मनसुन सक्रिय, २७ जिल्ला उच्च जोखिममा

गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं, ८ असोज। केही दिनयता पानी नपर्दा चर्को घाम सहेकाहरुलाई वर्षाले राहत दिने छ । तर कृषिकर्म र यातायात क्षेत्र भने प्रभावित हुने छ ।

रातो रङ्गले उच्च जोखिममा, गाढा पहेँलो रङ्गले मध्यम जोखिममा र हल्का पहेँलो रङ्गले न्युन जोखिम परेका जिल्लालाई संकेत गरिएको छ ।

८ असोज, काठमाडौं । आजदेखि मनसुन पुनः सक्रिय भएको छ । मनसुनको सक्रियताका कारण देशभर वर्षा हुने छ ।

केही दिनयता पानी नपर्दा चर्को घाम सहेकाहरुलाई वर्षाले राहत दिने छ । तर भित्राउन तयार बालीनालीलाई र अन्य कृषिकर्ममा भने यसले असर पुर्‍याउने छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले असोज ८ गतेदेखि १२ गतेसम्म सबै प्रदेशमा वर्षाको सम्भावना छ ।

असोज ८ मंगलबार दिउँसोदेखि लुम्बिनी प्रदेशका पश्चिमी भू–भाग तथा सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षा तथा केही स्थानहरुमा मध्यम वर्षाको सम्भावना छ । एक–दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका बाँकी भू–भाग, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको तथा मधेश प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

मनसुन लम्बिने, हिले दशैंको सम्भावना

असोज ९ गते बुधबारदेखि भने मनसुनी वायुको प्रभाव अझै बढ्ने छ । यस दिन सबै प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

सुदूरपश्चिम प्रदेशका थोरै तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भने धेरै भारी वर्षा हुने पूर्वानुमान छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराई तथा मधेश प्रदेशका केही स्थानहरुमा हावाहुरीको समेत चल्ने छ ।

यी हुन् उच्च जोखिममा परेका जिल्ला

असोज १० गतेदेखि १२ गतेसम्म पूर्वदेखि पश्चिमसम्मका सबै जिल्ला वर्षाबाट प्रभावित हुनेछन् । सबैभन्दा बढी प्रभाव गण्डकी प्रदेशदेखि सुदू््पश्चिमसम्मका जिल्लामा पर्ने छ । ती क्षेत्रका २७ जिल्लालाई वर्षाबाट उच्च जोखिमको सूचीमा राखिएको छ ।

महाशाका अनुसार कोशी प्रदेशका इलाम र पाँचथर, गण्डकी प्रदेशका तनहुँ, लम्जुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ र म्याग्दी उच्च जोखिमको रेड जोनमा परेका छन् ।

यसैगरी लुम्बिनी प्रदेशका पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, रुकुमपूर्व, रोल्पा, दाङ, बर्दिया र बाँकेलाई पनि उच्च जोखिमको सूचीमा राखिएको छ ।

कर्णाली प्रदेशका सुर्खेत, सल्यान, रुकुम पश्चिम, जाजरकोट, दैलेख तथा सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेलधु्रा र डोटी जिल्ला पनि उच्च जोखिमको रेड जोनमा छन् ।

सतर्कता अपनाउन आग्रह

मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गरी यो वर्षाले विषेशतः कृषि क्षेत्रमा प्रभाव पार्ने देखिएकाले कृषि कर्महरु सुरु गर्नुभन्दा अगावै अध्यावधिक मौसमको जानकारी तथा पूर्वानुमान नियमित हेर्न सबैलाई अनुरोध गरेको छ ।

यसैगरी वर्षाको कारण भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको समेत जोखिम छ ।

शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम छ । ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात समेत प्रभावित हुनसक्ने सम्भावना छ ।

त्यसैले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन सर्बसाधारणदेखि सबै सरोकारवालालाई मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID