भू संरक्षण दिवसमा गढवाको मलमलामा बाँस रोपण र अन्तरक्रिया

आलोक भावुक

गढवा, २४ श्रावण । भू संरक्षण दिवसको अवसरमा गढवा गाउँपालिका वडा नम्बर १ मलमलामा बाँस रोपण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। बुढीखोला भूमि अधिकार कृषक समूहको आयोजनामा भएको कार्यक्रममा भू–क्षय नियन्त्रण, पहिरो रोकथाम, वातावरण संरक्षण तथा स्थानीय स्तरमा बाँस खेतीको प्रवर्द्धनका विषयमा छलफल गरिएको हो।

बुढीखोला भूमि अधिकार कृषक समूह गढवा १ मलमलाका अध्यक्ष केशवबहादुर परियारको अध्यक्षता तथा गढवा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष बाबुराम अधिकारीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा पहिरो तथा भू-क्षयको जोखिम रहेका क्षेत्रमा बाँसका बिरुवा रोपिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वडाध्यक्ष बाबुराम अधिकारीले मानिसको जीवन माटोसँग प्रत्यक्ष रूपमा जोडिएको भन्दै भू संरक्षणलाई सबैले प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। किसानको जीवन र जीविकोपार्जन जमिनमै निर्भर रहेको उल्लेख गर्दै उहांले जन्मदेखि मृत्युसम्म मानिसको सम्बन्ध माटोसँगै रहने भएकाले यसको संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताउनुभयो।

“जमिनमा आश्रित किसानले आफ्नो जमिनका लागि संघर्ष गर्दै आएका छन्। मानिसको जीवनको सुरुवातदेखि अन्त्यसम्म माटोसँग सम्बन्ध हुन्छ। त्यसैले माटो जोगाउन सकिएन भने हाम्रो भविष्य पनि सुरक्षित हुँदैन,” वडाध्यक्ष अधिकारीले भन्नुभयो।

उहांले भू-क्षय तथा पहिरो नियन्त्रणका लागि वृक्षरोपण प्रभावकारी उपाय भएको बताउँदै फलफूलका बिरुवासँगै बाँस रोप्नुपर्नेमा जोड दिनुभयो। बाँस बहुउपयोगी वनस्पति भएकाले वातावरण संरक्षणसँगै स्थानीय समुदायको आयआर्जनमा समेत योगदान पुर्‍याउन सक्ने उहांको भनाइ थियो।

“बाँस बहुउपयोगी वनस्पति हो। यसले माटो समातेर भू-क्षय कम गर्न सहयोग गर्छ। पहिरोको जोखिम भएका ठाउँमा बाँस रोप्न सके भू संरक्षणमा महत्वपूर्ण योगदान पुग्छ,” अधिकारीले भन्नुभयो। उहांले आफ्नो वडा भू संरक्षण तथा वातावरण संरक्षणका गतिविधिलाई निरन्तर प्राथमिकता दिँदै अघि बढिरहेको समेत बताउनुभयो।

कार्यक्रममा  आत्म निर्भर सेवा केन्द्र (CSRC) का गोपाल विकले भू संरक्षण दिवसको अवसर पारेर बाँस रोपण गरिएको जानकारी दिनुभयो । पहिरोको जोखिम भएका क्षेत्रमा बाँसले जमिनलाई समातेर माटो बग्ने तथा पहिरो जाने सम्भावना कम गर्न महत्वपूर्ण भूमिका खेल्ने भएकाले त्यस्ता क्षेत्रमा बाँसलाई प्राथमिकता दिइएको उहाले बताउनुभयो।

विकका अनुसार बाँस छिटो बढ्ने र बहुउपयोगी वनस्पति भएकाले यसको संरक्षण तथा प्रवर्द्धनबाट वातावरणीय संरक्षणसँगै स्थानीय समुदायको आर्थिक अवस्थामा समेत सुधार ल्याउन सकिन्छ। “पहिरो जाने तथा भू-क्षयको जोखिम भएका स्थानमा बाँस रोप्दा त्यसले माटो समातेर जमिन संरक्षणमा सहयोग गर्छ। बाँसको बहुउपयोगितालाई हेरेर पनि यसको विस्तारमा प्राथमिकता दिन आवश्यक छ,” उहांले भन्नुभयो।

उहांले भू संरक्षणलाई केवल सरकारी निकायको जिम्मेवारीका रूपमा नलिई स्थानीय समुदाय, किसान समूह तथा सरोकारवाला सबैको सहभागितामा अघि बढाउनुपर्ने बताउनुभयो। स्थानीयस्तरमा संरक्षणका गतिविधि सञ्चालन गर्दा त्यसको दीर्घकालीन प्रभावसमेत देखिने भएकाले समुदायलाई नै संरक्षण अभियानसँग जोड्नुपर्ने उहांको भनाइ थियो।

कार्यक्रममा सहभागीहरूले भू-क्षय, पहिरो तथा वातावरणीय जोखिम न्यूनीकरणका लागि वृक्षरोपणसँगै रोपिएका बिरुवाको संरक्षणमा पनि ध्यान दिनुपर्ने बताउनुभयो। बिरुवा रोप्ने मात्र नभई त्यसलाई हुर्काउने र संरक्षण गर्ने जिम्मेवारी समुदायले लिन सके मात्रै भू संरक्षण अभियान प्रभावकारी हुनेमा उहांहरूको जोड थियो।

भूमिहीन तथा बटैया किसानहरूको सुरक्षा सञ्जाल तथा हरित ग्रामीण नेपालको लागि भूसम्बन्ध समाधान सार्वजनिक जग्गा पुनः हरीतीकरण कार्यक्रम अन्तर्गत बुढीखोला मलमला भूमि अधिकार कृषक समूह गढवा गाउँपालिका वडा नम्बर १ ले २०८२ साल मंसिर २९ गते सम्झौता गरेको थियो।

४ बिघा क्षेत्रफलमा किसानहरूले विभिन्न किसिमका तरकारी बाली उत्पादनमा जुटिरहेका छन्। २९ घरधुरी लाभग्राही रहेको कार्यक्रममा सार्वजनिक जग्गाको पुनहरितीकरण कार्यक्रम अन्तर्गत जग्गा बाँजो नराखेर खेतीपाती गर्नका लागि किसानहरूलाई एकीकृत गरेर कार्यक्रम अगाडि बढाइएको हो।

बुढीखोला भूमि अधिकार कृषक समूहकी सदस्य कमल परियारको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण समूहकी सचिव रिता कुमालले गर्नुभएको थियो।कार्यक्रममा स्थानीय किसान, समूहका सदस्य तथा विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID