कहिले उघ्रिएला खुमबहादुरको घुम्टो ?

शरद रेग्मी

दाङ, ११ मंसिर। शालिक अनावरण गर्ने विषयमा पनि किन गुटगत राजनीति गरिन्छ दाङमा ? अमिलियाको चोकमा धुम्म छन् ‘खुमबहादुर’ । रातो घुम्टोभित्र अनुहार छोपिएको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्गमा हुईकिने यातायातका साधनहरूले उडाएको धुलोले घुम्टो मैलिईसकेको छ, आफै च्यात्थिने अवस्थामा पुगिसकेको छ ।

कहिले उघ्रिएला घुम्टो ? अनि कहिले देखाउलान् कार्यकर्ता माझ सालिकमार्फत आफ्नो अनुहार ? उनकै पार्टी कांग्रेस खुमबहादुरको घुम्टो उघारिदिन उदार देखिएको छैन ।

अमिलियाको चोकमा निर्मित खुमबहादुरको सालिकको दुई वर्षअघि हालका उपप्रधान तथा रक्षामन्त्री एवं कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सिलान्यास गरिदिए । कांग्रेसीहरूको मनमनमा बसेका स्वर्गीय नेता खुमबहादुरको सालिक निर्माण हुनुलाई कार्यकर्ताहरूले खुमबहादुर प्रतिको उच्च श्रद्धाका रूपमा बुझे ।

सालिक निर्माणका लागि आर्थिक सहयोग गर्नसमेत तयार देखिए । सालिक निर्माण भयो पनि । तर निर्माण भएको लामो समय बितिसक्दा पनि खुमबहादुरको अनुहार छोपिदिएको घुम्टो अहिलेसम्म उघारिदिन सकेको छैन कांग्रेसले । फलतः रातो घुम्टोभित्र खुमबहादुरलाई लुकाईरहेको छ कांग्रेसले ।

निर्मित सालिकको अनावरणका लागि कांग्रेसले किन बिलम्ब गरिरहेको छ ? यसको कारण भनेकै गुटगत गलत मनसाय हो । खुमबहादुर खड्काको सालिक पार्टीका अरू नेताहरूबाट अनावरण गराउन चाहँदैन सालिक निर्माण गरेको कांग्रेसको एउटा समूह ।

उनको सालिक अनावरण शेरबहादुर देउवाबाटै हुनुपर्ने अडानमा देउवा निकटस्थ समूह छ । ‘निर्माण भैसकेको सालिक पार्टीका शीर्ष नेतामध्ये जसले अनावरण गरेपनि त हुने हो नि’ एक कार्यकर्ताले भने ‘सालिक अनावरण गर्ने विषयमा पनि गुटगत राजनीति गरिन्छ ।’

खुमबहादुर खड्काको सालिक अनावरणका लागि देउटा निकटस्थ समूह देउवालाई कुरेर बसिरहेको छ । तर देउवा अनावरणका लागि आउने तिथि जुरिसकेको छैन । एक नेताका अनुसार देउवाले सालिक अनावरणका लागि आउने बचन त दिएका छन् ।

तर कहिले आउने हुन् एकिन थाहा भने छैन । उनी नआउँदासम्म खुमबहादुरले अमिलियाको चोकमा रातो घुम्टोभित्र अनुहार लुकाउने निश्चित जस्तै छ ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID