घोराही बनाऔं अभियान गाउँँ–गाउँका समस्या सुन्दै दामोदर मार्ग जीर्ण बन्दै गएपछि स्थानीयबासीद्वारा निर्माणका लागि हारगुहार

सविन प्रियासन
  • घोराही, ६ माघ  । घोराही बनाऔं अभियानलाई आफ्ना ठाउँका समस्या तथा विकासे आवश्यकता सुनाउनका लागि गाउँगाउँबाट निम्तो आउने क्रम बढेको छ ।

यही क्रममा शुक्रबार घोराही उपमहानगरपालिका वडानम्वर–३ का नागरिकले आफ्ना कुराहरु सुनाउनका लागि अभियानलाई निमन्त्रणा गरेपछि घोराही बनाऔं अभियानको टिम वडानम्वर ३ भैंसीकुरको जनज्योति टोलमा पुगेर त्यहाँका नागरिकको गुनासो र समस्या सुनेको छ ।

अभियानका संयोजक सविन प्रियासन, सल्लाहकार पारस बस्नेतको नेतृत्वमा पुगेको टिमले टोलका अध्यक्ष रामबहादुर केसीसहितका टोलबासीलाई भेट गरी त्यस क्षेत्रको विकासे योजनालाई सफल बनाउनका लागि पहलकदमीका साथै सरोकारवाला निकायलाई प्रभावकारी खबरदारी गर्ने निष्कर्ष निकालेको छ ।

घोराही बनाऔ अभियानले नागरिक खबरदारी र जागरण कार्यक्रमलाई उपमहानगरकाभित्र विकासका हिसाबले पछि परेका ग्रामिण क्षेत्रहरुमा केन्द्रित गर्दै लागेको अभियानका संयोजक प्रियासनले बनाउनुभयो ।

घोराहीको विकास र समृद्धिका लागि सरोकारवा निकायलाई खबरदारी गर्ने र योजना प्रदान गर्नका लागि अभियानको सुरुवात गरेको भन्दै संयोजक प्रियासनले जनताका गुनासा सम्बन्धित निकायसम्म लैजाने र जन आकांक्षा सम्बोधन गर्न दवाव दिने बताउनुभयो । दामोदर सडक निर्माणका लागि प्रदेश सरकारसँग तत्कालै बजेट माग गर्न डेलिगेशन जाने तयारी गरिएको बताउँदै प्रियासनले गाउँलेले सुनाएका अन्य समस्याको सवालमा पालिका समक्ष समस्या समाधानका लागि आवाज उठाइने बताउनुभयो ।

कार्यक्रममा टोलका अध्यक्ष रामबहादुर केसीले सिस्ने खोलामा पुल बन्दा सहजभएपनि दामोदर मार्ग कालोपत्रे हुन नसक्दा आफुहरुले समस्या झेल्दै आएको बताउनुभएको थियो ।

कच्ची सडक वर्षांैसम्म पनि कालोपत्रे हुन नसक्दा आफूहरुलाई धुलोले अस्वस्थ बनाउने भएकाले ढोका बन्द गरेर बस्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । कार्यक्रममा टोलका टोलविकास संस्थाका सचिव नारायण घिमिरेका साथै टोलबासीहरु वसन्ता पौडेल, कल्पना खत्री, निमाकुमारी डाँगी, गोविन्दबहादुर खत्रीले टोलका नागरिक कृषिमा आश्रित भए पनि सिचाइमा समस्या हुनुका साथै वडामा पशु भेटनरी सेवा केन्द्र, कृषि सेवा केन्द्र, उच्च माध्यामिक विद्यालय, राम्रो स्वास्थ्य सेवा पनि नभएको बताउनुभयो । स्थानीयबासीले नेताहरु निर्वाचनका क्रममा गाउँ आउने अघिपछि विकास गर्ने सवालमा मुखै नदेखाउने भएकाले यस तर्फ राजनीतिक दल र जनप्रतिनिधिहरुले निर्वाचनमा गरेका वाचाहरु सम्झनुपर्ने अपेक्षा जाहेर गरेका छन् ।

८३ घरघुरी रहेको वडानम्वर–३ भैंसीकुरको जनज्योति टोलका नागरिकले आफूहरु उपमहानगरबासी भए पनि हरेक किसिमका समस्या झेल्न बाध्य रहेको बताएका छन् । टोलमा शिव मन्दिर तथा टोल भवन निर्माणको काम तीन वर्षदेखि अधुरो रहेको भन्दै यसको निर्माणलाई पूर्णता दिनका लागि पालिका तथा वडाले चासो दिनुपर्ने बताउनुभयो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID