सैनिक कल्याणकारी भवन ठेक्का प्रकरणःशक्तिको आडमा निर्माण व्यवसायीमाथि चरम अन्याय र अर्बौँको लगानी जोखिममा,अवकाशप्राप्त व्यक्तिहरुको हालीमुहाली

मेघमन बुढा

काठमाडौँ,५ श्रावण ।काठमाडौँको न्यूरोड महाँकालस्थानस्थित सैनिक कल्याणकारी कोषको स्वामित्वमा रहेको व्यावसायिक भवन भाडामा लिई अर्बौँ रुपैयाँ लगानी गरेको श्रीजयन्ती निर्माण सेवा प्रा. लि. चरम प्रशासनिक थिचोमिचो र अन्यायमा परेको छ ।

भवन हस्तान्तरणमा सेनाकै तर्फबाट भएको ढिलाइ, काठमाडौँ महानगरपालिकासँगको नक्सा पास विवाद र कोभिड–१९ को महामारीका कारण उत्पन्न विषम परिस्थितिलाई नजरअन्दाज गर्दै कल्याणकारी निर्देशनालयले उल्टै निर्माण व्यवसायीमाथि एकतर्फी रूपमा करोडौँ बक्यौताको भार थोपरेको पाइएको छ । यस विषयमा अहिले सर्वाेच्च अदालतमा मुद्धा पुगेको छ । साथै यस विषयमा मानव अधिकार आयोगमा पनि उजुरी परेको छ ।

प्राप्त दस्तावेज तथा पत्राचारका अनुसार सैनिक कल्याणकारी कोष र श्रीजयन्ती निर्माण सेवा प्रा. लि. बीच २०७६ माघ १६ गते महाँकालस्थानस्थित ‘कल्याणकारी भवन’१५ वर्षका लागि भाडामा लिने सम्झौता भएको थियो । सम्झौताको मुख्य सर्त नै भवन विधिवत रूपमा पूर्ण निर्माण भई हस्तान्तरण भएपछि मात्र भाडा लागू हुने भन्ने थियो । तर, बोलपत्र जारी गर्दाकै बखत उक्त भवनको नक्सा पास नभएको र मापदण्ड विपरीत बढी निर्माण गरिएको भन्दै काठमाडौँ महानगरपालिकाले काम रोकेपछि सम्झौताको प्रारम्भिक चरणमै विवाद उत्पन्न भएको थियो । सैनिक कल्याणकारी निर्देशनालयको आफ्नै आन्तरिक र कानुनी त्रुटिका कारण समयमा भवन हस्तान्तरण हुन नसकेको स्पष्ट देखिन्छ ।

पुरक सम्झौताको उल्लंघन र कोभिडको मार

भवन हस्तान्तरण हुन नसकेपछि दुवै पक्षबीच वि.सं. २०७८ मङ्सिर २८ गते पुरक सम्झौता गरियो, जसमा भवन हस्तान्तरणको मिति २०७८ असार १ कायम गर्ने प्रयास गरियो । तर, सो अवधिमा देशव्यापी रूपमा फैलिएको कोभिड–१९ को दोस्रो लहर र लकडाउनका कारण भवन पूर्ण रूपमा तयार भई व्यापारिक प्रयोजनका लागि हस्तान्तरण हुनै सकेन । व्यापार व्यवसाय ठप्प भएको र बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाह नभएको यस्तो गम्भीर आर्थिक मन्दीको समयमा नेपाल सरकार रक्षा मन्त्रालयले समेत भाडामा छुट दिन निर्देशन जारी गरेको थियो । सैनिक कोषको आफ्नै कार्यदलले भाडामा ५० प्रतिशत छुट दिने राय पेस गरेपनि निर्देशनालयका केही अधिकारीहरूको बदनियतका कारण व्यवसायीले पाउनुपर्ने उक्त कानुनी छुट रकम उपलब्ध गराइएन ।

प्रशासनिक आतंक

निर्माण कम्पनीका एकल शेयरधनी खगेन्द्र बुढामगरका अनुसार, खण्डहर अवस्थामा रहेको भवनलाई अर्बौँ रुपैयाँ निजी लगानी गरेर मासिक ५ करोड ६३ लाख रुपैयाँभन्दा बढी भाडा उठ्ने सुनिश्चित व्यावसायिक केन्द्र बनाएपछि सैनिक कोषका केही अधिकारीहरूको ‘गिद्धे नजर’ यसमा परेको हो । कम्पनीले पटक–पटक पारदर्शी हिसाब मिलानका लागि लिखित अनुरोध गर्दा समेत त्यसलाई बेवास्ता गर्दै उल्टै पानी र बिजुलीको लाइन काट्ने, लिफ्ट प्रयोग गर्न नदिने र कम्पनीका कर्मचारीहरूमाथि कार्यस्थलमै भौतिक आक्रमण गर्नेसम्मका निकृष्ट कार्यहरू भएका छन् । जसले गर्दा व्यवसायी मानसिक र आर्थिक रूपमा पूर्णतः धराशयी हुने अवस्थामा पुगेका छन् ।

निष्पक्ष छानबिन र हिसाब फरफारकको माग

नेपाली सेनासँग लामो समयदेखि विकट भूगोल र ब्यारेकहरूमा समेत निर्माण कार्य गरी व्यावसायिक सम्बन्ध कायम राखेको यस कम्पनीले रक्षा मन्त्रालय, प्रधानसेनापति कार्यालय र बालाध्यक्ष विभागमा बोधार्थ दिँदै एक उच्चस्तरीय निष्पक्ष छानबिन टोली गठन गर्न माग गरेको छ । कम्पनीले सैनिक कल्याणकारी कोषलाई कुनै रकम तिर्नु बुझाउनु पर्ने बाँकी नरहेको, उल्टै कल्याणकारी कोषको तर्फबाट भएको सम्झौता उल्लंघन र अनाधिकृत रकम असुलीका कारण आफूले अर्बौँ रुपैयाँ क्षतिपूर्ति पाउनुपर्ने दाबी गरेको छ । राज्यको शक्तिशाली अंगको आडमा एउटा वैधानिक निर्माण व्यवसायीको निजी सम्पत्ति र लगानीमाथि गरिएको यो चरम दोहनले नेपालमा निजी क्षेत्रको लगानी कति असुरक्षित छ भन्ने गम्भीर प्रश्न खडा गरेको छ ।

