॉमन सेन्स’ काे मजाक उडाउँछन्, अपितु नयाँ पीढ़ीलाई ती फिल्महरुबाट केही पनि हासिल हुँदैन। ती फिल्महरुमा केवल दिनमा सपना देख्ने प्रेमी हुन्छ जो नाँच्छ-गाउँछ अनि अधिकाँश समय एक यस्ताे जीवन जिइरहेकाे हुन्छ जसकाे वास्तविकतासँग कुनै लेनादेना हुँदैन। यदि हामीलाई बेच्नु नै छ भने कम से कम उनीहरुलाई यस्ताे कुनै सपना बेचाैं, जसकाे केही अर्थ हाेस् अथवा जो उनीहरुकाे मानसिक स्वास्थ्यका लागि सही होस्।
मेराे पछिल्लो फिल्ममा हामीले जनतालाई एउटा सपना बेचेका थियाैं। याे सपना कि एक दिन आउनेछ, जब सहरहरुमा काम गर्ने मजदुरहरु राम्रा र आरामदायी घरहरुमा बस्नेछन्। याे सपना कि गलत काम गरिरहेका नौजवान सही मार्गमा हिँडेर आफ्नाे भविष्य खुशहाल बनाउनेछन्। त्याे एक यस्तो समाजकाे पनि सपना थियाे जहाँ सत्य र न्यायकाे जीत हुनेछ अनि जहाँ मानिसकाे योग्यताकाे आधार याे हुने छैन कि उसले कस्ताे कपडा लगाएकाे छ।
यस्तो सपनालाई कसैले गलत भन्न सक्दैन। यी सपनाहरु नै हाम्रा जुनून हुन् र हामीले संकल्प लिएका छाैं कि हामी आगामी दिनहरुमा पनि यस्तै फिल्महरु बनाइरहनेछाैं जसले दर्शकहरुलाई त्यस दुनियाँकाे बारेमा बताउन सकुन् जसकाे सपना गान्धी र नेहरूले उनीहरुका लागि देखेका थिए। यस्ता फिल्महरु जो सबैलाई ती सपनाहरुलाई यथार्थमा बदल्नका लागि प्रेरणा दिन सकुन्।
(साढे सात दशक पहिले फिल्मफेयर पत्रिकामा छापिएकाे राज कपूरकाे लेखकाे भावानुवाद।)





