
गढवा,३१ असार। गढवा गाउँपालिकाको कृषि विकास शाखामा कार्यरत कृषि स्नातक प्राविधिक अधिकृत निहारिका चौधरी नेपाल कृषि अनुसन्धान परिषद् (NARC) अन्तर्गत प्राविधिक अधिकृत (Technical Officer), चरन तथा घाँसेबाली एवं कृषि वन प्रणाली (Pasture, Forage and Agroforestry), तह छैठौं पदमा सिफारिस भएपछि गढवा गाउँपालिकाले उहाँको सम्मानमा ‘फेरि भेटौँला’ कार्यक्रम आयोजना गरी बिदाइ गरेको छ।
गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै अध्यक्ष पोख्रेलले कर्मचारीको सरुवा, बढुवा तथा नयाँ जिम्मेवारी प्राप्त गर्नु सेवाको सामान्य प्रक्रिया भए पनि असल, इमानदार र कर्मशील कर्मचारीको बिदाइले सधैं कमी महसुस हुने बताउनुभयो।
उहाँले गढवा गाउँपालिकाबाट कार्यरत धेरै करार कर्मचारीहरूले लोक सेवा आयोगको परीक्षा उत्तीर्ण गर्दै स्थायी सरकारी सेवामा प्रवेश गर्न सफल भएको उल्लेख गर्दै यसलाई गाउँपालिकाका लागि गौरवको विषय भएको बताउनुभयो। कृषि विकास शाखामा रहँदा निहारिका चौधरीले कृषि क्षेत्रको विकास, किसानसँगको समन्वय तथा सेवा प्रवाहमा पुर्याएको योगदानको प्रशंसा गर्दै नयाँ जिम्मेवारीमा पनि सफलताको उच्च शिखर चुम्न तथा गढवा गाउँपालिकाको नाम अझ उज्ज्वल बनाउन शुभकामना व्यक्त गर्नुभयो।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौड्याल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै चौधरीले गढवा गाउँपालिकामा पुर्याएको योगदानको प्रशंसा गरेका थिए।
कार्यक्रमको सहजीकरण प्रशासन शाखा प्रमुख भरत केसीले गर्नुभएको थियो। कार्यक्रममा गाउँपालिकाका शाखा प्रमुख, कर्मचारी तथा जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो।