सैनिक कल्याणकारी कोषको भवन ठेक्कामा करिब २० करोड हिनामिना

काठमाडौँको न्यूरोड महाँकालस्थानस्थित सैनिक कल्याणकारी कोषको स्वामित्वमा रहेको व्यावसायिक भवन ठेक्का प्रकरणमा तत्कालीन सैनिक कल्याणकारी निर्देशनालयका उच्च अधिकारी र कर्मचारीहरूको मिलेमतोमा झण्डै २० करोड रुपैयाँ बराबरको ठूलो आर्थिक हिनामिना भएको गम्भीर आरोप लागेको छ । श्रीजयन्ती निर्माण सेवा प्रा. लि. का एकल शेयरधनी खगेन्द्र बुढामगरले सैनिक कल्याणकारी कोषका तत्कालीन उच्च अधिकारी र हालका प्रमुख अवकाशप्राप्त जर्नेल सुनिल राज विष्ट,कर्मचारीहरू नानिराम थापा र कर्णबहादुर तामाङ लगायतले शक्तिको दुरुपयोग गरी अर्बौँको निजी लगानी डुबाउन खोजेको आरोप लगाएका छन् ।

श्री जयन्ती निर्माण सेवा प्रालिबाट भवन व्यवस्थापन कार्यालयमा पदस्थापन भएका नानिराम थापा,कर्णबहादुर तामाङ लगायत त्यहाँ कार्यरत कर्मचारीहरुको मिलेमतोमा उक्त भवनमा

श्री जयन्ती निर्माण सेवा प्रालिले उठाउनुपर्ने भाडा बिजुली महसुल र क्याम्प चार्ज असुल गरेको आरोप लागेको हो ।

त्यस्तै,यो टोलीले निर्माण व्यवसायी खगेन्द्र बुढामगरसँग मात्र होइन,त्यस भवनमा व्यवसाय गरिरहेका विभिन्न व्यापारीलाई नाम सारी तथा राम्रो लोकेशनको पसल उपलब्ध गराइदिने प्रलोभनमा पारी रकम उठाइरहेको बुढाको गम्भीर आरोप छ ।

त्यसैगरी बुढाका अनुसार यी पात्रहरुले अदालतलाई समेत विभिन्न माध्यमबाट दबाब सिर्जना गर्ने र मुद्दालाई कम्जोर बनाएर आफ्नो काला कर्तुतहरु लुकाउन खोजेको उनले बताएका छन् ।

यस्ता छन अरु बदमासी

कल्याणकारी निर्देशनालयले बोलपत्र आह्वान गर्दा भवनको नक्सा पास नै नभएको र महानगरको अवरोधका कारण निर्माण कम्पनीले समयमा काम सुरु गर्न नपाएको, भवन पूर्ण रूपमा निर्माण नै नभई र खण्डहर अवस्थामा रहँदा समेत निर्देशनालयले पुरै अवधिको पूर्ण भाडा दाबी गरी पत्र पठाउनु कानुनी रूपमा त्रुटिपूर्ण रहेको, कम्पनीले आफ्नै खर्चमा जडान गरेको ट्रान्सफर्मर, विद्युतीकरण, खानेपानी प्रणाली, र लिफ्ट जस्ता पूर्वाधारहरू कल्याणकारी भवन व्यवस्थापनले एकतर्फी रूपमा नियन्त्रणमा लिई व्यवसायीलाई प्रवेशमा रोक लगाएको आरोप लागेको छ । भवन व्यवस्थापनकै केही कर्मचारीहरूले व्यापारीहरूबाट सोझै करिब १ करोड ३५ लाख विद्युत महसुल र क्याम्प चार्ज उठाएको साथै २०७९ साल श्रावण,भदौ र असोज ५ गतेसम्मको पुरै भवन भाडा श्री जयन्ती निर्माण सेवा प्रालिको बैंक ग्यारेन्टीबाट असुल गरेको र त्यहाँ व्यवसायी गरिरहेका ब्यापारीहरुबाट समेत असुल गरी सो रकम हिसाबमा मिलान नगरी गायब पारेको अर्काे गम्भिर आरोप पनि छ । कम्पनीको नाममा रहेको मिटर तथा बिलिङ सफ्टवेयर नक्कली हस्ताक्षर प्रयोग गरी अनाधिकृत रूपमा नामसारी गरिएको र कम्पनीले अर्बौँ खर्चेर बनाएका संरचनाहरू सहमति बिना भत्काएर दोहन गरिएको आरोप छ ।

त्यस्तै,अहिले यस विषयमा मानव अधिकार लगायतका स्वतन्त्र निकायहरुले वास्तविक छानबिन गरिरहेको र सर्वोच्च अदालतमा समेत मुद्दा चलिरहेको निर्माण व्यवसायी बुढा मगरले जानकारी दिए । उनका अनुसार सर्वोच्च अदालतले १५ श्रावणमा दुबैपक्षलाई छलफलका लागि बोलाएको हुँदा उक्त छलफलबाट सकारात्मक नतिजा आउने बुढा मगरले विश्वास गरेका छन् ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID